आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

गाडीमा जडान गरिएको कालोसिसाका स्टिकर हटाउन थालियाे

आइतबार, १४ असार २०८३, १५ : ३५
आइतबार, १४ असार २०८३

सारांश

  • ट्राफिक प्रहरीले आइतबारदेखि काठमाडौँ उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन सुरु गरेको छ।
  • ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गरी कम्पनीबाटै कालो सिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे निर्णय गर्नेछ।
  • हालसम्म ५३ वटा सवारी साधनमा लगाएको कालो स्टिकर हटाइएको छ र कालो सिसाको प्रयोगले हातहतियार ओसारपसार, लागुऔषध कारोबार, जघन्य अपराध र यौनजन्य हिंसाजस्ता गतिविधि हुने गरेको प्रहरीको निष्कर्ष छ।

काठमाडौँ । ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालोसिसाका स्टिकर हटाउन सुरु गरेको छ। 

आइतबारदेखि उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालोसिसाका स्टिकर हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए।

पहिलो चरणमा स्टिकर हटाउन थालिएको हो । कम्पनीबाट कालोसिसा जडान भएका गाडीहरूको सिसा परिवर्तन गर्नेबारे ट्राफिक प्रहरीले गाडी बिक्रेता कम्पनीहरूसँग छलफल गर्ने भएको छ । 

सोमबार गाडी विक्रेता कम्पनीहरूसँग त्यसबारे छलफल गरिने एसपी सुवेदीले बताए । उनले भने, ‘कतिपय गाडीमा कम्पनीबाट नै कालोसिसा जडान भएर आएको भेटियो, त्यसबारे छलफल गर्दैछौँ।’

हालसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा चल्ने ५३ वटा सवारी साधनमा लगाएको कालो स्टिकर ट्राफिक प्रहरीले हटाएको छ। माइक्रोबस र ट्याक्सीमा समेत कालोसिसा प्रयोग गरेको भेटिएको छ । कालोसिसाको प्रयोग गरेर हातहतियार ओसारपसार र लागुऔषध जस्ता कारोबार हुने गरेको प्रहरीको निष्कर्ष छ ।

एसपी सुवेदी भन्छन्, ‘कालोसिसा लगाइएका गाडीमा जघन्य अपराधमा संलग्न आरोपीहरू लुकेर हिँड्ने र गाडीमा यौनजन्य हिंसाका घटनाहरू पनि हुनसक्ने हुनाले त्यसमा कडाइ गर्न थालिएको हो।’

यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार स्वीकृति नलिई सवारीको रङ, स्वरूप र इन्जिन वा चेसिसमा परिवर्तन गर्न नपाइने कानुनी व्यवस्था छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप