‘खुसीमा खाममा दाम, दुःखमा सहयोग खै : के हामी नयाँ संस्कार सुरु गर्न सक्दैनौँ ?

२०८२ वैशाख २८ गते बिहान आफ्नै निवासमा प्रविधिको प्रयोगसँगै कफी पिउँदै थिएँ । पछिल्ला केही महिनायता खासगरी फुर्सदको समयमा या यात्रा गर्दा फेसबुक हेर्ने अभ्यासतर्फ पनि उन्मुख हुँदै छु । यद्यपि वर्तमान प्रविधि मभन्दा धेरै कान्छो भने फरक नपर्ला । सूचना, शिक्षा वा प्रेरणादायी सन्देश वा विषयवस्तु भएमा या आफ्नो पनि केही भए सेयर पनि गर्दछु । रचनात्मक र ज्ञानवर्द्धक बाहेकका सामग्री मेरो रुचि या क्षेत्रभित्र पर्दैनन् ।
त्यही क्रममा मेरा अनन्य मित्र तथा तनहुँ दमौलीस्थित निर्मल माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक ब्रह्मदत्त तिमिल्सिनाको फेसबुकमा एउटा पोस्ट देखेँ, जसले मलाई गहिरोसँग मन छोयो । यो पोस्ट मौलिक रूपमा कसको हो भनी ब्रह्मजीलाई सम्पर्क गरेँ, तर सम्पर्क हुन सकेन । सायद यो पोस्ट राम कार्कीको जस्तो लाग्छ, किनकि पुछारमा अंग्रेजीमा यही नाम देखिन्छ । उनले लेखेका छन्, ‘जब पनि हामी कसैको विवाहको उत्सवमा जान्छौँ तब हामी खाममा केही पैसा हालेर त्यहाँ दिन्छौँ, तर जब हाम्रा आफ्ना कोही आफन्त अस्पतालमा जीवन अनि मृत्युसँग लडिरहेका हुन्छन् अनि हामी उसलाई हेर्न जान्छौँ, तब हामी कुनै पैसाको खाम लिएर जाँदैनौ जब कि त्यसबेला उसको घर–परिवारलाई पैसाको सबैभन्दा धेरै आवश्यकता हुन्छ, के हामी सबै मिलेर यो नयाँ संस्कार सुरु गर्न सक्तैनौ र ? कृपया तपाईं पनि यस कुरामा सहमत हुनुहुन्छ भने यो सन्देशलाई सेयर गरिदिनुहोला है ल । धन्यवाद राम कार्की ।’
मैले पनि यस भनाइलाई फेसबुकमा सेयर गरिहालेँ । मैले सेयर गरेपछि ‘उच्च विचार, राम्रो सोच, मनै छुने’ आदि प्रतिक्रिया आए । ती प्रतिक्रियाले मलाई दुई दृष्टिकोणबाट ग्लानि तथा सोच्न पनि बाध्य गराए ः
१) त्यो पोस्ट मेरो आफ्नो मौलिक विचार थिएन, अरु कसैको पोस्ट मैले सम्प्रेषण मात्र गरेँ, तर विविध विश्लेषणले प्रशंसा पाएँ, तसर्थ ग्लानि ।
२) मैले पनि व्यवहारमा देख्दा सानो तर मर्मस्स्पर्शी सांकेतिक सन्देशलाई मनन र चरितार्थ गर्न सकेको रहेनछु भनी झन् थप संवेदनशील बनायो ।
मैले महसुस गरेँ— यस्ता विचार केवल शब्द र सन्देशमा सीमित राख्नु हुँदैन, व्यवहारमै सकेको उतार्नुपर्छ । यसलाई एउटा अभियानका रूपमा अगाडि बढाउने सोच आयो । सोही अनुसार आफ्ना दृष्टिकोण यस स्तम्भमा पस्किएको हुँ । व्यक्तिगत रूपमा मेरो स्वभाव अप्ठेरोमा परेकाहरुलाई सकेको सहयोग गर्ने खालको छ । त्यसैले अब उप्रान्त मबाट खामभित्र जाने जति छ, तत्काल स्थायी र पत्यारिलो संस्था नहोउन्जेल खुत्रुकेमा संकलन गर्दै जान्छु भनी आजैबाट अठोट गरेँ । संयोग नै भन्नुपर्छ, यो आलेख तयार पार्दै गर्दाका दिन (१२ मे) मेरी जेठी बुहारी प्रतिष्ठा भट्ट पराजुलीको जन्म दिन पनि परेछ । शुभकार्यमा ढिला किन भन्ने नेपाली उखानलाई सार्थकता दिँदै बेलुकी घर पुगेर २० पाउन्ड राखेर खाम छुट्टयाइहालेँ । साथै यस विचारलाई संस्थागत अभियानमा बदल्ने सोच बनाएको छु ।
नेपाली समाजमा व्रतबन्ध, गुन्यू–चोली, पास्नी, जन्मोत्सव, विवाह वर्षगाँठ जस्ता अवसरमा आफन्त तथा साथीभाइसँग भेटघाट हुन्छ । यस्ता मौकाहरूले परस्पर सम्बन्ध सुदृढ पार्न, सामाजिक सद्भाव बढाउन, संस्कार र संस्कृतिलाई निरन्तरता दिन मद्दत गर्छन् ।
पछिल्ला वर्ष यस्ता कार्यक्रममा तडकभडक वा खर्चालु प्रवृत्ति चिन्ताजनक रूपमा वृद्धि हुँदै गएको देखिन्छ । संस्कार गर्न वा पर्व मनाउन ऋण लिनुपर्ने बाध्यतामा समेत कतिपय देखिन्छन् ।
परम्परागत सोच अनुसार हामी अस्पतालमा बिरामी भेट्न जाँदा फलफूल लिएर जान्छौँ, तर जीवन र मृत्युको लडाइँमा रहेको बिरामीको परिवारलाई औषधि, उपचार, ल्याब परीक्षण, सर्जरी आदिमा तत्काल खर्चको आवश्यकता पर्छ । यस्ता समयमा सामाजिक साथ मात्र होइन आर्थिक सहयोगले पनि ठुलो राहत दिन सक्छ ।
विवाह र भोजमा सहभागी हुँदा हामी एउटा खाम बनाउँछौँ, जसमा सामान्यतः पाँच, ५०, १०० वा ५०० वा सोभन्दा बढी रुपैयाँसम्म राखिन्छ । आफ्नो र आमन्त्रण गर्नेवालाको हैसियत र समाजमा प्रतिष्ठा हेरी खाममा राख्ने रकम तोकिन्छ । के हामीले अति सम्पन्नलाई कम रकम र कम सम्पन्नलाई बढी रकम दिने गरेका छौँ ? इमानदारी साथ भन्छु मैले त, दिएको छैन तर अब प्रण गर्दै छु— अब उप्रान्त यो विभेद गर्दिनँ । यो परम्परा एक प्रकारको ‘आर्थिक आदानप्रदान’का रूपमा समेत बुझेको पाइन्छ । तर के यस्तो अभ्यास पीडामा परेको बेला किन लागु गर्न सकिँदैन ?
समाजशास्त्री डा. माया श्रेष्ठ भन्नुहुन्छ, ‘हामी नेपाली सामाजिक रूपमा सहानुभूतिशील र सामूहिकता प्रेमी हौँ तर त्यो सहानुभूति प्रायः केवल औपचारिकतामा सीमित हुन्छ । संकटमा परेको मान्छेलाई भेट्दा भावुक शब्द त भनिन्छ, तर आवश्यक सहयोग दिन हिच्किचाइन्छ ।’
यो नयाँ प्रस्तावले सहानुभूतिलाई व्यवहारमा रूपान्तरण गर्न चाहन्छ ।
‘संकटमा खाम’ अभियानको सम्भावना
यस विचारलाई व्यवहारमा उतार्न सकिने थुप्रै सम्भावना छन् । युवाहरू, सामाजिक अभियन्ता, स्वयंसेवक समूहहरूले यसलाई अभियानको रूप दिन सक्नेछन् र दिइराख्नुभएको पनि छ ।
यो अभियानले निम्न किसिमका अभ्यास सुरु गर्न सक्दछ ।
१) अस्पताल जानुपर्दा खाम पनि लैजाने परम्परा सुरु गर्नु ।
२) समूहगत सहयोग प्रणाली बनाउनु, जहाँ साथीभाइ मिलेर कोही संकटमा परेको खबर पाएसँगै आर्थिक सहयोग संकलन गरिन्छ ।
३) संस्थागत सहयोग खाताहरू खोल्नु, जसबाट आकस्मिक अवस्थामा तत्काल राहत दिन सकिन्छ ।
४) सामाजिक मिडिया प्रयोग गरेर सहयोग संकलन र वितरण पारदर्शी बनाउने ।
यस्ता अभ्यासहरूले ‘सहयोगको संस्कार’ निर्माण गर्न सक्छन्, जुन समाजको दीर्घकालीन परिवर्तनको आधार बन्न सक्छ ।
वर्तमान चुनौतीहरू
पैसा दिने विषयलाई कतिपयले संकोचको विषय ठान्न सक्छन् । ‘दया’ वा ‘अपांग सहयोग’ जस्तो बुझिने डर हुन्छ, तर यो सोच बदलिन आवश्यक छ ।
अस्पतालमा पैसा लिएर जानु ‘सहयोग’ हो, ‘सहानुभूति’ होइन । त्यो योगदान हो, जसले जीवन रक्षामा सघाउ पुर्याउँछ । साथै यस्ता कार्यहरूलाई पारदर्शिता, आत्म–सम्मान र इच्छाशक्ति अनुसार व्यवस्थापन गर्न सकिन्छ ।
समाजशास्त्री डा. किरण अधिकारीका अनुसार, ‘नेपाली समाजमा सहानुभूति छ तर संरचित सहयोगको अभ्यास छैन । हामीले परम्परालाई थोरै परिवर्तन गर्यौँ भने यो सहयोग संस्कारको उत्कृष्ट नमुना बन्न सक्छ ।’
सकारात्मक उदाहरणहरू
सामाजिक सञ्जालमा यस्ता घटनाहरू प्रशस्त भेटिन्छन्, जहाँ कसैले पनि उपचार गर्न नसक्ने अवस्था हुँदा साथीभाइले समूह बनाएर पैसा उठाएका छन् । कतिपयले प्लेटफर्ममार्फत लाखौँ संकलन गरेर ज्यान जोगाएका छन् । यस्ता अभ्यासहरू आकस्मिक र असंगठित हुन्छन् । ‘संकटमा खाम’ संस्कार बन्न गयो भने, हामीले व्यवस्थित र तात्कालिक सहयोग गर्न सक्नेछौँ । त्यसैले यस अभियानलाई संस्थागत, संगठित र पारदर्शी बनाउनुपर्छ ।
निष्कर्ष
‘खुसीमा खाम’ दिनु संस्कार हो भने ‘संकटमा खाम’ दिनु आवश्यकता र जिम्मेवारी दुवै हो । हामीले यसलाई सामान्य, स्वाभाविक र आत्मीय व्यवहारका रूपमा विकास गर्नुपर्छ । यसका लागि सामाजिक रूपान्तरण आवश्यक छ, जुन विचार र व्यवहार दुवैतर्फबाट हुनुपर्छ । अब समय आएको छ, हामी सबैले हातेमालो गर्दै नयाँ संस्कार सुरु गरौँ— जहाँ संकटमा परेका मान्छे खाली नजरले होइन, सहयोगको खामसहित भेटिन्छन् ।
जसले भविष्यमा आमन्त्रण गर्नुहुन्छ, उहाँहरूले पनि ढोंगी शैलीमा परिवर्तन गरी बरु मानव कल्याण कार्यमा केही प्रतिशत भने पनि छुट्ट्याउन र निम्तो मान्न जानेले पनि खाम त्यस्ता कार्यमा नभई असहायका लागि दिने र आवाहन पनि गर्ने शैलीतर्फ उन्मुख हुने हो कि भनी संवाद र बहस चलाउँ ।
हामी सबै मिलेर नयाँ संस्कार सुरु गर्न सक्छौँ । तपाईं पनि तयार हुनुहुन्छ ? तयार हुनुहुन्छ भने आउनुहोस् ‘खाम संस्कृतिलाई रूपान्तरण गरौँ’ अभियान सुरु गरौँ ।
यो अभियानमा लाग्दा मैले के पाउँछु भन्दा पनि मैले के र कसरी यो अभियानलाई सार्थक बनाउन सक्छु भन्ने दृढ संकल्प र निस्वार्थ भाव र अठोटको आवश्यक छ । यही सेरोफेरोमा बहस चलाउँ । यसका लागि संस्थालाई कानुनी रूप प्रदान गर्न, विधि–विधान तयार पार्न आफ्नो परिस्थिति हेरी कसरी सहयोग गर्न सकिन्छ । आफ्नो ठाउँबाट एक प्रकारको प्रतिज्ञा गरौँ । प्रस्तावित संस्थाको नाम बहसको लागि ‘खाम संस्कृति रूपान्तरण प्रतिष्ठान’ समेत प्रस्ताव गरेको छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गरोस् : सांसद तामाङ
-
रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्री लेखकको राजीनामा
-
नारामै सीमित भयो ‘अर्ग्यानिक कर्णाली’
-
गृहमन्त्रीको गतिविधिले शङ्का पैदा भयो : माओवादी केन्द्र
-
एकदिवसीय शृङ्खलामा इङ्गल्यान्डसामु निरीह बन्यो वेस्ट इन्डिज
-
भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु : गृहमन्त्री लेखक