सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय

प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न माग गर्दै सर्वोच्चमा रिट

आइतबार, २१ वैशाख २०८२, १५ : ०९
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ, रत्‍नराज्यलक्ष्मी क्याम्पस, नेपाल ल क्याम्पस र विश्‍वभाषा क्याम्पस लगायत  शिक्षण संस्था र काठमाडौँ मोडल अस्पताल रहेकाले उक्त क्षेत्रमा हुने राजनीतिक प्रदर्शनले पठनपाठनमा र उपचार गर्न आउने बिरामीहरूलाई गम्भीर असर पुगेको बताउँदै उक्त क्षेत्रमा राजनीतिक प्रदर्शनी रोक्न माग गर्दै आइतबार रिट निवेदन दर्ता गरेका हुन् ।

राजनीतिक प्रदर्शनीका कारण नजिकै रहेको पुरानो बसपार्कबाट लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधनहरू पनि छुट्ने गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।   काठमाडौँ महानगरपालिकामा रहेको प्रदर्शनी मार्गमा नेपाल ल क्याम्पस लगायत अन्य  शिक्षण संस्थामा अध्ययनरत विद्यार्थी र काठमाडौँ मोडेल अस्पतालमा आउने बिरामीलाई  प्रदर्शनी मार्गको सडकमा  हुने प्रदर्शनीले विद्यार्थीको स्वच्छ वातावरणमा पढ्न पाउने हक, स्वतन्त्रताको हक र बिरामी उपचार गर्न पाउने हक तथा समग्रमा व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने जीवनको अधिकार नै हनन हुन गएको रिटमा दाबी गरिएको छ ।

वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) को युवा संघद्वारा आयोजित 'युवा उत्सव', मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपासहित समाजवादी मोर्चाले २०८१ चैत १५ गते माओवादी मोर्चाले सडकमा भएको प्रदर्शनीलगायतको उदाहरण दिँदै ती प्रदर्शनीले नागरिकको अधिकार र सार्वजनिक व्यवस्थामा खलल पुगेको उनले उल्लेख गरेका छन् ।

 'प्रत्येक नागरिकलाई भेला हुने र आफ्ना विचार व्यक्त गर्ने अधिकार भए पनि, त्यो अधिकार प्रयोग गर्दा अरूको अधिकार र सार्वजनिक व्यवस्थामा खलल पुग्न दिनु हुँदैन,' रिटमा भनिएको छ, 'प्रदर्शनी मार्गजस्तो संवेदनशील क्षेत्रमा गरिएको यस्तो प्रदर्शनले शैक्षिक गतिविधिमा संलग्न व्यक्तिहरूको निर्बाध आवागमनको अधिकारलाई हनन गरेको छ र  आगामी दिनमा यदि यसरी उक्त क्षेत्रमा प्रदर्शन गर्ने अनुमति दिइरहने हो भने, यसले त्यस क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा गम्भीर बाधा पुग्छ ।'

त्यस्ता प्रदर्शनले नियमित कक्षा अवरुद्ध हुनुका साथै परीक्षाको तयारीमा समेत नकारात्मक असर परेको, शान्त र एकाग्र वातावरणको अभावले विद्यार्थीको शैक्षिक प्रगतिमा दीर्घकालीन प्रभाव परेको, अस्पतालमा रहेका बिरामीहरू र उनीहरूका आफन्तहरूले असहज परिस्थितिको सामना गर्नु परेको तथा प्रदर्शनका कारण सडक अवरुद्ध हुँदा एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाका साधनहरू पनि जाममा पर्ने गरेकाले प्रदर्शनी मार्ग र काठमाडौँ उपत्यकाका अन्य कुनै पनि शैक्षिक संस्था तथा अस्पताल नजिक राजनीतिक, गैरराजनीतिक, विरोध प्रदर्शन, साङ्गीतिक, मेला वा अन्य गतिविधि आयोजना गर्न रोक लगाउन परमादेशको माग रिटमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप