गृहिणीका लागि भलाकुसारी, स्थानीय तहका लागि आम्दानीको स्रोत बन्दैछन् घट्ट

समाचार सारांश
- असारमा धान रोपाइँको चटारो सुरु हुने भएकाले बझाङका किसान खाद्यान्न जोहो गर्दैछन्।
- बर्खामा घट्ट बन्द हुने र रोपाइँको व्यस्तताले गर्दा किसानहरू पानी घट्टमा अन्न पिस्न जान्छन्।
- घट्टमा पिठो बनाउनु बझाङका महिलाहरूको लागि सामाजिक जमघट र आर्थिक फाइदाको माध्यम बनेको छ।
धनगढी । असार लागेपछि धान रोपाइँको चटारो सुरु हुने भएकाले बझाङका किसान अहिलेदेखि नै खाद्यान्न जोहो गर्न थालेका छन् । असार लागेपछि एकातिर बर्खा सुरु हुने र अर्कोतिर रोपाइँको चटारो पनि बढ्ने भएकाले जेठ महिनालाई उनीहरू खाद्यान्न तथा अत्यावश्यक वस्तु जोहो गर्ने समयका रूपमा लिन्छन् ।
बझाङका किसान यतिबेला घट्टमा गहुँ, कोदो, मकै, चामल पिसेर पिठो तयार पार्ने काममा लागेका छन् । बर्खामा घट्ट प्रायः बन्द हुन्छन् । रोपाइँका लागि कयौँ दिन खेतमै व्यस्त हुनु पर्ने अवस्था हुन्छ । त्यसैले बझाङवासी खाद्यान्नको पर्याप्त जोहो गरेर राख्छन् ।
जताततै आधुनिक मिल स्थापना भए पनि बझाङका किसान भने अहिलेसम्म पानी घट्ट चलाएरै अन्न पिसेर पिठो बनाउँदै आएका छन् ।
केही दिन अघि एकाबिहानै गहुँको भारी बोकेर घट्टमा पुगेकी दुर्गाथली गाउँपालिका–७ की झीरकुली दौल्यालले घट्टमा पिसेको पिठो स्वादिलो हुने बताइन् ।
उनले भनिन्, ‘घट्ट त हाम्रो संस्कारजस्तै हो । बाजेको पालादेखि हामी यही घट्टमा अन्न पिस्दै आएका छौँ ।’
छविसपाथीभेरा गाउँपालिका–६, लेकगाउँकी बिजमती बुढा र दौलाकी जौकला दौल्याल पनि पानी घट्टकै पिसनमा आफूहरू बानी परेको बताउँछन् ।
बझाङका अधिकांश बस्तीमा बिजुलीबाट चल्ने मिल छैनन् । मिल भएका ठाउँमा पनि पर्याप्त विद्युत् आपूर्ति नहुँदा सञ्चालनको भर हुँदैन । गाउँका किसान साँझ–बिहान समय मिलाएर पानी घट्टसम्म अन्नपात पिस्न पुग्छन् ।
‘मिलमा पिसाएको पिठोको रोटी स्वादिलो हुँदैन,’ बिजमतीले भनिन्, ‘त्यसमाथि पैसा पनि लाग्छ । घट्टमा पिस्दा खर्च हुँदैन ।’
घट्टमा आउनुलाई महिलाहरू भलाकुसारी गर्ने मौकाका रूपमा समेत लिन्छन् । घट्टमा अन्न पिस्न समय लाग्ने भएकाले महिलाहरू आपसमा गफिने, सुख–दुःखका कुरा साट्ने मौका ठान्छन् ।
‘हामी गाउँका किसान घट्टविना अधुरो छौँ जस्तो लाग्छ, गाडको पानीको सहारामा फनफनी घुम्ने घट्टको फेदाराजस्तै हाम्रो जीवन पनि घुमिरहेको छ,’ बिजमतीले भनिन् ।
घट्टमा पिस्दा शुल्क तिर्नु पर्दैन । आफूले पिसाएको अन्नको अनुपात अनुसार केही अन्न घट्टवालालाई दिइन्छ । त्यसैले हातमा पैसा नहुने किसानका लागि घट्ट प्रयोग गर्नु आर्थिक हिसाबले फाइदाजनक हुन्छ ।
दुर्गाथलीकी सीता दौल्याल दशकौँदेखि घट्ट सञ्चालन गर्दै आएकी छन् । उनले भनिन्, ‘बिहान–बेलुका गरी दैनिक २० किलो जति पिठो पिसिन्छ । घट्ट चलाएर मैले सन्तान हुर्काएँ, परिवारको खर्च टारेँ ।’
उनका अनुसार घट्टको आँगनमा सामाजिक आत्मीयता हुन्छ । साथीहरूसँग घट्टमा जाँदा गफगाफ हुन्छ । एकअर्काको सुखदुख बुझ्न पाइन्छ ।
‘अहिलेका मान्छे मोबाइल चलाउँछन् । त्यही मोबाइलबाटै साथीभाइसँग सुख–दुःख साट्छन् होला । हामी त यही घट्टमा आएर गफगाफ गरेर सुख–दुःख साट्छौँ,’ जौकला दौल्यालले भनिन् ।
उनका अनुसार पहिलेको तुलनामा अहिले घट्टमा पिस्ने चलन कम भए पनि यसको महत्त्व भने पहिलेभन्दा बढेको छ ।
बझाङका दुर्गाथली र छविसपाथीभेरा गाउँपालिका छिमेकी स्थानीय तह हुन् । यी पालिकाका केही वडामा लघु जलविद्युत् परियोजना पुगेका छन् । राष्ट्रिय प्रसारण लाइन भने थोरै ठाउँमा मात्रै पुगेको छ ।
‘लघु जलविद्युत् विस्तार भएका ठाउँमा बत्ती बाल्नमात्र विद्युत् पुग्छ । दिउँसो मिल वा अन्य उद्योग चलाउन विद्युत्को क्षमता पुग्दैन,’ बिजमतीले भनिन् ।
दुर्गाथली गाउँपालिकाका अनुसार हाल दुर्गाथलीमा ३५ वटा घट्ट छन् । तीमध्ये सात वटा सुधारिएका घट्ट हुन्, जसमा बर्सेनि २५० रुपैयाँ कर लिइन्छ ।
पानीघट्ट स्थानीय सरकारको आय सङ्कलनको सशक्त माध्यम बनेका छन् । घट्टबाट सङ्कलन भएको कर स्थानीय पूर्वाधार विकास, शिक्षा र कृषिमा प्रयोग गरिँदै आएको छ । पालिकामा बग्ने खोलाको बहावले सरकारका लागि समेत आयस्रोत जुटाइदिएको छ ।
जबसम्म पर्याप्त विद्युत् आपूर्ति सुनिश्चित हुँदैन, तबसम्म मिल र साना उद्योगको विस्तार सम्भव देखिँदैन । अझै केही वर्ष बझाङका धेरैजसो किसान घट्टकै भर पर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द ब्ल्यू लाइट’को शुभमुहूर्त
-
धूम–४ मा रणवीर कपूरको इन्ट्री
-
सार्वजनिक यातायात बन्दको दोस्रो दिन फाट्टफुट्ट चले भाडाका गाडी, तस्बिरहरू
-
प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
-
गणेश रसिकलाई नेता र सङ्गीतकर्मीले दिए अन्तिम अन्तिम श्रद्धाञ्जली
-
माओवादी र कांग्रेस–एमालेका प्रमुख सचेतकसँग सभामुखको छलफल