मातापितालाई सोध्नोस्

समाचार सारांश
- सरस्वती आफ्नो रूपलाई सजाउन सौन्दर्य प्रसाधनको प्रयोग गर्छिन्।
- छोराछोरीको व्यवहार र जीवनशैलीबारे चिन्ता व्यक्त गरिन्छ, रोहित विद्यालय छोड्छन्।
- अन्जुले आत्महत्याको प्रयास गर्छिन् र पक्राउ पर्छिन्, पारिवारिक सम्बन्ध र जीवनशैलीको चित्रण।
ड्रेसिङ टेबुलको ऐनाअघि बसेर सिँगारपटार गर्दै छिन् सरस्वती । ड्रेसिङ टेबुलमा थरीथरीका विदेशी सौन्दर्य प्रसाधनहरू राखिएका छन् । उनी एकएक गरेर ती सौन्दर्य प्रसाधनहरूको उपयोगद्वारा आफ्नो रूपलाई सजाउने काम गरिरहेकी छिन् । ‘अब त ठीक छ होइन, हेर् त म कस्ती देखिएकी छु ?’ नगिचै भुइँमा बसेर आफूले गरिरहेको शृङ्गार हेरिरहेकी भुवनातिर हेर्दै प्रश्न गर्दछिन् सरस्वती ।
‘एकदमै राम्री, तरुनी केटीजस्ती देखिनुभएको छ, तर तपाईंको टाउकोमा एउटा सेतो कपाल टलक्कै देखिएको छ,’ आफ्नो टाउको अलिक कोल्टे पारेर सरस्वतीको कपालतिर हेर्दै भुवना भन्छे ।
‘सेतो कपाल ! खोइ कहाँ छ ? देखा त !’ बडो अधीर भएर सोध्दछिन् सरस्वती ।
‘ई, हो यहाँनिर छ,’ आफ्नो औँला सरस्वतीको कानदेखि अलिमाथि कपालमा राखेर भुवना भन्छे ।
‘पख् ! पख् ! ला, यो कैँचीले त्यो सेतो कपाल जराबाट च्वाट्ट काटिदे । के गर्नु, अस्ति भर्खरै ब्युटीपार्लरमा गएर कपालमा कालो मेहेन्दी लगाएर आएकी हुँ, तर त्यत्रो पैसा लिएर पनि ती मोरीहरूले राम्ररी रङ्गाइदिँदैनन्,’ गनगनाउँदै सरस्वतीले ड्रेसिङ टेबुलको ड्रअरबाट एउटा सानो कैँची झिकी भुवनाको हातमा राखिदिइन् ।
भुवनाले त्यो सेतो कपाल बडो जतनसाथ काटिदिई ।
‘ल, अब म जान्छु । आज पनि मलाई पार्टीमा जानुपरेकाले घर चाँडै आएकी हुँ, तयार हुनै यतिका बेर लाग्यो । भरे रोहित र अन्जु मैयाँ आएपछि खानपिन गरेर सुत्नु भन्नू । मलाई पर्खनुपर्दैन । म उतै पार्टीमा खाएर आउँछु । अँ, ला यो पैसा अन्जु मैयाँलाई दिनू र भन्नू– यो पैसा उनीहरूलाई पढाउन आउने टिचरलाई दिनू । नबिर्सनू नि फेरि,’ पर्सबाट केही नोट निकालेर भुवनातिर बढाउँदै भन्छिन् सरस्वती ।
‘बिर्सिन्नँ,’ पैसा हातमा लिएपछि भुवना सङ्क्षिप्त उत्तर दिन्छे ।
‘अँ, हामी नभएको बेला घर छोडेर यताउता नजानू नि ! अन्जु मैयाँले टिभी चलाउन सिकाइदिया छ होइन ? त्यै टिभी हेरेर बस्नू, तर टिभी हेर्दाहेर्दै खाना पकाउन नबिर्सनु नि,’ सरस्वती सारी मिलाउँदै भन्छिन् ।
‘हिजोआज खाना बनाउनु मात्र पर्छ, खाने कसैले होइन,’ भुवना दिक्क मान्दै भन्छे ।
‘के भन्छे यो ? कसले खाँदैन खाना ?’ सरस्वतीले हतारिँदै सोध्छिन् । ‘रोहितबाबुले घरमा खाना खानै छोड्नु भइसक्यो । अन्जु मैयाँ पनि धेरैजसो ‘बाहिरै खाएर आएको’ भन्नुहुन्छ,’ सहज स्वरमा भन्दछे भुवना ।
‘खान्छन् होलान् नि बाहिर होटलतिर साथीहरूसँग । त्यही भएर घरमा नखाएका । भुजा खान मन नभए अरू थोक पनि त छ नि फ्रिजभरि । हिजोआजका केटाकेटी यस्तै हुन्,’ भुवनाको कुरोलाई त्यतिबिधि गम्भीर रूपमा नलिएरै सरस्वती जवाफ दिन्छिन् ।
रोहित गएर ओछ्यानमा बस्छ अनि दिदी चाहिँको आँखामा सोझै आफ्नो आँखा गाडेर गम्भीर स्वरमा प्रश्न गर्छ– ‘के तिमीलाई हाम्रो मम्मी र केशव अङ्कलको विषयमा कसैले पनि कुरा सुनाउँदैनन् ?’
‘रोहितबाबुलाई के भएको छ कुन्नि ? स्कुलबाट चाँडै घर फर्किनुहुन्छ र केही पनि नखाई आफ्नो कोठाको दैलो लाएर एक्लै बस्नुहुन्छ । अन्जु मैयाँ पनि स्कुलबाट घर आउनासाथ लुगा फेरीवरी अमरलाई लिएर कता जानुहुन्छ कता ? कहिलेकाहीँ त आएर पर्खनुहुन्छ र धेरै बेरसम्म पर्खेर जानुहुन्छ । त्यो अमरे पनि हिजोआज निकै साँढे पल्टेको छ । जतिखेर पनि अन्जु मैयाँसँग गफ मात्रै गरेको गर्दै गर्छ । अन्जु मैयाँले त्यसलाई खानेकुरो, पैसा जे मागे पनि दिनुहुन्छ,’ भुवनाले एकै सासमा भएभरको पोल खोल्ने प्रयास गर्दछे ।
‘होइन, खान दे न त त्यसलाई, के भो त ? उसले खाना र पैसा माग्दा तँलाई केको डाह लाग्छ ? ठुलाबडाको घरमा काम गर्नेलाई दुई–चार पैसा बक्सिस दिनु कुनै अचम्मको कुरो होइन । ड्राइभर भए पनि केटोचाहिँ निकै मिजासिलो छ,’ सरस्वती भन्छिन् ।
‘अँ... हजुरको अघि पर्दा मात्रै त्यो मिजासिलो भइटोपल्छ नि, अरु बेला ता जहिले पनि फिलिमको कुरा मात्र गरिबस्छ... । अँ साँच्चै, त्यो मैयाँहरूलाई पढाउन आउने मास्टरसाप पनि मैयाँसँगै कस्तरी गफ छाँट्नुहुन्छ, पढाउनु ता परै जाओस्, जतिखेर पनि मैयाँलाई गीत मात्र सुनाइबस्नुहुन्छ । हुन पनि मास्टरसापको स्वर कति राम्रो छ भन्या... र ।’
‘भैगो–भैगो, धेरै गफ नछाँट् यहाँ बसेर । जा, बरु अमरलाई गाडी तयार राख्न भन् । म आउँदै छु,’ सरस्वती आफ्नो शरीरभरि मगमगाउँदो अत्तर छर्दै भुवनालाई अह्राउँछिन् ।
सरस्वती घरबाट बाहिर निस्कनासाथ अमरले दुवै हात जोरेर नमस्कार गर्छ र गाडीको दैलो खोलिदिन्छ । सरस्वती दम्भसाथ मुस्कुराउँदै गाडीभित्र पस्छिन् र सिटमा बस्छिन् । अमरले दैलो ढप्काउँछ र आफू ड्राइभरको सिटमा बसेर गाडी चलाउँछ ।
‘मलाई होटलमा छाडेपछि तिमी घर फर्के हुन्छ । पार्टी कतिबेला सिद्धिन्छ थाहा छैन । गाडी चाहिएमा म तिमीलाई फोन गरेर बोलाउँला,’ आफ्नो गन्तव्य स्थानमा पुगेपछि गाडीबाट ओर्लंदै भन्छिन् सरस्वती ।
‘भरे त अन्जु मैयाँले साथीको बर्थ डे पार्टीमा जानुपर्छ भन्दै हुनुहुन्थ्यो,’ अमर बिस्तारै बोल्छ ।
‘ए... मलाई त थाहै थिएन । भैगो, म अरू नै कुनै व्यवस्था गरेर आउँला । तिमीले अन्जु मैयाँलाई त्यहाँ उसको साथीकहाँ पुर्याउनु र उसलाई त्यहीँ कुरेर बस्नू । पछि आफूसँगै घर लिएर आउनु,’ सरस्वती अमरलाई अह्राउँछिन् । ‘हवस्’ सरस्वतीलाई नमस्कार गर्दै अमर भन्छ ।
बेलुका अन्जु स्कुलबाट घर फर्कनासाथ भुवनाले अन्जुसँग भन्छे, ‘हेर्नोस् न मैयाँ, हिजोआज रोहितबाबुलाई के भएको छ कुन्नि, स्कुलबाट चाँडै नै घर फर्कनुहुन्छ र कोठामा गएर दैलो थुनेर बस्नुहुन्छ । बोल्न, टिभी हेर्न सबै छाडिसक्नुभएको छ ।’
मलाई पनि साथीहरू मम्मी र केशव अङ्कलको विषयमा त्यस्तै नराम्रा कुराहरू सुनाउँछन्, छेड हानेर बोल्छन् र हाँस्छन् । मैले कतिपटक मम्मीलाई पनि भनेँ, तर मम्मीले वास्तै गर्नुहुन्न । मेरो कुरालाई त्यसै हावामा उडाइदिनुहुन्छ ।
‘मेरो भाइलाई के भएछ त ? ल, म आफैँ गएर बोलाएर ल्याउँछु । तिमी खाजा तयार पार त...’ भन्दै अन्जु सरासर भाइको कोठातिर लाग्छे ।
‘रोहित, ए रोहित, खोल् त ढोका । मैले तँसँग एउटा कुरो गर्नु छ अन्जु रोहितको कोठाको दैलो ढकढकाउँदै जोडसँग भन्छे ।
‘मलाई नबोलाओ कसैले पनि, म कसैसँग पनि कुरा गर्दिनँ,’ कोठाभित्रबाट बोल्छ रोहित ।
‘खोल न, एकछिन त खोल ढोका । मलाई एकदमै जरुरी कुरा गर्नु छ के तँसँग, खोल् त ढोका,’ अन्जु ढिपी गर्छे ।
एकछिनपछि रोहितले ढोका खोलिदिन्छ । ‘ओहो ! कोठामा एक्लै तँ के गरेर बसिराखेको ? स्कुलबाट किन चाँडो आएको ? हेर् त आँखा पनि कस्तो रातो भएको छ, सन्चो छैन कि क्या हो तैलाई ?’ भन्दै अन्जु रोहितको निधारमा आफ्नो हात राख्न खोज्दछे ।
‘छोड् न मलाई, मलाई केही पनि भएको छैन,’ एक्कासि तर्सेझैँ गरेर अन्जुदेखि पर हुँदै भन्छ रोहित ।
‘मैले के गरेँ र यसरी रिसाएको मसँग भन् त ?’ अनाहकमा आफूसँग भाइ रिसाएर झोँक्किएको देखेर विस्मित हुँदै भन्छे अन्जु ।
‘म सालेहरूलाई छुरी हानेर मारिदिन्छु ! सबैलाई खत्तम गरिदिन्छु ! एकाएक रिसले दाँत किटकिट गर्दै भन्छ रोहित ।
‘कसलाई छुरी हान्ने ? कोसँग झगडा गरिस् भन् त ? तँलाई कोसँग रिस उठेको छ भन् त ?’ अन्जुले एकैपटक अनेकौँ प्रश्न तेस्र्याइदिन्छे रोहितका अघि । रोहित गएर ओछ्यानमा बस्छ अनि दिदी चाहिँको आँखामा सोझै आफ्नो आँखा गाडेर गम्भीर स्वरमा प्रश्न गर्छ– ‘के तिमीलाई हाम्रो मम्मी र केशव अङ्कलको विषयमा कसैले पनि कुरा सुनाउँदैनन् ?’
रोहितको प्रश्न सुनेर अनायास अन्जुको अनुहारमा विषादका रेखा देखा पर्छन् । ऊ केही बेरसम्म भाइको अनुहारमा एकटक हेरिरहन्छे, त्यसपछि केही नबोली आफ्नो मुन्टो मात्र निहुर्याउँछे ।
‘आज पनि महेश र राजनले मम्मी र केशव अङ्कलको विषयमा नराम्रो–नराम्रो कुरो सुनाए । मैले सालेहरूलाई बेस्सरी पिटिदिएँ, रोहितले रोष भरिएको स्वरमा भन्यो ।
‘अनि, अनि उनीहरूले तँलाई कुटेनन् त ?’ टाउको उठाएर भाइतिर हेर्दै अन्जुले प्रश्न गरी ।
‘पिट्न लागेका थिए । त्यही बेलामा घन्टी लाग्यो । म क्लासमा जाँदै गइनँ । अब जान्नँ म स्कुल पनि,’ रोहितले आक्रोशित स्वरमा भन्यो । अन्जु केहीबेरसम्म चुप लागेर बसिरही, त्यसपछि भाइको कुममा हात राखेर सुस्त भनी– ‘मलाई पनि साथीहरू मम्मी र केशव अङ्कलको विषयमा त्यस्तै नराम्रा कुराहरू सुनाउँछन्, छेड हानेर बोल्छन् र हाँस्छन् । मैले कतिपटक मम्मीलाई पनि भनेँ, तर मम्मीले वास्तै गर्नुहुन्न । मेरो कुरालाई त्यसै हावामा उडाइदिनुहुन्छ । मलाई त हिजोआज मम्मीसँग कुरा गर्न पनि मन लाग्दैन । बुबालाई पनि कति पैसा चाहिएको हो कुन्नि ? विदेशबाट घर फर्कनै खोज्नुहुन्न । यहाँ बसेर यी सब कुराहरू सुन्नुभन्दा ता बरु हामीलाई उहीँ होस्टलमै बस्न दिएको भए राम्रो हुने थियो । त्यहाँ त कसैले पनि हाम्रो मम्मीको विषयमा कुरा गर्ने मौका पाउँदैनथे नि... ।’ अन्जु पनि आँखाभरि आँसु पारेर भन्छे ।
बेलुका ट्युसन पढाउने सरले रोहितको गृहकार्यको कापी हेरेपछि ‘रोहित, तिमीलाई के भएको छ ? एउटा प्रश्नको उत्तर पनि ठीकसँग लेखेका छैनौ । यस्तै छाँट हो भने त परीक्षामा पास गर्न गाह्रै पर्ला’ भनी सम्झाए ।
त्यो रात करिब आठ बजेतिर निकै सिँगारपटार गरेर अन्जु घरबाट बाहिर निस्किई ।
सरस्वती पार्टीबाट घर फर्कंदा रातिको ११ बज्न लागेको थियो । भुवनाले नै सदाको झैँ दैलो खोलिदिएकी थिई । आज पनि बेस्करी पिएर आउनुभएको छ डगमगाउँदो पाइला चाल्दै आफ्नो कोठातिर जाँदै गरेकी सरस्वतीतिर हेर्दै । सोचेकी थिई भुवनाले ।
अर्को दिन बिहान करिब साढे दश बजेतिर मात्र ब्युँझिएकी थिइन् सरस्वती । आँखा खुल्नासाथ उनले भुवनालाई डाकेर चिया ल्याउने आदेश दिएकी थिइन् ।
‘गए केटाकेटीहरू स्कुल ? ओछ्यानमा बसेर चियाको चुस्की लिँदै सोधेकी थिइन् सरस्वतीले भुवनासँग ।
‘जान त जानुभयो तर खोइ, आज पनि रोहितबाबु बीचैमा पढाइ नसकिँदै घर फर्किनुहुने पो हो कि ...? हिजोआज राम्ररी खानपिन पनि गर्नुहुन्न । जतिखेर पनि आँखा राता हुन्छन् । कोठामा एक्लै बस्न रुचाउनुहुन्छ । अन्जु मैयाँले पनि बाबुको अवस्था देखेर साह्रै पीर गर्नुहुन्छ,’ भुवना आफ्नो मनमा लागेको पीर व्यक्त गर्दछे । ‘यी केटाकेटीले मलाई वाक्क पारिसके । यिनीहरूको निम्ति मैले पानीझैँ पैसा खर्च गरेकी छु । जे भन्यो त्यही पुर्याइदिएकी छु र पनि यिनीहरूले मलाई शान्तिसाथ दिन बिताउन दिन्नन् । मैले त त्यही होस्टलमै सुखका राख्न खोजेकी थिएँ । बाबुचाहिँलाई के हुन्छ कुन्नि ? छोराछोरीलाई होस्टलमा नराख्नू घरमै राख्नू भनेर फोन गर्छन् । मलाई भने यिनीहरूले गर्दा रातदिनको पिरलो छ । यस्तै छाँट हो भने त खोइ कसरी बन्लान् र डाक्टर इन्जिनियर... ? सरस्वती विरक्तिएको स्वरमा आफ्नो मनको आक्रोश पोख्छिन् ।
त्यस घरमा प्रत्येक प्राणीको जीवनपद्धति एकअर्कादेखि एकदमै पृथक् रूपमा चलिरहेको हुन्छ ।
अठ्चालीस वर्षकी सरस्वती प्रायः ब्युटीपार्लर, पार्टी र पिकनिकमा व्यस्त भई समयको हत्केलाबाट चिप्लिँदै रहेको आफ्नो यौवन र सौन्दर्यलाई जोगाउनमै व्यस्त रहन्छिन् । छोराछोरीका निम्ति समय दिन नसकेको भए तापनि उनीहरूका निम्ति चाहिएको भन्दा बढी भौतिक साधन जुटाइदिनमा भने उनी पूर्ण सफल भएकी थिइन् ।
तेह्र वर्षीय रोहित मातापिताको स्नेह, वात्सल्य र उचित मार्गदर्शनबाट वञ्चित भएको हुनाले कुबाटोमा लागिसकेको हुन्छ । उसका साथीहरू प्रायः उसकी मम्मीको चालचलनबारे छेड हानेर बोल्न थालेका थिए । उनीहरूको कटुवचन, व्यङ्ग्य, अश्लील परिहास र लाञ्छनाबाट मर्माहत भएर रोहितले बिस्तारैबिस्तारै नशालु पदार्थ सेवन गर्न थालिसकेको थियो ।
रोहितकी पन्ध्र वर्षीया दिदी अन्जु पनि उचित संरक्षण र मार्गदर्शनको अभावमा दिनप्रतिदिन उन्मुक्त प्रवृत्तिकी हुँदै गइरहेकी थिई । उसले आफ्नो सारा समय फिल्म हेर्नु, सस्तो खालको फिल्मी पत्रपत्रिका पढ्नु, केटाहरूसँग गफिन सिँगारपटार गर्नु र दिनदिनै साथीहरूको घरघर डुल्नुमा बिताउन थालेकी थिई ।
त्यस घरकी मूली सरस्वतीको पति तीर्थराजचाहिँ धेरैभन्दा धेरै धन कमाउनका निम्ति विदेशमा बसेको बस भइसकेको थियो ।
भुवना त्यस घरमा घरधन्दा गर्ने एउटी साधारण नारी थिई जसको आफ्नो छुट्टै जीवनकथा थियो । उसको जीवनकथा यस घरको कुनै पनि प्राणीसँग मेल खाँदैनथ्यो । ऊ प्रत्यक्ष रूपमा यस घरको बरबादीको साक्षी थिई । उसको अन्तरात्माले भविष्यमा त्यस घरको कुनै पनि प्राणीको जीवनमा घट्न सक्ने दुर्घटनाको पूर्वाभास पाउन थालेको थियो तर विवश ऊ चाहेर पनि केही गर्न सक्दिनथी । दरिद्र्रताको साङ्लोमा जकडिएको भावनालाई चाहेर पनि व्यक्त गर्ने सामर्थ्य उसमा थिएन ।
त्यस घरमा वास गर्ने प्राणीहरूको जीवनक्रम सायद अझ कति वर्षसम्म त्यसरी नै व्यतीत हुन्थ्यो होला, यदि त्यो भयावह दुर्घटना नघटेको भए ।
एक दिन भुवनाले अन्जुलाई उसको आफ्नै कोठामा अर्धबेहोसी अवस्थामा फेला पारेकी थिई । त्यस बेला घरमा अरू कोही पनि नभएको हुनाले ऊ छरछिमेकीसँग गुहार माग्न बाध्य भएकी थिई । तिनै छरछिमेकीमध्ये कसैले त्यस भयावह परिस्थितिबारे प्रहरीलाई सूचित गरिदिएको हुनाले केही बेरमै प्रहरी पनि त्यहीँ आइपुगेका थिए ।
प्रहरीले सबैसँग बयान पनि लिएको थियो । भुवनाले यसरी बयान दिएकी थिई—आज बिहानैदेखि अन्जु मैया आफ्नो कोठामा बसी निकै ठुलो आवाज गरेर क्यासेट बजाइरहनुभएको थियो। म खाजा तयार पारेपछि दुईतीन पटकसम्म मैयाँलाई बोलाउन आएँ, तर उहाँको कोठाको दैलो बन्द थियो । मैले उहाँलाई ठुलो स्वर निकालेर बोलाएँ र केही सीप नलागेपछि जोडजोडसँग ढोका ढकढकाएँ अनि बल्ल मैयाँले केही बेरका लागि क्यासेट बन्द गर्नुभयो । तर ढोका नखोलीकनै भित्रबाट चिच्याएर भन्नुभयो– ‘मलाई डिस्टर्व नगर; म केही पनि खान्न । जाऊ, तिमी आफ्नो काम गर ।’ म चुप लागेर फर्कें ।
‘मैयाँले फेरि ठुलो आवाज गरेर क्यासेट बजाउन थाल्नुभयो । मालिक्नी घरमा नभएको चार दिन भइसकेको थियो । रोहितबाबु पनि दुई दिनदेखि घर आउनुभएको थिएन । बिहान साढे दश बजेसम्ममा मैले घरधन्दा सिध्याइसकेकी थिएँ । खाजा तयार पारेपछि म मैयाँलाई बोलाउन आएँ । ढोका अझै पनि बन्द थियो । भित्र क्यासेट बजिरहेको थियो । ढोका ढकढक्याउँदै मैले अन्जु मैयाँलाई बोलाएँ । मलाई कताकता मैयाँले ‘ऐऽऽया, ऐऽऽया’ भनेजस्तो लाग्यो तर क्यासेटको चर्को आवाजले गर्दा ‘हो’ वा ‘होइन’ जस्तो भयो । केही बेरपछि क्यासेट बज्न बन्द भयो । अब भने मैले मैयाँले ‘ऐऽऽया, ऐऽऽया भनेको टड्कारै सुनेँ ।
‘म साह्रै नै आत्तिएकी थिएँ । त्यसै कारण दौडँदै बाहिर गएँ र अमर बस्ने गरेको कोठामा गई उसलाई बोलाएर ल्याएँ । उसले पनि अन्जु मैयाँको स्वर सुन्यो र अन्जु मैयाँलाई बोलायो, तर उहाँले दैलो खोल्दै खोल्नुभएन । अन्त्यमा केही सीप नलागेपछि अमरले दैलोमा लात्ताले हान्यो । तीन–चारपटक दैलोमा लात्ताले हान्नासाथ दैलो उघ्रियो । कोठाभित्रको अवस्था देख्नासाथ मलाई भाउन्न छुटेर आयो । भुइँमा ओछ्याइएको गलैँचामा अन्जु मैयाँ उत्तानो परेर लड्नुभएको थियो । उहाँले लाएको लुगा र उहाँको वरपर जताततै आलो रगतको टाटो देखिन्थ्यो ।
‘अन्जु मैयाँको गोडानेर आलो रगत जमेको थियो र त्यहीँनेर झन्डै तीन–चार महिना गर्भमा रहेर तुहेको बच्चो पनि थियो । मैले आत्तिएर मैयाँलाई बोलाएँ, तर मैयाँ साहेब बेहोस हुनुहुन्थ्यो । केही सुर नपाएर मैले अमरलाई डाकेँ । तर अमर कति बेला त्यहाँबाट गइसकेछ, मलाई थाहै भएन । म आत्तिएँ र उसको कोठामा गएँ, तर ऊ त्यहाँ पनि थिएन । अन्त्यमा मैले छरछिमेकलाई गुहारेँ...’ यति भनेर भुवना आँसु पुछ्न थाली ।
त्यसपछि अन्जुलाई बेहोस अवस्थामा अस्पताल पुर्याइएको थियो । अधिक रक्तस्रावको कारणले गर्दा ऊ अति दुर्बल भएकी थिई । अन्जुले आफ्नो गर्भमा रहेको बच्चाको हत्या गर्ने प्रयास गरेकी थिई ।
‘तिमीले यति सानो उमेरमा यस प्रकारको जघन्य अपराध किन गयौ नानी ?’ होस आउनासाथ प्रहरी अधिकृतले प्रश्न गयो, तर अन्जुले प्रश्न सुनेको नसुनेझैँ गरेर टार्न खोजी । जब उसलाई बारम्बार त्यही प्रश्न गरियो, तब उसले सोझै प्रहरी अधिकृतको आँखामा आफ्नो आँखा गाडेर गम्भीर स्वरमा भनी, ‘यस प्रश्नको उत्तर मेरा मातापितालाई थाहा छ, उनीहरूलाई सोध्नुहोस् ।’
आज अन्जु कारागारको साँघुरो, चिसो र अँध्यारो कोठाभित्र आफ्नो जीवनका अमूल्य दिनहरू बिताइरहेकी छ । ऊ उसका मातापिता, नातेदार अथवा साथीसङ्गी कसैसँग पनि भेट गर्न चाहन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत