र्यापको रसमा रमाउँदै जेन–जी

समाचार सारांश
- युवा पुस्ता (जेन-जी) मा र्याप संगीत, कमेडी, र फिल्म प्रति बढ्दो आकर्षण रहेको छ।
- र्यापर साइकोको 'प्रगति २' गीत जेन-जी पुस्तामाझ लोकप्रिय छ, जसले जीवनका समस्या र समाधान प्रस्तुत गर्छ।
- युवा पुस्ताले कमेडीमा रोस्टिङ र सटायर, र फिल्ममा एक्सन, थ्रिलर, र सामाजिक कथा रुचाउँछन्।
‘कुनै दिन म जीवनदेखि हारेँ भने र्यापर साइकोको युट्युबमा गएर प्रगति २ सुन्छु,’ सुर्खेतका अशेष कँडेलले सुनाए, ‘प्रगति २ ले मेरो कथा बोल्छ । जेन–जी पुस्ताले भोगिरहेका समस्या र त्यसको समाधान पनि दिन्छ ।’ र्याप गीत भनेपछि हुरुक्कै हुने उनी र्यापर साइकोको यस गीतले जीवनमा अघि बढ्ने आँट भरेको बताउँछन् ।
अशेषको कथा यतिमै सकिँदैन । पहिलोचोटि ‘प्रगति २’ सुन्दा मुटु नै चिरिएको अनुभूति उनले सुनाए । कसैले आत्महत्या गर्दै छ भने यो र्याप सुन्दा फर्केर आउने सक्ने उनी विश्वास गर्छन् । ‘यसले समस्याको समाधानसँगै जीवनमा बाँच्ने हौसला पनि दिन्छ,’ उनी भन्छन् । उनकै कुरामा सहमत छन्, मदन भण्डारी कलेजमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मुकेशप्रसाद जोशी । २३ वर्षीय मुकेशलाई सबैभन्दा मन परेकै र्याप ‘प्रगति २’ हो ।
महेन्द्रनगर स्थायी घर भएका मुकेशलाई र्यापका शब्दले बढी छुन्छन् । यम बुद्धका फ्यान उनी बाँकी र्यापरहरूको हकमा भने शब्द हेरेर सुन्न रुचाउँछन् । ‘जीवन भोगाइ, एक्लोपन, संघर्षलाई आफ्नो पीडा जसरी अभिव्यक्त गर्छन्, त्यो कुराले मन छुन्छ,’ उनी भन्छन्, ‘सुत्ने बेला म यो गीत सुन्छु । यसले हाम्रो पुस्ताको भावना र भाषाको प्रतिनिधित्व गर्छ ।’ मुकेशका अनुसार चुनौतीहरु नै सिर्जनाका माध्यम हुन् । पीडालाई जीवन्त राख्न र्यापरहरूले सिर्जना गर्छन् । मिडियामा र्यापरहरूले त्यति स्थान नपाएकामा उनको दुखेसो छ ।
धादिङका रूपक थापा अहिलेका धेरै र्यापरमध्ये एक नम्बरमा छान्नुपर्दा साइकोलाई नै रोज्छन् । र्यापका पारखी उनी भन्छन्, ‘साइकोले यति मिठोसँग गाउँछन् कि मनै रुवाइदिन्छ ।’ युट्युबमा र्यापर साइकोलाई तीन लाख ३५ हजारले सब्सक्राइब गरेका छन् । ‘प्रगति २’ लाई सोमबार साँझसम्म युट्युबमा ५७ लाख, ६४ हजारभन्दा बढी पटक हेरिएको छ । यस र्यापमा ३५ सयभन्दा बढी कमेन्ट छन् । अधिकांश कमेन्टमा लेखिएको छ, ‘गीतको एक–एक शब्द मलाई राम्रो लाग्छ, मेरै लागि लेखिएजस्तो लाग्छ । जब एक्लोपन महसुस हुन्छ, म यो गीत सुन्छु ।’
कमेन्ट गर्नेमा पनि जेन–जी पुस्ता नै अगाडि छ । आखिर र्यापले किन लट्ठिए जेन–जी पुस्ता ? २२ वर्षकै कलिलो उमेरमा राजधानीको एक रेस्टुराँमा म्यानेजरका रूपमा कार्यरत रूपक भन्छन्, ‘र्यापमा जेनजी पुस्ताले बुझ्ने भाषा र प्रस्तुति हुन्छ ।’
धादिङका रूपकको भनाइमा सहमति जनाउँछन्, र्यापर गिरीश खतिवडा । उनको यो र्याप सुनौँ ।
नोट दिन्छु तिमीलाई कोट दिन्छु
यसको सट्टामा मलाई भोट देऊ
मेरो पार्टी हो एक्स, मेरो चुनाव चिह्न एक्स
एक्काइसौँ शताब्दीमा स्वागत छ
यो तनमा पुर्खाको त्यो रगत छ
आफ्नो खुट्टामा आफैँ उभिने तागत छ
आफ्नो जगत्को रक्षा गर्ने चाहत छ
हामीलाई चाहिँदैन झुटो आश्वासन
तेरो त्यो नोट, कोट, घर, कार अनि रासन
तेरो त्यो क्यास चेक नेम फेम अनि फ्याक्स
सबैको स्रोत हाम्रो मन्थ्ली इन्कम ट्याक्स ।
अहिलेको राजनीति र नेताहरूप्रति व्यंग्य गर्न योभन्दा बढी के चाहियो ? चुलिँदो असन्तुष्टि, आक्रोश, गुनासो पोख्न र्यापर माहिर छन् ।
लाहुरेकै यो र्यापले पनि त्यो देखाउँछ ।
किन चुप नेपाली, खोज जोरी दाह्रा किटी
तेरो हक मुन्ट्याइसक्यो, घुसखोरी राजनीति
तीन करोड छन् भोको पेट, त्यसको बाउलाई बास्मती
तेरै आन्दोलनमा सुक्यो, बाँकी भुको सास जति
कति भर्छस् खल्ती, बेची आँगन घरको
काम गर्न मान्छस् झर्को, भाषण भने सधैँ चर्को ।
र्यापरहरूको प्रस्तुति, प्रयोग गर्ने भाषा शैली र शब्द जेन–जीको मुख मुखमा झुन्डिएको छ । मन–मनमा बसेको छ, त्यसैले त नयाँ पुस्ता र्यापको नशामा छ ।
संगीतको यो विधाले मन जितेको छ । र्यापलाई बोलीचालीमा ‘रिदम एन्ड पोयट्री’का रूपमा चर्चा गरिन्छ । र्यापर गिरीश खतिवडाका अनुसार यो बिट र रिदममा कविता भन्ने विधा हो । आफूलाई लागेका कुरा पोख्न पाउँदा मन हलुको हुन्छ । ‘मन लागेका कुरा अभिव्यक्त गर्न पाउने सजिलो, छरितो माध्यम नै र्याप हो,’ उनी भन्छन् ।
जेन–जी पुस्तामा र्यापप्रति बढ्दो आकर्षणले सङ्गीतमा यसले छुटै स्थान बनाउन सफल भएको र यो पुस्ताले र्यापलाई अन्तर्राष्ट्रियकरण गरेको र्यापर मानस घले बताउँछन् । ‘रहरै रहरमा सुरु गरेको र्याप अहिले पेसा बनिसक्यो’, उनी भन्छन्, ‘र्याप गायनबाटै जीवन चलाउन सकिन्छ ।’
र्यापरहरू नेपालमा मात्र होइन, विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । विदेशमा आयोजना हुने कार्यक्रममा र्यापरलाई भ्याइनभ्याई छ । हाल भिटेन अमेरिकामा छन् भने सुनामी अस्ट्रेलियामा ।
र्यापर खतिवडाको नजरमा र्याप एउटा थेरापीजस्तै हो, मनको कुरा पोख्न सजिलो माध्यम पनि हो । गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाउने माध्यम पनि र्याप नै हो । ‘म सहरमा बस्न थालेपछि गाउँलाई र्यापमार्फत चिन्न थालेँ,’ उनले भने ।
जेन–जी पुस्तामा र्यापप्रति बढ्दो आकर्षणले सङ्गीतमा यसले छुटै स्थान बनाउन सफल भएको र यो पुस्ताले र्यापलाई अन्तर्राष्ट्रियकरण गरेको र्यापर मानस घले बताउँछन् । ‘रहरै रहरमा सुरु गरेको र्याप अहिले पेसा बनिसक्यो’, उनी भन्छन्, ‘र्याप गायनबाटै जीवन चलाउन सकिन्छ ।’
र्यापको लोकप्रियता कति बढ्दो छ भन्ने नेपाली हिपहप तथा र्याप गायन प्रतिस्पर्धा एएनटीएफबाटै थाहा हुन्छ । युट्युबमा जब एएनटीएफको च्यानलमा भिडिओ अपलोड हुन्छ, तब छोटो समयमै लाखौँ भ्युज कट्छ । पहिलो सिजनमा अका फायर, सन्दीप जेम्स, जी–बब, माइला, सिरुपाते, कोइन जी जस्ता र्यापरले प्रशस्त चर्चा बटुले । दुई लाख रुपैयाँ पुरस्कार राशि राखिएको एएनटीएफको प्रतिस्पर्धामा उत्रिनेहरूको लामै लाइन हुन्छ ।
‘जेन–जी पुस्ता र्यापमा किन यति लट्ठ ?’ प्रश्नको जवाफमा र्यापर योङ वेभ भन्छन्, ‘पहिला—पहिला मानिसहरू दोहोरी सुन्थे, अहिले जेनेरेसनको र्यापको छ ।’ भर्खरै दुबईमा कन्सर्टबाट फर्किएका योङ वेभले ६ महिनाअगाडि निकालेको ताकिया र्यापलाई १८ लाखभन्दा बढी भ्युज पाएको छ ।
र्यापर योङ वेभ र्यापलाई फ्रिडम अफ एक्सप्रेसन (अभिव्यक्ति स्वतन्त्रता) र जीवनशैलीसँग पनि जोड्छन् । उनी थप्छन्, ‘र्यापमा आफूलाई मन लागेका कुरा सजिलो गरी पोख्न पाइन्छ । निर्धक्कसँग चित्त नबुझेका विषय पनि उठाउन पाइन्छ ।’ र्यापमा कुनै बन्देज नहुने भएको कारण ‘जेनजी पुस्ता’ले मन पराएको उनको तर्क गर्छन् ।
जेन–जी धेरै र्यापमा झुमे पनि उनीहरूले केही र्याप बाहिरको गीत–संगीतमा पनि रमाएको देख्न सकिन्छ । पछिल्लो समय बजारमा आएका दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’, शान्तीश्री परियारको ‘म त ढलेँ–ढलेँ’, गायक कुमा सागरको ‘हावाको लहरसँगै’, विशाल सोनीको ‘मकैबारी दर्याम दर्याम’ गीत पनि जेन–जी पुस्ताकै कारण हिट भएको मानिन्छ ।
- कमेडीमा रोस्टिङ
गीत–संगीतमा र्यापप्रति रुचि भएको जेन–जी पुस्ताले कमेडीमा रोस्टिङ र सटायर मन पराएको देखिन्छ । त्यसैले पछिल्लो समय कमेडीमा रोस्टिङ, व्यङ्ग्य र प्रत्यक्ष चोट पुर्याउने छोटा कन्टेन्टका कमेडी बढी चल्न थालेका छन् । पछिल्लो समय चर्चामा रहेका नेपालका कमेडी कार्यक्रम ‘कमेडी दरबार’ र ‘कमेडी क्लब विथ च्याम्पियन्स’ लोकप्रिय हुनुको कारण पनि यही हो । यी कार्यक्रमले युट्युबमा आएको २४ घण्टा नबित्दै ४–५ लाख भ्युज पाउने गरेका छन् । कतिपय शृङ्खलाले त युट्युबको ट्रेन्डिङ समेत कब्जा गर्ने गरेका छन् ।
मोरङ घर भई पुल्चोक इन्जिनियरिङ कलेजमा पढ्ने असीम नेपालको रुचि पनि रोस्टिङ र छोटा कन्टेन्टको कमेडीमा छ । नेपालका ‘कमेडी दरबार’, ‘कमेडी क्लब विथ च्याम्पियन्स’ र भारतीय ‘द कपिल शर्मा सो’ आफूले नियमित हेर्दै आएको उनी बताउँछन् ।
‘मलाई भरतमणि पौडेल, लेखमणि त्रितालहरूको स्ट्यान्ड–अप कमेडी राम्रो लाग्छ, उहाँहरू छोटो तर दर्बिलो व्यङ्ग्य गर्नुहुन्छ,’ नेपालले थपे, ‘उहाँहरूको कन्टेन्टले सिधै मन छुन्छ ।’ आफ्नो रुचि साइलेन्ट र स्लो कमेडीमा पनि रहेको उनले सुनाए ।
असीमको विचारसँग शतप्रतिशत सहमति जनाउँछन्, युवा पुस्ताका कमेडियन सुन्दर खनाल । अहिले जेन–जी पुस्ताले रुचाउने कमेडी रोस्टिङ नै भएको उनी बताउँछन् । अहिले जेन–जीले जस्तो रुचाउँछन्, त्यस्तै कमेडी चल्ने गरेको उनको धारणा छ ।
‘रोस्टिङका अलाबा द्विअर्थी र प्रत्यक्ष शैलीको व्यङ्ग्य पनि जेन–जीको रुचिमा पर्छ,’ खनालले भने, ‘ठुलो समूहलाई भन्दा पनि स–साना विषयलाई टिपेर बनाइएका कमेडी कन्टेन्टहरू बढी लोकप्रिय भइरहेका छन् ।’ कतिपय जेन–जीले सटायर खालको स्ट्यान्ड–अप कमेडी समेत मन पराउने उनी धारणा राख्छन् ।
कमेडियन विकास अर्यालका अनुसार जेन–जी पुस्ता आफूसँग जोड्न मिल्ने कमेडी रुचाउँछन् । आफू पनि जेन–जी पुस्तामै पर्ने भएकाले विदेशका स्ट्यान्ड–अप कमेडी, कपिल शर्मा सो लगायत कार्यक्रम हेर्ने गरेको उनी सुनाउँछन् ।
‘अहिले नेपालमा भारतका जस्तै स्ट्यान्ड–अप कमेडीहरू चलिरहेका छन्,’ अर्यालले थपे, ‘कमेडी सुन्ने मात्र होइन, जेन–जीमा यस्ता कमेडी गर्ने अभिरुचि पनि देखिन्छ ।’ कमेडी सो ‘कमेडी दरबार’का लेखक समेत रहेका अर्याल टेलिभिजन सो सबैका लागि हुने भएकाले आफूले कन्टेन्ट बनाउँदा सबै पुस्तालाई मध्यनजर गर्ने गरेको बताए ।
हुन त पहिले कमेडीमा धेरैजसो राजनीतिक विषयवस्तु हुन्थे, तर अहिले त्यस्ता विषयवस्तु कम हुँदै गएका छन् । अहिले राजनीतिक होस् वा अन्य, स–साना विषयका कमेडी बढी चल्ने गरेको कमेडियन आदर्श मिश्र बताउँछन् । अहिले जेन–जी पुस्तामा ह्युमरको स्तर नै अलिकति उन्नत भएको धारणा राख्ने मिश्रका अनुसार उनीहरू छोटा तर हरेक पलमा हँसाउने कमेडी रुचाउँछन् ।
‘एआईजस्ता विषयमा जेन–जी अपडेट छन् । एआईको विषयमा जोक गर्यो भने त्यो रमाइलो मान्छन्,’ मिश्र थप्छन्, ‘जेन–जी बढी टिकटक कन्टेन्टमा रमाइरहेको देखिन्छ । कमेडीमा पनि त्यस्तै छोटा, छिटै भाइरल हुने कन्टेन्ट बढी रुचाउँछन् ।’ कमेडीमा आ–आफ्नो वर्ग, संगत र रहनसहनले पनि फरक पार्ने मिश्रको धारणा छ । उनी थप्छन्, ‘पछिल्लो समय जेनजीले अलि सटायर खालका कमेडी बढी रुचाएको देखिन्छ । छोटा क्लिपहरू र द्विअर्थी कुरा पनि मन पराउने गरिएको छ । पहिले समय लगाएर, धेरै भूमिका र सेटअप तयार पारेर अन्त्यमा एउटा जोक गर्ने चलन थियो । जेन–जी पुस्ता भने त्यो कुर्न सक्दैनन् । अहिले त एक मिनेटमै पाँच–सातवटा पञ्चलाइन चाहिने भइसक्यो ।’
- कस्तो फिल्म ?
जेन–जीको फिल्म रुचि कस्तो छ ? धेरैको अनुमान हुन्छ, प्रेमकथा र मनोरञ्जनले भरिपूर्ण फिल्म । यो पुस्ताको रुचि प्रेमकथामा मात्रै सीमित छैन एक्सन, क्राइम थ्रिलरदेखि गाउँघरको कथा र सामाजिक विषयवस्तुसम्म उनीहरूको रोजाइमा पर्ने गरेको छ । अचेल नेपाली फिल्मका कथाहरूमा गाउँघरको परिवेश र युवाका विषय समेटिनुको एउटा कारण यो पनि हो ।
चितवनका २२ वर्षीय अल्बर्ट ढकाल हाल पुल्चोक क्याम्पसको होस्टेलमा बसेर सिभिल इन्जिनियरिङको चौथो वर्षमा अध्ययनरत छन् । उनले पछिल्लो समय हेरेको नेपाली फिल्म निश्चल बस्नेत निर्देशित ‘दिमाग खराब’ हो, जुन उनलाई मन पर्यो । यद्यपि उनको रुचि विदेशी फिल्ममा बढी देखिन्छ । ‘म एक्सन र थ्रिलर फिल्म रुचाउँछु,’ उनले भने, ‘नेपालीभन्दा विदेशी एक्सन र थ्रिलर बढी हेर्छु ।’
दाङ, तुलसीपुरका आदर्श पौडेलको रोजाइमा क्राइम थ्रिलर, एक्सन र विज्ञान कथा (साइन्स फिक्सन) का फिल्म पर्छन् । नेपाली फिल्मको छायाङ्कन, सम्पादन लगायत प्राविधिक पाटोमा धेरै विकास भए पनि लेखन पक्ष कमजोर रहेको उनको बुझाइ छ ।
‘मैले पछिल्लो समय हेरेको फिल्म ‘मिसन इम्पोसिबल’ हो,’ उनी भन्छन्, ‘साइन्स फिक्सनमा पनि रुचि भएकाले विदेशी फिल्म नि हेर्छु ।’
जेन–जी पुस्ताकी अभिनेत्री सनिशा भट्टराईको रुचि लभ स्टोरी, इमोसनल र एक्सन फिल्ममा छ । एक्सन फिल्म ‘१२ गाउँ’बाट अभिनयमा डेब्यु गर्नुका कारण पनि यही रुचि भएको उनी बताउँछिन् । ‘विशेष गरी महिलाले नेतृत्व गरेको र महिलाको चरित्र बलियो भएको फिल्म मेरो रोजाइमा पर्छ,’ सनिशाले भनिन्, ‘हेर्नलाई एक्सन, प्रेमकथा र सामाजिक कथा पनि मन पर्छ ।’ युवा पुस्तालाई सामान्यतया प्रेमकथा मनपर्ने भए पनि आफूलाई पात्रसँग जोड्न सक्ने कथाले बढी छुने उनको भनाइ छ ।
गत वर्षको फागुनमा रिलिज ‘होस्टेल ३’ बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री सिम्रन पन्त भने कमेडी जनराका फिल्म बढी रुचाउँछिन् । युवा पुस्ताको विषयवस्तुमा बनेका फिल्ममा समेत रुचि राख्ने उनले केही दिनअघि मात्र फिल्म ‘ऊनको स्वेटर’ हेरेकी थिइन् । उनी नेपालका अलाबा बलिउड र हलिउडका फिल्म पनि हेर्छिन् ।
‘छक्का पञ्जा’ सिरिज र ‘पूर्णबहादुरको सारङ्गी’जस्ता फिल्म पनि मनपर्ने बताउने उनी नेपालमा युवापुस्तालाई लक्षित गरेर भर्खरै मात्र राम्रा फिल्म निर्माण हुन थालेको मान्छिन् ।
‘फ्यामिली ड्रामा र गाउँका कथा पनि युवाले रुचाउन थालेका छन्,’ उनी थप्छिन्, ‘गाउँ आएको बाटो, जारीजस्ता गाउँका कथा युवाले हेरेर हिट भएका हुन् ।
‘प्रेम गीत’ सिरिज लगायत फिल्म रुचाउने युवाले प्रेमकथालाई सधैँ मन पराएको अनुमान गर्न गाह्रो पर्दैन । समग्रमा हेर्दा, जेनजी पुस्ताको फिल्म रुचि कुनै एउटा विधामा मात्र सीमित छैन । कसैलाई विदेशी साइन्स फिक्सन र क्राइम थ्रिलरले तान्छ भने कसैलाई नेपाली परिवेशको कमेडी र सामाजिक कथाले छुन्छ । प्रेमकथा उनीहरूको सदाबहार रोजाइ हो भने पछिल्लो समय ‘जारी’, ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता फिल्मको सफलताले यो पुस्ता गाउँघरका मौलिक कथासँग पनि उत्तिकै जोडिएको प्रस्ट पार्छ । यसले नेपाली फिल्म निर्मातालाई पनि युवा दर्शकका लागि फराकिलो दायरामा कथा खोज्नुपर्ने संकेत दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचारः रातोपाटी १२ वसन्त पार, नेपालको शान्दार जित
-
विश्व कप लिग २ः नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
-
रातोपाटीको १२औँ वार्षिकोत्सव मनाइयो, तस्बिरहरू
-
म रातोपाटीको नियमित पाठक हुँ : प्रधानमन्त्री
-
रातोपाटीले नेपाली समाजको यथार्थलाई तथ्यपरक ढङ्गले पस्किने काम गरेको छ : नारायणकाजी श्रेष्ठ
-
मिडिया आलोचनात्मक बनेन भने उसले आफ्नो धर्म निर्वाह गर्न सक्दैन: डा भट्टराई