फाइनल प्रवेशको लक्ष्यसहित प्ले–अफ चरणमा पहिलो पटक भिड्दै पन्जाब र बेंगलुरु

समाचार सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणको पहिलो क्वालिफायर खेलमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन्।
- पञ्जाब र बेंगलुरुबीचको खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार राति १९:४५ बजे सुरु हुनेछ।
- खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ, पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ, भने ब्याट्सम्यानका लागि पिच उपयुक्त हुनेछ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार पहिलो क्वालिफायर खेल खेलिँदै छ । फाइनल प्रवेशको लक्ष्यसहित पहिलो क्वालिफायरमा पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आपसमा भिड्दै छन् ।
पन्जाब र बेंगलुरुबिचको खेल मुल्लनपुरस्थित महाराजा यादवीन्द्र सिंह स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । ३८ हजार दर्शक क्षमताको यो स्टेडियम पन्जाब किङ्सको अर्को घरेलु मैदान हो ।
बेंगलुरु र पञ्जाबबिचको खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि अर्को एउटा अवसर पाउनेछ । पराजित हुने टोलीले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल खेल्नेछ । उक्त खेलमा विजयी भए फाइनलमा प्रवेश गर्नेछ ।
पन्जाब लिग चरणको खेलमा अङ्क तालिकामा पहिलो हुँदै प्ले–अफ चरणमा पुगेको हो । पञ्जाबले १९ अङ्क बटुलेको थियो । लिग चरणमा पञ्जाबले नौ जित र चार हारको नतिजा निकाल्यो । पञ्जाबको एउटा खेल अनिर्णीत रूपमा सकियो ।
रोयल च्यालेन्जर्स बेंगलुरु दोस्रो हुँदै प्ले–अफ चरणमा पुग्न सफल भएको हो । बेंगलुरुले पनि १९ अङ्क नै हात पारेको थियो । तर, नेट रन रेटमा बेंगलुरुको टोली पञ्जाबसँग पछि पर्यो । बेंगलुरुले नौ जित र चार हारको नतिजा निकाल्यो । बेंगलुरुको पनि एक खेल वर्षाका कारण अनिर्णीत रूपमा सकियो ।
प्ले–अफमा पहिलो र जारी संस्करणमा तेस्रो भिडन्त
पहिलो उपाधिको खोजीमा रहेका यी दुवै टोली आईपीएलको प्ले–अफ चरणमा भने पहिलो पटक आपसमा भिड्न लागेका हुन् । आईपीएलको १८औँ संस्करणमा यी दुई टोली तेस्रो पटक आपसमा भिड्न लागेका हुन् ।
जारी संस्करणको आईपीएलमा यी दुई टोली अप्रिल १८ तारिखमा पहिलो पटक आपसमा भिडेका थिए । आईपीएलको यो ३४ खेल थियो । उक्त खेलमा पञ्जाबले बेंगलुरुलाई पाँच विकेटले हराएको थियो । वर्षाका कारण उक्त खेल १४–१४ ओभरमा खेलाइएको थियो ।
त्यसपछि अप्रिल २० तारिखमा यी दुई टोली दोस्रो पटक आपसमा भिडेका थिए । जारी आईपीएलको त्यो ३७औँ खेल थियो । त्यो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पन्जाब किङ्सलाई सात विकेटले पराजित गर्दै अघिल्लो हारको बदला लिएको थियो ।
पहिलो उपाधिको खोजी
बेंगलुरु आईपीएलमा तीनपटक फाइनलमा पुगेर पराजित भएको छ । बेंगलुरु सन् २००९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुको टोलीलाई डेक्कन चार्जर्सले ६ रनले हराएको थियो ।
बेंगलुरु सन् २०११ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला फाइनलमा बेंगलुरुलाई चेन्नई सुपर किङ्सले ५८ रनले हराएको थियो । सन् २०१६ को फाइनलमा बेंगलुरुको टोली सनराइजर्स हैदराबादसँग आठ विकेट पराजित भएको थियो ।
पन्जाब किङ्सले पनि हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पन्जाब किङ्स फाइनलसम्म पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पन्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
हेड टु हेडमा एक खेलको अन्तर
आईपीएलको इतिहासमा हालसम्म पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच कुल ३५ खेल खेलिएको छ । त्यसमा पन्जाब एक खेलले अगाडि देखिन्छ । पञ्जाबले १८ खेलमा बेंगलुरुलाई पराजित गरेको छ ।
बेंगलुरुले भने पञ्जाबलाई १७ खेलमा हराएको छ । मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा भने यी दुई टोली दोस्रो पटक आपसमा भिड्न लागेका हुन् । यो स्टेडियममा यसअघि खेलिएको खेलमा बेंगलुरुले पञ्जाबलाई सात विकेटले हराएको थियो ।
पञ्जाबको सर्वाधिक रन श्रेयषको नाममा
जारी सिजनको आईपीएलमा पन्जाब किङ्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान श्रेयष ऐयर हुन् । उनले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले १४ खेलमा कुल पाँच सय १४ रन बनाइसकेका छन् ।
प्रभसिमरन सिंह र प्रियांश आर्याको ओपनिङ जोडीले पनि गतिलो प्रदर्शन गर्दै आएको छ । यो जोडीले हालसम्म ओपनिङ विकेटका लागि १७३.४९ को स्ट्राइक रेटमा कुल नौ सय २३ रनको साझेदारी गरिसकेको छ ।
प्रभसिमरनले १४ खेलमा चार सय ९९ रन बनाएका छन् । प्रियांशले पनि १४ खेलमा चार सय २४ रन जोडेका छन् । नेहल बधेरा र शशांक सिंह पनि लयमा छन् । पञ्जाबका लागि सर्वाधिक विकेट लिने बलर अर्शदीप सिंह हुन् । उनले १४ खेलमा १८ विकेट लिएका छन् ।
लयमा छन् बेंगलुरुका विराट
आईपीएलको १८औँ संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनी यो सिजन लयमा देखिएका छन् । उनले यो सिजन आठवटा अर्धशतक प्रहार गरिसकेका छन् ।
यो सिजन आठवटा अर्धशतक प्रहार गर्ने उनी एकमात्र ब्याट्सम्यान हुन् । उनले १३ खेलमा ६०.२० को औसत र १४७.५१ को स्ट्राइक रेटमा कुल ६ सय दुई रन बनाएका छन् । बेंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने जस हेजलउड हुन् । उनले १० खेलमा १८ विकेट लिएका छन् ।
ब्याट्सम्यानका लागि उपयुक्त पिच
रोयल च्यालेन्जर्स बेंगलुरु र पन्जाब किङ्सबिच बिहीबार पहिलो क्वालिफायर खेलिने मुल्लनपुरस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियमको पिच ब्याट्सम्यानका लागि उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियममा बढी नै रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल नौ खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । चार खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् ।
यो स्टेडियममा खेलिएको आईपीएलमा बनेको उच्च स्कोर ६ विकेट गुमाएर दुई सय १९ रन हो । यो स्कोर यसै सिजनको आईपीएलमा पन्जाब किङ्सले चेन्नई सुपर किङसविरुद्ध बनाएको थियो ।
छैन वर्षाले खेल बिथोल्ने सम्भावना
पन्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेल हुने दिन बिहीबार मुल्लनपुरको मौसम सफा रहने बताइएको छ । त्यहाँको जल तथा मौसम विज्ञान विभागका अनुसार, वर्षाको कुनै सम्भावना छैन । दिनभर चर्को गर्मी हुनेछ । तापक्रम २४ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ ।
सम्भावित टोली
पन्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रियांश आर्या, प्रभसिमरन सिंह, जस इङ्लिस (विकेटकिपर), नेहाल बाधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाई, हरप्रित बरार, काइल जामिसन र अर्शदीप सिंह । इम्प्याक्ट खेलाडी : विजय कुमार वैशाख ।
रोयल च्यालेन्जर्स बेंगलुरु : रजत पाटिदार (कप्तान), फिल साल्ट, विराट कोहली, लियाम लिभिङ्स्टोन, मयंक अग्रवाल, जितेश शर्मा (विकेटकिपर), टिम सिफर्ट, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल र जस हेजलउड । इम्प्याक्ट प्लेयर : नुवान थुसरा ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : रोजगारी सिर्जना र कृषि विकासमा जोड
-
रोहितको रन वर्षा, गुजरात सामु २ सय २९ रनको लक्ष्य
-
‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ लोकार्पण
-
नेपाली सेनाको मेजर र नेपाल प्रहरीको डीएसपी हुँ भन्दै सर्वसाधारणलाई झुक्याउने दुई जना पक्राउ
-
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
-
विश्व शान्तिका लागि संस्कृति र सभ्यताबिच समझदारी आवश्यक : पूर्वराष्ट्रपति भण्डारी