काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
_jeesqTewYO.jpg)
काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भने एकाएक ठूलो पानी परेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हालको वदलीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसमविदले बताएका छन् । पछिल्लो २४ घण्टामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम वदली भएको र जहाँ वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित वर्षा हुने भएका कारण जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसप्रति सचेत हुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
मंगलबार हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक, दुई स्थानमा हिमपातको समेत सम्भावना रहेको बताइएको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा खण्डित वर्षा वा मेघगर्जन चट्याङ्ग सहितको वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मशाशाखाले जनाएको छ ।