शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय
बजेट विनियोजन

सुरुङमार्गलाई नाम मात्रको बजेट, कुनलाई कति ?

शुक्रबार, ३० जेठ २०८२, ०८ : १५
शुक्रबार, ३० जेठ २०८२

समाचार सारांश

  • आगामी आर्थिक वर्षमा सुरुङमार्ग, द्रुतमार्ग जस्ता पूर्वाधार निर्माणमा जोड दिने नीति सरकारको छ, तर बजेट कटौती भएको छ।
  • नागढुंगा सुरुङमार्ग र अन्य विभिन्न निर्माणाधीन तथा अध्ययनका क्रममा रहेका सुरुङमार्गहरूको बजेट विनियोजन गरिएको छ।
  • सडक विभागले १५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ र केहीको अध्ययन सम्पन्न भइसकेको छ।

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ मा सुरुङमार्ग, द्रुतमार्ग र ओभरपासजस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिने सरकारले नीति लिएको छ । तर सुरुङमार्ग निर्माणमा बजेट पर्याप्त बजेट परेको देखिँदैन । अर्थात् चालु आर्थिक वर्षको तुलनामा १७ प्रतिशतले बजेट घटेको छ । 

सरकारले आगामी आर्थिक वर्षका लागि सुरुङमार्ग विकास कार्यक्रमलाई ६९ करोड ५३ लाख रुपैयाँ बजेट विनियोजन गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ का लागि ८१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा १२ करोड ३३ लाख रुपैयाँ अर्थात् १७.७४ प्रतिशतले बजेट घटेको देखिन्छ । 

यस्तै नागढुंगा सुरुङमार्गलाई छुट्टै २ अर्ब ११ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । २०८१/८२ यो सुरुङमार्गलाई ४ अर्ब ५९ लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

मन्त्रालयले आगामी वर्षको वार्षिक कार्यक्रममार्फत सुरुङमार्ग विकास कार्यक्रमलाई उक्त बजेट विनियोजन गरेको उल्लेख गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आधुनिक र गुणस्तरीय पूर्वाधार निर्माण गरी मुलुकको आर्थिक सामाजिक विकासलाई तीव्रता दिइने, सुरक्षित र भरपर्दो आवागमनका लागि दिगो सडक सञ्जालको विस्तार गर्ने घोषणा गरेका थिए । 

यस्तै द्रुतमार्ग, अन्डरपास र ओभरपासजस्ता आधुनिक पूर्वाधारहरू निर्माणलाई तीव्रता दिइने घोषणा गरेका थिए । 

‘सडक पूर्वाधार निर्माण गर्दा सुरुङ प्रविधिको प्रयोग विस्तार गर्दै लगिनेछ,’ मन्त्री पौडेलले भनेका छन्, ‘वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ओभरपास र अण्डरपासजस्ता वन्यजन्तुमैत्री पूर्वाधार संरचना निर्माण गरिनेछ ।’

आगामी वर्षका लागि सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आयोजनाहरूलाई ६८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

यसैगरी आगामी वर्षमा नागढुङ्गा, सिद्धबाबा र काठमाडौँ–तराई मधेश द्रुत मार्गमा पर्ने तीन वटा सुरुङ मार्गको निर्माण सम्पन्न गर्ने घोषणा छ । 

यस्तै अध्ययन सम्पन्न भएका सुरुङमार्गहरू दुम्कीबास–बर्दघाट, खुर्कोट–चियाबारी, बबई–छिन्चु, मझिमटार–शक्तिखोर, हेम्जा–नयाँपुल, कुलेखानी–भिमफेदी र धरान–लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइने बजेटमा उल्लेख छ । 

यस्तै टोखा–छहरे, शिवपुर–भालुवाङ, रानीघाट–भुरिगाउँ, दोलालघाट–चर्नावती र हात्तिसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने पनि आगामी बजेटमा उल्लेख छ । तर अध्ययनका लागि पनि सरकारले विनियोजन बजेट पर्याप्त नभएको जानकारहरू बताउँछन् । 

कुन सुरुङमार्गलाई कति बजेट ? 

आगामी वर्षका लागि सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत आयोजनाहरूलाई ६८ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

टोखा छहरे– गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी सुरुङमार्ग ८ करोड ९९ लाख ८० हजार, विभिन्न प्रस्तावित सुरुङमार्ग सम्भाव्यता अध्ययनका लागि ४ लाख ५० हजार, दुम्कीबास बर्दघाट सुरुङका लागि १४ लाख ४० हजार रुपैयाँ बजे विनियोजन गरेको छ । 

हेम्जा नयाँपुल खण्ड सडक सुरुङमार्गका लागि १४ लाख ४० हजार रुपैयाँ, नयाँबानेश्वरमा अन्डरपास निर्माण विनियोजन गरेको छ । 

यस्तो छ आगामी वर्षको बजेटमा सुरुङमार्गलाई छुट्टाइएको बजेटः

फुस्रेखोला–छोरेपाटन(पोखरा) देखि स्याङ्जा गुडीकोला टनेल अध्ययनका लागि ११ लाख ७० हजार रुपैयाँ, सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म  सुरुङमार्ग अध्ययनका लागि १३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दै आएको छ । हाल १५  वटा सुरुङमार्ग अध्ययनका क्रममा रहेको केन्द्रले जनाएको छ  ।

दोलालघाट चर्नावती सुरुङमार्ग ४५ लाख, हात्तीसार बबई सुरुङमार्ग १८ लाख रुपैयाँ, खुर्कोट चियाबारी सुरुङमार्ग, शिवपुर भालुवंग सुरुङमार्ग र  रानी घाट –भुरी गाउँ सुरुङमार्गका लागि ९/९ लाख, सिद्धबाबा सुरुङलाई ४८ करोाड ५० लाख र ग्वार्को फ्लाईओभरका लागि ९ करोड ५२ लाख रुपैयाँ बजोट विनियोजन गरेको छ । 

१५  वटा सुरुङमार्ग अध्ययनका क्रममा 

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्दै आएको छ । हाल १५  वटा सुरुङमार्ग अध्ययनका क्रममा रहेको केन्द्रले जनाएको छ  । इन्जिनियर प्रदीप अधिकारीले १५ वटा सुरुङमार्ग अध्ययनका क्रममा दुई वटा निर्माणाधीन रहेको जानकारी दिए । 

‘अध्ययन भइरहेका सुरुङमार्गमध्ये केहीको सम्भाव्यता अध्ययन सकिएको छ, केही जारी छ,’ उनले बताए ।  

उनका अनुसार निर्माणाधीन अवस्थाका दुईमध्ये सिद्धबाबा सुरुङमार्ग निर्माणको क्रममा  छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले निर्माण गरिरहेको नागढुङ्गा सुरुङमार्ग पनि अन्तिम चरणमा पुगेको छ । यी दुवै सुरुङमार्ग चालु वर्षभित्रै निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । यस्तै काठमाडौँ तराई/मधेस फास्ट ट्र्याकमा पर्ने सुरुङमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ । 

इन्जिनियर अधिकारीका अनुसार केन्द्रले तीन सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन गरिरहेको छ । जसमा हेम्जा–नयाँपुल खण्ड सडक सुरुङमार्गको अध्ययन चलिरहेको छ । यो सुरुङमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनको मस्यौदा गरिएको छ । 

यसैगरी दुम्कीबास–बर्दघाट, फुस्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोलाको पनि अध्ययन भइरहेको छ । यी सुरुङमार्ग निर्माणमा आवश्यक लागत अपडेट हुने क्रममा रहेको इन्जिनियर अधिकारीको भनाइ छ ।

यस्तै १२ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । यिनको भने विस्तृत अध्ययन हुनै बाँकी छ । 

यस्ता योजनामध्ये सुनसरीको धरान–लेउती सुरुङमार्गको लम्बाइ ३.८७ किलोमिटर रहनेछ । अर्को, कैलाली र डोटीमा पर्ने खुटिया–बीपी नगर–दिपायल सुरुङमार्ग हो । यसको लम्बाइ ७.०१ किलोमिटर रहनेछ । यसैगरी गोदावरीकुण्ड–काभ्रे मानेदोभान सुरुङमार्गको ललितपुर र काभ्रेपलाञ्चोकमा सम्भाव्यता अध्ययन सकिएको छ । यसको लम्बाइ ३.६५ किलोमिटर रहनेछ । 

सम्भाव्यता अध्ययन सकिएको अर्को, बागलुङको व्युं–नरेठाटी (७.४४ किलोमिटर) सुरुङमार्ग हो । यस्तै पाल्पाको प्रबास–जोर्ते सडक सुरुङमार्ग (४ किलोमिटर) पनि छ । मकवानपुरको कुलेखानी–भीमफेदी (३.१५६ किलोमिटर), खुर्कोट–सिन्धुली (४.९० किलोमिटर), ताथली–रविओपी (४.५८ किलोमिटर), बबई–छिन्चु (५ किलोमिटर), सुनमाई–राजदुवाली (१२.३० किलोमिटर) र माझिम्तार–शक्तिखोर (१०.६० किलोमिटर) सुरुङमार्गका पनि सम्भाव्यता अध्ययन भइसकेको छ ।

रारा राजमार्गको कुशे पाटनअन्तर्गत जाजरकोट ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला सुरुङमार्ग (१०.०७ किलोमिटर)को पनि सम्भाव्यता अध्ययन सकिएको छ । यो सुरुङमार्गको डीपीआर तयार गर्ने कार्य भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप