बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
तथ्याङ्कमा आईपीएलको लिग चरण

सुदर्शन र शुभमनको साझेदारीदेखि कोहलीको कमालसम्म

बुधबार, १४ जेठ २०८२, १७ : ००
बुधबार, १४ जेठ २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा लिग चरणका खेलहरु सकिएका छन् । लिग चरणमा कुल ७० खेल खेलिए । प्रत्येक टोलीले १४–१४ खेल खेल्दै आफूलाई अब्बल सावित गर्ने प्रयास गरे । 

लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पञ्जाब किङ्स, रोयल च्यालेन्जर्स बेंगलुरु, गुजरात टाइटन्स र मुम्बई इन्डियन्स प्ले–अफ चरणमा पुग्न सफल भए । लिग चरणमा पहिलो भएको पञ्जाब र दोस्रो भएको बेंगलुरुबिच प्रतियोगिताको पहिलो क्वालिफायर खेल खेलिने छ ।

यसैगरी, लिग चरणमा तेस्रो भएको गुजरात र चौथो भएको मुम्बईबिच प्रतियोगिताको एलिमिनेटर भिडन्त हुनेछ । पहिलो क्वालिफायरमा विजयी टोली सिधै फाइनलमा पुग्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । 

एलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । एलिमिनेटर भिडन्तमा पराजित हुने टोली भने उपाधि होडबाट बाहिरिने छ । त्यसपछि फाइनलमा पुग्ने दुई टोलीबिच १८औँ संस्करणको उपाधिका लागि भिडन्त हुनेछ ।  

लिग चरणको खेल सकिँदासम्म केही खेलाडीले अब्बल प्रदर्शन गरेका छन् भने उत्कृष्ट प्रदर्शनको आशा गरिएका केही खेलाडीले निराश पारेका छन् । जारी आईपीएलको लिग चरणको खेल सकिँदासम्म विभिन्न टोली र खेलाडीको प्रदर्शनको बारेमा यहाँ चर्चा गरिएको छ । 

  • ‘ओरेन्ज क्याप’ को होडमा छन् यी खेलाडी

आईपीएलको प्रत्येक संस्करणमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानलाई ‘ओरेन्ज क्याप’ प्रदान गर्ने परम्परा रहेको छ । यो संस्करणमा गुजरात टाइटन्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुका ब्याट्सम्यानहरु ‘ओरेन्ज क्याप’ को होडमा देखिएका छन् । 

लिग चरणको खेल सकिँदासम्म पाँचजना ब्याट्सम्यानले ६ सयभन्दा बढी रन बनाइसकेका छन् । हालसम्म सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा गुजरातका खेलाडी पहिलो र दोस्रो स्थानमा आसीन छन् ।  

पहिलो स्थानमा आसीन गुजरातका साई सुदर्शनले १४ खेलमा कुल ६ सय ७९ रन बनाएका छन् । दोस्रो स्थानमा आसीन गुजरातकै शुभमन गिलले ६ सय ४९ रन बनाएका छन् । यो सूचिमा मुम्बई इन्डियन्सका सूर्यकुमार यादव तेस्रो स्थानमा आसीन छन् । 

सूर्यकुमारले १४ खेलमा कुल ६ सय ४० रन बनाइसकेका छन् । चौथो स्थानमा रहेका लखनउ सुपर जायन्ट्सका मिचेल मार्सले १३ खेलमा कुल ६ सय २७ रन बनाएका छन् । तर, उनको टोली भने लिग चरणबाटै बाहिरिइसकेको छ । 

यसैगरी, बेंगलुरुका विराट कोहली पाँचौँ स्थानमा छन् । विराटले १३ खेलमा कुल ६ सय दुई रन बनाएका छन् । यस क्रममा विराटले आठवटा अर्धशतक प्रहार गरेका छन् । यो संस्करण आठवटा अर्धशतक बनाउने उनी एकमात्र ब्याट्सम्यान हुन् । 

  • रोचक छ ‘पर्पल क्याप’ को दौड पनि

आईपीएलको प्रत्येक संस्करणमा सर्वाधिक विकेट लिने बलरलाई ‘पर्पल क्याप’ प्रदान गर्ने परम्परा छ । यो संस्करणमा ‘पर्पल क्याप’ को दौड पनि निकै रोचक छ । लिग चरणको खेल सकिँदासम्म यो दौडमा गुजरात, मुम्बई, बेंगलुरु र पञ्जाब किङ्सका खेलाडी अगाडि छन् । 

400418

यद्यपि, सर्वाधिक विकेट लिने बलरको सूचिमा चेन्नई सुपर किङ्सका बलर नुर अहमद सबैभन्दा अगाडि छन् । उनले १४ खेलमा २४ विकेट लिएका छन् । तर, उनले ‘पर्पल क्याप’ जित्ने सम्भावना भने निकै कम छ । उनको टोली लिग चरणबाटै बाहिरिइसकेको छ । 

सर्वाधिक विकेट लिने बलरको सूचिमा गुजरातका प्रसिद्ध कृष्णा दोस्रो स्थानमा छन् । उनले १४ खेलमा २३ विकेट लिएका छन् । तेस्रो स्थानमा आसीन मुम्बई इन्डियन्सका ट्रेन्ट बोल्टले १४ खेलमा १९ विकेट कुम्ल्याएका छन् ।

यसैगरी, यो सूचिको चौथो स्थानमा रहेका बेंगलुरुका जस हेजलउडले १० खेलमा १८ विकेट हात पारेका छन् । पाँचौँ स्थानमा आसीन पञ्जाब किङ्सका अर्शदीप सिंहले पनि १४ खेलमा १८ विकेट लिइसकेका छन् । 

यसैगरी, चारजना बलरले १७–१७ विकेट लिएका छन् । १७ विकेट लिने बलर मुम्बईका जसप्रित बुमराह, जुगराजतका राई किशोर, कोलकाता नाइट राइडर्सका वरुण चत्रवर्ती र कोलकाताकै बैभव अरोडा हुन् ।

  • नौ ब्याट्सम्यानको शतकीय पाली 

जारी सिजनको आईपीएलमा हालसम्म विभिन्न टोलीका नौजना ब्याट्सम्यानले शतक बनाएका छन् । सनराइजर्स हैदराबादका तीन ब्याट्सम्यानले शतक बनाएका छन् । हैदराबादका लागि अभिषेक शर्मा, ईशान किशन र हेनरिक क्लासेनले शतक बनाएका हुन् । 

लखनउ सुपरय जायन्ट्सका पनि दुई ब्याट्सम्यानले शतक बनाएका छन् । लखनउका लागि मिचेल मार्स र ऋषभ पन्तले शतक प्रहार गरेका हुन् । राजस्थान रोयल्सका बैभव सूर्यवंशीले पनि शतक बनाएका छन् । उनी आईपीएलको इतिहासमा शतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी हुन् । 

यसका अतिरिक्त, दिल्ली क्यापिटल्सका केएल राहुलले पनि शतक बनाएका छन् । पञ्जाब किङ्सका प्रियांश आर्याले पनि एउटा शतक प्रहार गरेका छन् । अर्को एउटा शतक भने गुजरात टाइटन्सका साई सुदर्शनले बनाएका हुन् । 

  • विराटको नाममा आठ अर्धशतक

लिग चरणको खेल सकिँदासम्म सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यान भने रोयल च्यालेन्जर्स बेंगलुरुका अनुभवी खेलाडी विराट कोहली हुन् । विराटले १३ खेलमा आठवटा अर्धशतक प्रहार गरेका छन् । एक खेलमा भने उनी उपस्थित थिएनन् । 

सर्वाधिक अर्धशतक बनाउने ब्याट्सम्यानको सूचिमा लखनउका मिचेल मार्स दोस्रो स्थानमा आसीन छन् । उनले १३ खेलमा सातवटा अर्धशतक बनाएका छन् । तीन ब्याट्सम्यानले ६–६ वटा अर्धशतक प्रहार गरेका छन् । 

तीनवटा अर्धशतक बनाउने ब्याट्सम्यान गुजरात टाइटन्सका साई सुदर्शन, गुजरातकै कप्तान शुभमन गिल र राजस्थान रोयल्सका यसश्वी जैसवाल हुन् । 

  • उपाधि होडबाट बाहिरिएको हैदराबादको यो कमाल

जारी सिजनको आईपीएलमा सर्वाधिक कुल स्कोर बनाउने टोली भने सनराइजर्स हैदराबाद हो । पहिलोदेखि तेस्रो स्थानसम्म हैदराबाद नै रहेको छ । हैदराबादले राजस्थानविरुद्धको खेलमा ६ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो । जारी संस्करणको यो सबैभन्दा ठुलो स्कोर हो ।

यसैगरी, हैदराबादले कोलकाताविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । जारी सिजनको आईपीएलमा कुनै पनि टोलीले बनाएको यो दोस्रो ठुलो स्कोर हो । हैदराबादले पञ्जाब किङ्सविरुद्ध दुई विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो । यो तेस्रो ठुलो स्कोर हो । 

  • अभिषेक शर्मा र अविजित १४१ रन

आईपीएलको १८औँ संस्करणमा सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यान सनराइजर्स हैदराबादका अभिषेक शर्मा हुन् । उनले पञ्जाब किङ्सविरुद्धको खेलमा एक सय ४१ रन बनाएका थिए । यस क्रममा उनले केवल ५५ बलको सामना गरी १० छक्का र १४ चौका हिर्काएका थिए ।

सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यानको सूचिमा लखनउ सुपर जायन्ट्सका ऋषभ पन्त दोस्रो स्थानमा आसीन छन् । उनले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा अविजित एक सय १८ रन बनाएका थिए ।

  • राजस्थानका हेटमायरले लिए सर्वाधिक क्याच

जारी सिजनको आईपीएलमा सर्वाधिक क्याच लिने फिल्डर राजस्थान रोयल्सका सिमरोन हेटमायर हुन् । उनले १४ खेलमा १३ वटा क्याच लिएका छन् । उनको टोली राजस्थान भने उपाधि होडबाट बाहिरिइसकेको छ ।

399508

यो सूचिमा दोस्रो स्थानमा रहेका मुम्बई इन्डियन्सका नमन धीरले १२ वटा क्याच लिएका छन् । राजस्थान रोयल्सका यसश्वी जैसवालले १० र कोलकाता नाइट राइडर्सका रिंकु सिंहले नौवटा क्याच लिएका छन् । 

एउटै खेलमा सर्वाधिक क्याच लिने फिल्डर भने सनराइजर्स हैदराबादका अभिषेक शर्मा हुन् । उनले एउटै खेलमा चारवटा क्याच लिएका थिए । समग्रमा भने उनले आठवटा क्याच लिएका छन् ।

  • जितेश र रिकेल्टन सफल विकेटकिपर

आईपीएलको जारी संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुका जितेश शर्मा र मुम्बई इन्डियन्सका रायन रिकेल्टन सबैभन्दा सफल विकेटकिपर हुन् । यी दुवै विकेटकिपरले हालसम्म विभिन्न टोलीका १६–१६ जना ब्याट्सम्यानलाई पेभेलियन फर्काएका छन् । 

399215

बेंगलुरुका जितेशले विकेटकिपरको भूमिकामा १५ वटा क्याच लिएका हुन् भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् । मुम्बईका रिकेल्टनले भने ११ ब्याट्सम्यानको क्याच लिएका हुन् भने पाँच ब्याट्सम्यानलाई स्टम्पिङ गरेका हुन् ।

  • शुभमन र सुदर्शनको यो साझेदारी 

जारी सिजनको आईपीएलमा सबैभन्दा बढी रनको साझेदारी गर्ने ब्याट्सम्यान गुजरात टाइटन्सका शुभमन गिल र साई सुदर्शन हुन् । यी दुई ब्याट्सम्यानले दिल्ली क्यापिटल्सविरुद्धको खेलमा पहिलो विकेटका लागि अविजित दुई सय पाँच रनको साझेदारी गरेका थिए ।

लिग चरणको खेल सकिँदासम्म दोस्रो ठुलो साझेदारी गर्ने ब्याट्सम्यान सनराइजर्स हैदराबादका ट्राभिस हेड र अभिषेक शर्मा हुन् । यी दुई ब्याट्सम्यानले पञ्जाब किङ्सविरुद्धको खेलमा पहिलो विकेटका लागि एक सय ७१ रनको साझेदारी गरेका थिए ।

  • छक्काको वर्षा गर्ने पुरन र मार्स

आईपीएलको जारी संस्करणमा लिग चरणको खेल सकिँदासम्म उपाधि होडबाट बाहिरिइसकेको लखनउ सुपर जायन्ट्सका दुई ब्याट्सम्यान निकोलश पुरन र मिचेल मार्सले छक्काको वर्षा गरेका छन् । यी दुवै ब्याट्सम्यान सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा पहिलो र दोस्रो स्थानमा छन् ।

यो सूचिमा पहिलो स्थानमा आसीन क्यारेबियन ब्याट्सम्यान निकोलस पुरनले १४ खेलमा ४० वटा छक्का प्रहार गरिसकेका छन् । यो सूचिमा दोस्रो स्थानमा आसीन मिचेल मार्सले पनि ३७ वटा छक्का प्रहार गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप