आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

निःशुल्क विश्वकप हेर्न खोज्दा ११५ जनाले गुमाए २ करोड २९ लाख

आइतबार, १४ असार २०८३, १५ : ०९
आइतबार, १४ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को लाइभ हेर्ने बहानामा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन् ।
  • एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
  • विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गिरोहले फिफा विश्वकप निःशुल्क हेर्न पाइने विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा राखेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

काठमाडौँ ।  फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेल आइतबारदेखि सकिएको छ । जुन ११ देखि शुरु भएको विश्वकप प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानडामा भइरहेको छ ।

त्यही फुटबल महाकुम्भको लाइभ हेर्ने नाममा सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू ठगिएका छन् । एउटा गिरोहले फुटबलको नाममा ठगी धन्दा सञ्चालन गरेको भेटिएपछि प्रहरीको साइबर ब्यूरोले त्यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

काठमाडौँमा बसेर रोजगारी गर्दै गरेका २५ वर्षीय एकजना युवक पोर्चुगल फुटबल टोलीको फ्यान थिए । लाइभ फुटबल हेर्ने प्लेटफर्म खोज्दा उनले सामाजिक सञ्जालमा एउटा विज्ञापन देखे । ‘नेपालको अल इन वान टिभी एप (जिजी टिभी)’ को विज्ञापन थियो त्यो । त्यसमा सबै च्यानल प्रत्यक्ष हेर्न सकिने, मोबाइल ट्याबलेट र एन्ड्रोइडमा पनि चल्ने उल्लेख थियो । फेसबुकमा देखिएको सो विज्ञापन उनले डाउनलोड गरे । डाउनलोड गर्दै जाँदा एप डेभलपरबाट यस्तो म्यासेज आयो, ‘तपाईको ग्लोबल स्मार्ट बैंक खाता सम्पत्ति शुद्धीकरणको इस्युमा लक भएको रहेछ, बैंकको पासवर्ड राखेर रिस्क हटाउनुहोस् ।’

पीडितले पासवर्ड प्रविष्ट गरेको केही समयमा उनको खातामा भएको २३ हजार अपरिचित व्यक्तिको खातामा ट्रान्सफर भयो । भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा त्यस्तै खालका उजुरी आइरहेका छन् । जेठ महिनापछि अहिलेसम्म फुटबल हेर्ने नाममा ठगिएका १ सय १५ वटा उजुरी आएको ब्यूरोका एसपी दिलीप गिरीले रातोपाटीलाई बताए । उनले भने, ‘उजुरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अघि बढाएका छौँ ।’

विद्युतीय माध्यमबाट खाता ह्याक गरेर ठगीमा संलग्न गिरोहले फिफा विश्वकप निःशुल्क हेर्न पाइने विज्ञापन सामाजिक सञ्जाल फेसबुकमा राखेर ठगी धन्दा चलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडितहरूलाई फिसिङ गर्न उनीहरूले ‘एपिके फाइल’लाई माध्यम बनाउने गरेका छन् ।

फिफा विश्वकप हेर्न निश्चित रकम तिर्नुपर्ने हुन्छ । तर, रकम तिर्न लोभ गरेर निःशुल्क हेर्न खोज्दा सर्वसाधारण ठगिने गरेको एसपी गिरीले बताए । उनले भने, ‘ह्याकरहरुले फिफा विश्वकपसँग सम्बन्धित फर्जी लिङ्कहरू खोल्न लगाउँछन्, एक्सेस दिँदै जाँदा एउटा कोड राख्न लगाउँछन्, त्यसपछि बैंकमा भएको सबै रकम रित्तिन्छ ।’

उजुरी उपर ब्युरोले अनुसन्धान गरिरहेको भए पनि आरोपीहरू हालसम्म पक्राउ परेका छैनन् । अहिलेसम्म त्यस्ता लिंक खोल्दा २ करोड २९ लाख भन्दा बढी रकम ठगी भएको भेटिएको छ । 

फर्जी लिङ्कहरू राखिएका फाइललाई एपिके फाइल भन्ने गरिन्छ । अनलाइनको पछाडि डट इ एक्सई, डट ब्याट जस्ता फाइलहरू यस्तो ठगीमा प्रयोग हुँदै आएको छ । गिरोहले एउटै व्यक्तिको खाताबाट २३ हजारदेखि २५ लाखसम्म चोरी गरेका छन् । ब्युरोका एसपी गिरी त्यस्ता फाइल नखोल्न आग्रह गर्छन् । उनले भने, ‘अनलाइनको पछाडि डट इएक्सई र डट ब्याट जस्ता जोडिएको लिंक क्लिक गर्नु हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप