आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
निबन्ध

बैजनी भुइँफूल र अपि हिमालको काख

शनिबार, ३१ जेठ २०८२, ११ : ४७
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • पत्रकारको नेतृत्वमा अपि हिमाल आधार शिविरको यात्रा गरिएको थियो, जहाँ साहित्यकार र पत्रकारहरूको टोली सहभागी थिए।
  • यात्राको क्रममा, सहभागीहरूले स्थानीय संस्कृति र यार्सागुम्बा संकलनको बारेमा जानकारी प्राप्त गरे, साथै धौली ओढारमा यार्सा खोज्नेहरूको जीवनशैलीको अनुभव गरे।
  • यात्राले अपि हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली, र पर्यटनको सम्भावनालाई उजागर गरेको छ।

यतिखेर मेरो स्मृतिमा एक यात्राको पाश्र्वकथा घुमिरहेछ । अनपेक्षित रूपमा पाएकी थिएँ एक फोन, त्यस दिन । अति रोमाञ्चक पदयात्राबारे पत्रकार अमृत भादगाउँलेले बताउँदै मेरो समयबारे सोधेका थिए । कल्पनासम्म नगरेको अपि हिमाल आधार शिविर ट्रेकबारे सुन्नेबित्तिकै मैले ‘हुन्छ’ भनिहालेँ । यात्रा गर्न रुचाउने मेरो मन फुरुङ्ग नहुने कुरै थिएन । नौ/दश दिनको समय माग गर्ने यात्रामा एक जागिरेले मिलाउनुपर्ने समयबारे एकपल पनि नसोची नै स्वीकृति जनाएँ । पछि पो झसङ्ग भएँ, क्याम्पसमा बुझ्दा मेरो सञ्चित बिदा मात्र ६ दिन बाँकी रहेछ । मन खिस्रिक्क भयो । जाने कि नजाने भन्ने दोधारमा केही दिन रन्थनिएँ र अन्त्यमा ‘परे इमर्जेन्सी बिदा नै लिन्छु बरु’ भन्दै अपि–यात्रामा जाने निर्णय गरेँ । 

यस ट्रेकबारे छलफल हुँदै गर्दा काठमाडौँ सहर बैजनी वसन्तले छपक्कै छोपिएको थियो । माहोल बिल्कुल आनन्दमय थियो । केही पल त लाग्थ्यो, मानौँ सहरको बैजनी रङ मतिरै सरेको छ । मन न हो ! याम्बु सहरका खासखास ठाउँ चक्कर लगाउँदै यस वर्षको वसन्ती यामलाई मनभरि सजाइसकेकी थिएँ । अब केवल दिन गन्ती हुँदै थियो दार्चुला यात्राको । मेरो मन भने अपि ट्रेकको खाका तयार हुँदै गर्दा नै उडी पुगिसकेथ्यो अपि नाम्पा हिमालतिर । अन्ततः ‘अपि काव्य यात्रा २०८२’ मा निस्कने दिन आयो । कवि अभय श्रेष्ठको संयोजकत्वमा १२ जना साहित्यकार/पत्रकारको जम्बो टोलीले जेठ १२ गते सबेरै काठमाडौँबाट धनगढीको जहाज समायौँ ।

  • धनगढीको जिपमा

उष्णता उक्लेको धनगढीमा हामीलाई कवि हेमन्त विवशको शीतल स्वागत प्राप्त भयो । कविसँग भेट नभएको पनि निकै भइसकेछ लगभग दुई वर्ष । यो भागदौडले भरिएको जिन्दगीमा आपसी भेटघाट पनि दुर्लभ भइदिन्छ । हामीले मिठाइसहित उनको न्यानो स्वागत पायौँ तर लगत्तै बिदा माग्यौँ । पुग्नुपर्ने गन्तव्य टाढा थियो । अब सुरु भयो, यात्रा अपि हिमाल आधार शिविरसम्मको । आइटिनरी अनुसार हामी पाँचौँ दिन अपिको आँगनमा पुग्नेछौँ । 

api (14)

कलिला चालक चौधरीले हामीलाई मकरीगाडसम्म पुर्‍याउने जिम्मा पाएका छन् । खबटे तर दह्रो देखिने चौधरी ज्यानले पक्का ठेगानमा पुर्‍याउँछ भन्ने विश्वास छ । भयो पनि त्यही । उमेरले कच्चाझैँ लागे पनि कामका भने बडा पक्का रहेछन् । आफ्ना प्यासेन्जरलाई मख्ख पार्न पनि सिपालु । उनले बाटोमा पर्ने महत्त्वपूर्ण ठाउँको दृश्यावलोकन गराउनुका साथै फोटो समेत खिचिदिए । हामीले केही भन्नैपरेन । उनैले उग्रतारा मन्दिरमा पुर्‍याए । आस्था एकातिर छ तर अर्कोतिर यस मन्दिरको कला र अवस्थित भूगोल वास्तवमै मनमोहक । हराभरा र अग्लो स्थानमा अवस्थित यस मन्दिर प्रसिद्ध आस्थाकेन्द्र रहेछ । मातालाई चढाउने सन्दर्भमा त्यहाँका पुजारीले भन्नुभएको कुरा मनमा बसेको छ— मातालाई त के चाहिन्छ र ! भक्तजनले गरेको भाकल पूरा भएपछि उनीहरू आफैँ मातालाई अनेकथोक चढाउन आउँछन् । 

प्रत्येक घुम्तीमा देखिने मन्दिर अगाडि पुग्दा टिङ्टिङ् घण्टी बज्छ । अचम्मलाग्दो । पछि पो थाहा पाइयो, उनले त स्टेरिङको मुनि एउटा सानो घण्टी झुन्ड्याएका रैछन् । मन्दिर देख्नासाथ बजाइहाल्ने रैछन् । गजबको आस्था उनको ।

आस्था नभए जीवन निकै गाह्रो हुन्थ्यो होला । मानिसले आस्थाकै फेरो समाई लामो यात्रा तय गरेका छन् । ऊ आफूलाई बलियो महसुस गर्न पनि देवी–देवताप्रति भरोसा राख्छ । मन्दिरभित्रका देवी एक शिला हुन् तर मानिसले जुगजुगदेखि गर्दै आएको उनीप्रतिको भरोसाको आयातन ठुलो छ । जसले सबैलाई कल्याण गरेकै भान हुन्छ, विश्वास न रहेछ ठुलो । 

रमाइलो र रोमाञ्चक छ जिप यात्रा । हामी ६ जनाका दरले दुईवटा जिपमा सवार छौँ । चौधरी भाइको कुराले घरीघरी त सिरिङ्ग पार्छ । कैयौँ दिन रातभर नुसुती पनि जिप चलाउँछन् रे । खतरनाक रहेको उनको काम गराई । स्वास्थ्यका हिसाबले हेर्दा पनि ठिक होइन नसुती काम गर्नु तर उनी उमेरदारी भएकाले आँट आएको होला । आज राति पनि नसुतेको बताउँछन् । मनमा चिसो पस्छ । धन्न यात्रा सकुशल अघि बढ्दै छ । रमाइलो कुरा, प्रत्येक घुम्तीमा देखिने मन्दिर अगाडि पुग्दा टिङ्टिङ् घण्टी बज्छ । अचम्मलाग्दो । पछि पो थाहा पाइयो, उनले त स्टेरिङको मुनि एउटा सानो घण्टी झुन्ड्याएका रैछन् । मन्दिर देख्नासाथ बजाइहाल्ने रैछन् । गजबको आस्था उनको । 

हरेक यात्राले अनेक जीवनसँग साक्षात्कार गराउँछ । चौधरी भाइको जोस, आस्था, जिम्मेवारी र युवा आकांक्षासँग चौध घण्टे जिप यात्राले नजिक बनायो । उनले हामीलाई धनगढीबाट गोकुलेश्वर हुँदै माकरीगाडसम्म पुर्‍याएर आफ्नो काम फत्ते गरे । यहाँबाट हाम्रो गाडीको यात्रा सकियो । अब भने दार्चुलाको उकालो, ओरालो पार गर्दै अपिको आँगनमा पुग्नु छ ।  

api (13)

  • ‘हजुर त ट्यालेन्ट’

‘हजुर त ट्यालेन्ट हो म्याडम’ । पसिना पोतिएको निधारलाई घामबाट जोगाउन दाहिने हातलाई पाली बनाई मुस्कानसहित उनले बोलेको यस वाक्यले मलाई तरङ्गित पार्‍यो । थकानले करप्प गाँजेको ज्यानमा उनको मुस्कानले केही स्फूर्ति भरिदिएझैँ भयो । उनीसँग देखभेट भएको अघिल्लो साँझ मात्र हो । मकरीगाड बजारबाट उत्तरपूर्वको पहाडमा पदयात्राका लागि निर्माण गरिएको चार हजार पाँच सय सिँढी पार गरी मकरीकोट हुँदै नौपाटा होमस्टेमा पुगेपछि भेटिएकी थिइन् छाया धामी, जसले ‘ट्यालेन्ट’ शब्दको प्रचलित अर्थसँग मेल नखाने परिस्थितिमा मलाई प्रशंसा गर्दै त्यस शब्द प्रयोग गरेकी थिइन् । 

हिँडाइका हिसाबले दोस्रो दिनमा उनी भेटिएकी हुन् । नौपाटा होमस्टेबाट सिती गाउँसम्मको यात्रा क्रममा हामी अघिपछि हुँदै हिँडेका थियौँ । उनले बोलेको वाक्यले मेरो दिमागमा भिन्न सलबलाहट पैदा गरिदियो । फरक भूगोल र परिस्थिति अनुरूप प्रयोग गर्न सकिने शब्दहरू शब्दकोशमा कैद सीमित शब्दावली र त्यसका अर्थले नधान्ने रैछ !  यति कुरो बुझ्न पनि मेरा लागि अपि हिमाल काव्य यात्रा र दार्चुलाकी चेली छायासँगको भेट आवश्यक थिएछ । भित्रभित्रै आफैँप्रति व्यङ्ग्यात्मक हाँसो हाँसिदिएँ । गमलामा रोपेको बुटोसरह सानो परिधिमा निर्वाह गर्न बाध्यझैँ शब्दकोशीय ज्ञानको सीमा आज टड्कारो महसुस भयो । छायाले प्रयोग गरेको ‘ट्यालेन्ट’ शब्द मेरो हिँडाइसँग सम्बन्धित थियो । स्थानीयवासीसरह चलेको मेरो निरन्तरको हिँडाइबाट सायद उनी प्रभावित भइन् र मलाई ‘ट्यालेन्ट’ भनिदिइन् । उनको शब्दले मलाई पहिलोपटक भाषाको विशालतम आयामबारे मिठो झट्का दिइगयो ।  

शब्द र अक्षरको सिर्जनाशक्ति यस यात्राको केन्द्रमा छ । हामी अपि हिमाल काव्य यात्रामा छौँ । त्यस कारण पनि मलाई छायाको शब्दले बढी छोएको छ । यात्राको योजना अनुसार हामी अघि बढ्दै चौथो दिन धौली ओढारमा बास बस्न पुग्यौँ । पाँचौँ दिन (जेठ १६) सबेरै अपि आँगनमा उक्लियौँ । ३९०० मिटरको उकाली उक्लाई पक्कै सहज थिएन । लगातारको हिँडाइका बाबजुद विनाकुनै बाधा–व्यवधान हामी अपि हिमालको काखमा पुग्यौँ । आकाश मस्त खुलेको दिन, अपिको काख, विशाल पाटन क्षेत्रको फरक माहोल र चहलपहल । स्थानीयहरूको यार्सा समय, भेडी गोठालाहरूको जमघट, साथमा बाहिरबाट पुगेका साहित्यकार, पत्रकार र अन्य । एक महोत्सवसरह देखिएको छ हरियो अपिपाटन क्षेत्र । छेउमा कलकल बगेको छ चमेलिया उर्फ चौलानी खोला । चौलानीजस्तै सेतो देखिने अद्भूत जलप्रवाह ।

api (15)

अपि आधार शिविरको विशाल पाटन क्षेत्रमा योग शिविर र काव्य कार्यक्रमको रौनकता चढेको छ । वास्तवमा हामी एक वर्णानातीत भूगोल र अति मनोहर अपि हिमालको सौन्दर्यको साक्षी भएका छौँ । उघ्रिएको अपिको हरियो आँगनमा चार दर्जन हाराहारीका मानिसको भेला, एक कल्पनातीत सम्मेलन । अपि हिमाल गाउँपालिकाको निमन्त्रणमा त्यहाँ पुगेका हामी बाह्र लेखक तथा पत्रकार— अभय श्रेष्ठ, सागर उदास, घनश्याम पौडेल, प्रभा बराल, दीपेन्द्र सिंह थापा, घनश्याम खड्का, अनुपम रोशी, बाल्कुराम पुन, लक्ष्मी रुम्बा, राजकुमार गजुरेल, शान्ति तामाङ र पङ्क्तिकारले आफ्ना रचना र सङ्क्षिप्त धारणा राख्यौँ । हामीले सुनाउने भन्दा पनि सुन्ने र बुझ्नुपर्ने कुराका थाक छन् । फरक भूगोलवासीका विशिष्ट संस्कृति र जीवन पद्धतिबारे जान्ने उत्सुकता निकै छ । 

धौली ओढारमा जम्मा दुईवटा शौचालय भएकाले यार्सा खोज्न आउने हुलदेखि पदयात्रीका लागि निकै गाह्रो भएको कुरा उनले उठाए । खासमा हामीलाई पनि निकै अप्ठेरो भएको थियो । शौचालयका लागि पालो कुर्नै मुस्किल ।

सिर्जना कर्ममा लागेकाहरूका लागि हरेक यात्रा फरक जीवनशैली, भूगोल, संस्कृति र समाज बुझ्ने सुनौलो अवसर साबित हुन्छ । मेरा लागि यस यात्रा एक दुर्लभप्रायः अनुभव सँगाल्ने माध्यम बन्यो । साथमा रैथाने सङ्गीत र लयलाई आत्मसात् गर्ने मौका पनि । अझै पनि कानमा गुन्जिरहेको छ हनु लोथ्यालको मिठो गीत ‘यै हाम्रो संस्कृतिलाई माया राख्या फेरि आया । सुन्दरताले भरिपूर्ण अपि हिमाल हेरी आया’ । लोथ्यालको गायनको जादु तथा रैथाने संस्कृति र आतिथ्यताको जादुमयी संगम साबित भएको छ अपि हिमालको काख । 

api (9)

  • यार्सा–उत्सव

साँझ ६ बजे धौली ओढार पुग्दा फरक माहोलसँग जम्काभेट भयो । ३४५० मिटर उचाइमा अवस्थित अपि आधार शिविरको अन्तिम गौँडा धौली ओढार । मेरो कल्पनामा भने एकान्तीयतामा लीन एक शुभ्र शान्त ठाउँ थियो तर लगभग त्यस विपरीत जोसिला युवाहरूको भलिबल खेलाइ र हाइहुईले गुञ्जायमान थियो हामी पुग्दा । ओहो ! म चकित भएँ । लगत्तै आँखा अघिल्तिर लस्करै ठोक्किन आइपुगे निलो पाल ओढी उभिएका थुप्रै अस्थायी टहराहरू । ती सब किरा (यार्सा) खोज्नेहरूका अस्थायी बास रहेछन् । हरेक वर्ष यसै याममा दार्चुलाको अपि हिमाल, व्यास लगायत विभिन्न गाउँपालिकाबाट यार्सागुम्बा टिप्न पुग्नेको लर्को लाग्ने रहेछ । यस वर्ष पनि धेरै मानिस पुगिसकेका भेटिए । त्यसैले यस क्षेत्र खचाखच र हुलमहुल भइसकेछ । केही टोली भने किरा नभेटिएकाले फर्किन थालेका पनि भेटिए । त्यस्तै एक टोली रुबी भ्याली धादिङका पनि थिए । म त तीन छक्क परेँ । त्यति टाढा धादिङतिरबाट पनि आउने रहेछन् । उनीहरू त हिँडिहाले तर पछि धौली ओढारका होटल सञ्चालक प्रेमसिंह जागरीबाट अन्य कुरा पनि थाहा भयो । उनले भने अनुसार पहिला पहिला धादिङबाट आउनेहरू थुप्रै हुन्थे तर आजकल घटेका छन् । दार्चुलाकी चेलीलाई बिहे गरी लगेको मान्छेले यताको चेलीलाई धोका दिएछ । त्यसपछि उनीहरूलाई गाउँठाउँमा सहज प्रवेश दिने कुरा भएन । धादिङबाट यति टाढासम्म यार्सा खोजीमा आउने क्रम पातलिनुका अनेक कारण होलान् । तथापि मानवीय सम्बन्ध, स्वभाव र संवेदनासँग जोडिएको महत्त्वपूर्ण पाटो त छँदै छ । 

api (11)

धौली ओढार वरपर र अपि बेस क्याम्प निस्कने बाटोभरि निलो पाल टाँगिएको एक तमासका अस्थायी छाप्राहरू ठडिइसकेका छन् । परबाट हेर्दा पाखाभरि ठुल्ठुलो निलो बेलुन थपक–थपक बसेसरह देखिने ती गोल छाप्रावासीहरू हरेक बिहान केही खानाखाजाको जोहो गरी उक्लन्छन् परपरका डाँडातिर । हिमाली स्याठ, बेलाबखत झरिदिने झुरुरु झरीको सिक्सिकाहट सबै एकातिर पन्छाएर उनीहरू किरो खोजीमा व्यस्त भइदिन्छन् । एउटै किरोको दाम चार–पाँच सयसम्म पाइने हुनाले परिवारका कलिला सदस्य पनि सराबर सामेल गराइन्छन् वार्षिक यार्सा–उत्सवमा । कलिला नानीहरूको तिखो आँखा र चुल्बुले हातले चाँडै किरा भेटाउने भएकाले हुन सक्छ उनीहरू बाक्लै उक्लिएका छन् लेकमा । 

सिती गाउँबाट उकालो उक्लेसँगै यार्सा टिप्न जानेहरू थुप्रै भेटिए । मिर्मिरे उज्यालोमै उकालो लागेका हामी धौली ओढार छेउछाउ पुग्ने बेला अभ्यस्त पाइलामा लम्किँदै गरेका आमा छोराले भेटिहाले । कलिलै उमेरकी देखिने आमा र उनका ९–१० वर्षजतिका छोरासँग हामी हिँड्न सक्ने कुरै भएन । रफ्तार पक्रेका उनीहरूको चालसँग एकछिन मैले पनि चाल मिलाउँदै केही बेर भलाकुसारी गरेँ । कति तेज गति भने ! बिहान उनीहरू हामीभन्दा चार घण्टा ढिलो हिँडेका रहेछन्, हेर्दाहेर्दै हामीलाई पछाडि छाडेर खोलापारि पुगिहाले । बर्सेनि यार्सागुम्बा खोज्ने सिजनमा यसरी नै आउने गरेको उनले बताएकी थिइन् । यस क्षेत्रका बासिन्दाको आम्दानीको राम्रो स्रोत भएकाले यार्सागुम्बाको सिजनमा भारततिर भएकाहरू जागिरबाट केही महिनाको छुट्टी लिएर भए पनि किरा खोजीका लागि आउँदा रहेछन् । यस भेगका विद्यालयले पनि केही हप्ता बिदा दिने गरेको बुझियो । कति मेहनती दार्चुलाका कलिला नानीहरू । लेकको सिरेटो सहँदै हरेक वर्ष यसरी नै किरा खोज्न आइपुग्छन् ।

api (6)

बर्सेनिजसो यार्सा खोज्ने क्रममा दुर्घटनामा परेर या लेक लागेर केहीले ज्यान गुमाउने गरेको अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेक्रे बोहोराले सुनाउँदा मनमा चिसो पस्यो । हुन पनि किरा समतलतिर पाइने होइन । अपि आधार शिविर वरपरको डरलाग्दो पाखा, पहरा र लेकतिर खोजी हिँड्नुपर्दा पानी परेका बेला अनुभवी खुट्टा पनि चिप्लिन के बेर । ज्या ! मान्छेको ज्यान त एक ठेसमा अल्झेको छ । पुक्लुक्क ढल्यो कि बेलुनको हावा फुस्केजस्तै फ्यास्स फुस्किन सक्छ । ज्यान जोखिममा राखेर पनि दार्चुलावासी वर्षको एकपटक खुल्ने यस यार्सा उत्सवमा सामेल हुन आएका छन् । 

मिर्मिरे साँझको टहकमा देखिँदै छ घाँसे मैदानको हरियो मुस्कान; लेकाली सिरेटोको हल्का बहाबमा सुस्त फिर्फिराउँदै छन् बैजनी भुइँफूलका हुल; भेडाहरूको घाँटीमा बाँधिएको घण्टीको मधुर टङ्टङ् मधुरिँदै बिलाउने क्रममा छ । म मखलेल छु अपिको काखमा ।

किरा खोज्न आएका कक्षा १० मा पढ्ने भाइसँग मिठो गफ भयो । उनी त कति चलाख रहेछन् भने देशको राजनीतिदेखि पर्यावरणसम्मको कुरामा जानकार । हामी त हेरेको हेर्‍यै । उनले उठाएको एउटा कुरा निकै घतलाग्दो लाग्यो । धौली ओढारमा जम्मा दुईवटा शौचालय भएकाले यार्सा खोज्न आउने हुलदेखि पदयात्रीका लागि निकै गाह्रो भएको कुरा उनले उठाए । खासमा हामीलाई पनि निकै अप्ठेरो भएको थियो । शौचालयका लागि पालो कुर्नै मुस्किल । उनी भन्छन्, ‘सबैभन्दा पहिला यहाँ ट्वाइलेटहरू थप्नुपर्छ । किरा खोज्न आउनेहरू यही जङ्गल र खोलातिर जान्छन् । त्यसरी त फोहोर फैलिन्छ । बिरामी लाग्छ ।’

api (5)

कलिलै उमेरका भाइको सोच निकै पाको छ । उनी सानैबाट वर्षको एकपटक यस क्षेत्रमा आउने भएकाले पछिल्ला दिनमा आएको परिवर्तनलाई राम्ररी मनन गरेका रहेछन् । साथमा केही आफ्ना परिवारका कुरा पनि साझा गरे । उनका बाबु दिल्लीमा तन्दुरीमा काम गर्ने भए पनि बर्सेनि लामो बिदा लिएर यार्साको सिजनमा आइपुग्ने गरेको बताए । यसबाट उनीहरूले वर्षको कम्तीमा चार–पाँच लाख आर्जन गर्ने गरेको पनि खुलासा गरे । 

उनका दाजु भने काठमाडौँमा एमबीबीएसका विद्यार्थी रहेछन् । उनको पढाइ खर्चको जोहो परिवारै मिलेर गर्ने गरेको कुरा सुन्दा म अलिक भावुक पनि भएँ । सानो उमेरमै परिपक्व र व्यावहारिक । ती भाइको वाक्पटुकताको साक्षी भएपछि मैले भने, ‘भाइ पछि नेता हुने हो ?’ 

थोरै सरम भरिएको मुस्कानसहित उनले भने, ‘हो ।’

माहोल झन् मज्जाको भइगयो । उनीजस्ता आफ्नो गाउँघर, भूगोल, परिस्थिति सबै बुझेको व्यक्ति नेता भए भने त्यस क्षेत्रको कायापलट हुन कति बेर ! आवश्यक भनेकै यस्तै युवा न हुन् ।

काठमाडौँबाट पुग्नै पनि पाँच दिन लाग्ने नेपालको अति दुर्गम जिल्लाका युवा आफैँले अतिरिक्त काम गरेर पढाइको खर्च निकाल्छन् । टेलिकमको नेटवर्क छैन, बत्ती छैन, इन्टरनेट हुने कुरै भएन । धौली ओढार पुग्नु अघिको छिरछिरेतिरबाट नै आधुनिक प्रविधिका अनेक माध्यमबाट वञ्चित भइहालिन्छ । तथापि यहाँका युवाहरूमा भविष्यमा केही गर्ने लक्ष्य छ । यस्ता श्रमशील र जागरिला युवाहरूप्रति हृदयभरिको सम्मान ।

api (2)

  • सम्भावना अनेक 

हर मानिसभित्र अनेक कथाका थाक हुन्छन् । खासमा प्रत्येक व्यक्ति लेखिन बाँकी उपन्यास हुन्, महाकाव्य हुन् । धौली ओढारको होटलमा आगो ताप्दै गर्दा मिसिन आइपुगेका स्कुले नानीले उनका जीवनका अलिखित कथाहरू बताए । साँझ ढल्दै छ । सोलारको उज्यालो लेकको विशाल पटाङ्गिनीमा निरीहप्रायः देखिन्छ । उज्यालोको लालसामा आँखाहरू सकेसम्म ठुलो पार्नुको विकल्प छैन । तथापि आँगनमा साँझ उत्रिएसँगै यस क्षेत्र झ्याप्पै अँध्यारोको कब्जामा परेको छ । काव्य माहोल रन्किएकै बखत अपि हिमाललाई बादलले छपक्कै ढाकिदिएको सम्झिएँ । हामी ठुल्ठुला मुढा जोडेर आगो दन्काउने ध्याउन्नमा लाग्दै गर्दा अर्का पात्र हात सेकाउन आइपुगे । अजङ्गका शारीरिक बनावट भएका उनी, गन्जी धामी । साँझको मनोरम माहोलमा पनि उनी थोरै बेखुस देखिए । धामी यार्सा टिप्ने काममा पचासको दशकबाटै सामेल व्यक्ति । उनले हर परिवर्तन नियालेका छन् । आजको अवस्था उनलाई जच्दैन । उनले वरपरका हरेक लेक चहारेका छन् । आँखाको कमजोरी, ऊ बेलाजस्तो बल नभएको ख्वाङरे ज्यान र भइरहेको भारी परिवर्तनबारे एकछिन् भलाकुसारी गर्छन् उनी । 

पक्का हो, गन्जी धामीहरूले हर ढुङ्गा पल्टाएका छन् यस क्षेत्रका । प्रकृतिको लयसँग सराबर सामेल छन् । हरेक मौसमको हेक्का छ उनीहरूलाई । भलै पछिल्लो समय धेरै कुरा फेरिएको छ । दूरदराजमा रहेको दार्चुलामा मानिस पुग्न थालेका छन् । यस भेगप्रति सबैको चासो बढेको छ । मान्छेको बाक्लो ओहोरदोहोरले केही न केही असर गर्छ नै, स्थानीय पर्यावरणलाई । पहिलेजस्तो यार्सा नभेटिनु, मान्छेको हुलमुल बढ्नु, फोहोरमैला थुप्रिन थाल्नु, युवाहरूमा आधुनिकताको प्रभाव पर्नु लगायत केही परिवर्तनका रेखाहरू कोरिएको निश्चय नै हो तथापि हरेक दुर्गम गाउँपालिकाले आफ्नो ठाउँ सबैमाझ परिचित गराउने प्रयासमा छन् । पर्यटनको ठुलो सम्भावना भएको सुन्दर दार्चुलाले पर्यटकमार्फत ठुलो आयस्ता भित्र्याउने सम्भावना पनि त छ । यस पालिकाका अध्यक्ष भगत सिंह ठेक्रे बोहोराको नेतृत्वमा अपि हिमाल गाउँपालिकामा पर्यटन प्रवर्द्धनको निकै राम्रो काम भइरहेको रहेछ । उनका योजनाहरूभित्र परेको कृषि पर्यटन, चिकित्सा पर्यटन, आध्यात्मिक, सांस्कृतिक पर्यटन लगायत भेडीगोठ र यस क्षेत्रको जैविक विषयलाई पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना निकै घतलाग्दो छ । पक्कै नवीन गतिविधि र माहोलले पर्यटकको चासो बढाउने नै छ । 

api (16)

ब्रान्ड बनिसकेको डेउडाको लयदेखि फरक जीवनशैली र सांस्कृतिक पहिचान सुदूर पश्चिमको विशिष्टता हो । अध्यक्ष ठेक्रे बोहोराको योजनाभित्र परेको ‘भेडी गोठ पर्यटन’ नितान्त नौलो छ । जसले यहाँको संस्कृतिको भिन्न पाटोलाई उजागर गर्नेछ । गोठमा गोठालोसँगै बस्ने र उनीहरूको संस्कृति, दृष्टिकोण र जीवनलय बुझ्न चाहने अध्येता या पर्यटकका लागि यो एक सुनौलो अवसर हुनेछ । सम्झनामा आएका छन् ती गोठालाहरू जो सेतो समुद्री छालसरि सयौँ भेडाहरूको हुल सम्हाल्दै धौली ओढारको विश्रामस्थलतिर उक्लँदै थिए । चिटिक्कको हातबुना भेडाको उनको कोट पहिरिएका दुई गोठालाहरूको चाल र टङटङ घण्टी बजाउँदै अघि बढिरहेका भेडाको बथानको मिठो लस्करलाई मैले धेरैबेर हेरिरहे ।

मिर्मिरे साँझको टहकमा देखिँदै छ घाँसे मैदानको हरियो मुस्कान; लेकाली सिरेटोको हल्का बहाबमा सुस्त फिर्फिराउँदै छन् बैजनी भुइँफूलका हुल; भेडाहरूको घाँटीमा बाँधिएको घण्टीको मधुर टङ्टङ् मधुरिँदै बिलाउने क्रममा छ । म मखलेल छु अपिको काखमा । गोठाला भाइहरूको गन्तव्य धेरै टाढा छैन । हाम्रो पनि नजिकिँदै छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुमारी लामा
कुमारी लामा
लेखकबाट थप