आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
कथा

थरुनी बुहारी

शनिबार, ३१ जेठ २०८२, १४ : ००
शनिबार, ३१ जेठ २०८२

रातको ९ बजिसक्यो । मेरा श्रीमान् घर आइपुगेका छैनन् । छोरीलाई खुवाइवरी अघि नै सुताइसकेँ । ऊ मस्त निदाइसकी । घरका सबै सदस्य पनि निदाइसके । म भने घडी हेर्दै बसेकी छु । 

मोबाइल अफ् छ । उनलाई केही भयो कि भनेर मन आत्तिएको छ । घडी हेर्दाहेर्दै रातको १ बजिसकेछ, तैपनि उनी आइपुगेका छैनन् । घडी हेर्दाहेर्दै म कतिखेर निदाएछु थाहै भएन ।

ब्युँझिदा बिहानको ६ बजेको थियो । मेरा श्रीमान्को अझै अत्तोपत्तो थिएन । किन नआएका होलान्, नभनी कहाँ गए ? म छटपटिइरहेँ । मन नलागी नलागी घरको काम सबै सकाएँ । 

१० बजेतिर होला, उनले एक अपरिचित महिलालाई लिएर घरमा आए । महिलाको सिउँदोमा सिन्दुर थियो । दुवै जनाले माला लगाएका थिए । किन मेरा श्रीमान्ले दोस्रो बिहे गरेछन् ! म असमञ्जसमा थिएँ । घरका सबै सदस्य एकै ठाउँमा जम्मा भए । छोराले केटी ल्याएको थाहा पाएर बुवा एकछिन खुब रिसाउनुभयो तर आमाले बुवालाई सम्झाउनुभयो— आफ्नै जातकी हो, धनी पनि छिन् रे, नरिसाउनुस् । जे गर्‍यो राम्रो गर्‍यो । 

आमाका कुराले बुवा मक्ख पर्नुभयो । छोरालाई ‘जे गरिस् राम्रो गरिस्’ भन्दै उल्टै स्याबासी दिनुभयो । म भने श्रीमान्लाई हेर्दै ‘म हुँदाहुँदै किन सौता ल्यायौ’ भन्दै रुन थालेँ । 

‘चुप लाग् थरुनी, बढ्ता बोल्छेस् ? मलाई मन लाग्यो ल्याएँ ।’ श्रीमान्ले रिसाउँदै भने, ‘बस्न मन छ भने चुप लागेर बस्, नत्र गइहाल् ।’

बिहान सबेरै उठेर मैले घरको जे–जे काम देखेँ, गर्न थालेँ । कोसँग बोल्ने, के बोल्ने ? केही थाहा थिएन । म डराएकी थिएँ । थारुको छोरी, बाहुनको बुहारी भएर जाँदा म किन यहाँ छुजस्तो लागिरहेको थियो । आमाको याद आयो । घरमा हुँदा मैले पाएको स्वतन्त्रता याद आयो ।

म थारुको छोरी, मेरो बुवा सरकारी जागिरे, म पनि राम्रै घरको छोरी हुँ । उमेरमा असाध्यै राम्री थिएँ । धेरै केटाहरू मेरो पछाडि लाग्थे । कति मलाई माग्न पनि आएका थिए तर बाबाममीले छोरी सानै छे, पढ्दै छे भनेर टार्नुहुन्थ्यो । १० कक्षा पढ्दै थिएँ । मलाई मेरै स्कुलमा पढ्ने केटाले पर्पोज गर्‍यो । ऊ बाहुन थियो, हेर्दामा खाइलाग्दो, आकर्षक र जिउज्यान मिलेको । मलाई पनि ऊ मन पर्न थाल्यो । यद्यपि मैले उसलाई कुनै जवाफ दिएकी थिइनँ । किनकि ऊ बाहुन थियो र म थारु । त्यतिबेला बाहुनहरू थारुलाई असाध्यै हेप्थे । म जहिल्यै अन्तर्जातीय विवाहको खिलाफमा थिएँ । सुरुमा उसले जति फकाए पनि म फकिइनँ । 

समय बित्दै गयो । उसले मेरो पिछा गर्न छाडेन । उसले तिमीलाई जसरी पनि आफ्नो बनाएर छाड्छु भन्दै ढिपी कसेर बस्यो । केही समयपछि म उसको प्रेममा परेँ । मैले एसएलसीमा राम्रो अंक ल्याएर उत्तीर्ण भएँ । त्यही बेला उसले तिमीबिना बाँच्न नसक्ने भन्दै बिहेको प्रस्ताव राख्यो । मैले पनि मेरो घरमा माग्न आउ भनेँ । उसले भागेर जाउँ भन्यो, मैले मानिनँ । त्यसो भए म विष खाएर मर्दिन्छु भन्यो । उसले मलाई खाउँलाझैँ गर्‍यो । डरले म ऊसँग भाग्न विवश भएँ । 

म थारुको छोरीलाई उसले भगाउँदै त थियो तर मलाई एकदमै डर लागिरहेको थियो । उसलाई मैले कैयौँपल्ट भनेँ, ‘प्लिज हामी नभागौँ, हाम्रो उमेर सानै छ । हाम्रो जात पनि मिल्दैन । पछि मलाई गाह्र्रो हुन्छ ।’ 

‘म छु नि, मैले तिमीलाई माया गर्छु र गरिरहन्छु । तिमीलाई कसैले केही भन्दैन, मेरो विश्वास गर ।’ उसले मन्दिरमा बिहे गरेर घरमा लग्यो । 

घरमा पुग्दा उसको पूरै परिवार हामीसँग रिसायो । हामीसँग कोही पनि बोलेनन् । सबै आ–आफ्नो कोठामा गए । म साह्रै डराएकी थिएँ । उसले मलाई आफ्नो कोठामा लग्यो । उसको अँगालोमा बाँधिन पाउँदा मैले सबै कुरा बिर्सिएँ । म र ऊ एक अर्काको अँगालेमा विलीन भएर त्यो रात बितायौँ । 

बिहान सबेरै उठेर मैले घरको जे–जे काम देखेँ, गर्न थालेँ । कोसँग बोल्ने, के बोल्ने ? केही थाहा थिएन । म डराएकी थिएँ । थारुको छोरी, बाहुनको बुहारी भएर जाँदा म किन यहाँ छुजस्तो लागिरहेको थियो । आमाको याद आयो । घरमा हुँदा मैले पाएको स्वतन्त्रता याद आयो । 

बिस्तारै मेरी जेठानीले यो काम गर, त्यो काम गर भन्दै अह्राउन थालिन् । म पनि उनले भनेजसरी नै सबै काम गर्न थालेँ । उनीहरूले मलाई थारु भनेर छुट्टै थालमा खान दिन्थे, भान्छामा छिर्न दिँदैनथे । परै बसालेर खाना दिन्थे । यस्तै गर्दागर्दै जसोतसो मुस्किलले मेरा दिनहरू बित्दै थिए । 

वर्ष दिन नबित्दै म गर्भवती भएँ । म गर्भवती भए पनि मेरो घरमा त्यो कुराले कुनै फरक पारेन । म गर्भवती भएको कुराले घरमा कुनै खुसी थपिएन । बरु मेरो कामको बोझ झन् झन् थपिँदै गयो । म दुई जिउकी मान्छेलाई पनि पहिलाको जस्तोे गरेर सारा काम गराइयो । म सकीनसकी सबै काम गर्थें । मलाई श्रीमान्ले वास्तै गर्दैनथे । यस्तो गर्दागर्दै छोरीको जन्म भयो । छोरी जन्माई भनेर घरमा तथानाम सुन्नुपर्‍यो । छोरी पाई भनेर श्रीमान् मबाट झनै टाढिए । 

यसरी नै दिनहरू बित्दै गए । मेरा श्रीमान् मभन्दा दुई क्लास सिनियर थिए । उनले पढ्दापढ्दै सरकारी जागिरको तयारी गर्न थाले । एक दिन उनले निजामती सेवामा खरिदारमा नाम निकालेछन् । छोराले सरकारी जागिर पायो भनेर घरमा खुसीको सीमा थिएन । म पनि एकदम खुसी थिएँ । पछि उनी अफिस जान थाले । म भने घरमा छोरी हेर्ने र घरको काम गर्न थालेँ । मैले जति नै काम गरे पनि कहिल्यै जस पाउँदिनथेँ । मेरी छोरीलाई कसैले हेर्दैनथ्यो । छोरी पनि आफैँ हेर, घरको सबै काम गर— म वाक्क भइसकेकी थिएँ ।

म मेरा श्रीमान्को हाकिम भएर गएकी थिएँ । उनी मलाई देखेर छक्क परे । उनी मलाई नमस्ते गर्थे, म्याडम भन्थे । भित्रभित्रै कति औडाहा हुन्थ्यो होला । उनले सोचेका पनि थिएनन्, म यसरी उनकै हाकिम भएर आउँछु भनेर ।

श्रीमान् अफिसबाट घर ढिला आउन थाले । छोरी र मेरो मतलबै गर्दैनथे । मलाई जबर्जस्ती भगाएर ल्याएको कुरा उनले भुलेका थिए । माइतीमा मलाई प्रवेश निषेध गरिएको थियो । मैले बुबाआमाको इज्जतमा दाग लगाएकी थिएँ । माइतीमा गएर दुःख पोख्न पनि पाएकी थिइनँ । मेरा दिनहरू रोएरै बित्थे । यत्तिकैमा श्रीमान्ले अर्की श्रीमती भगाएर ल्याए । अब मेरा लागि के नै बाँकी रह्यो र ? सबैजना खुसी थिए, बाहुनी बुहारी पाएकामा । बस्, दुःखी थिएँ त म । 

त्यस दिन श्रीमान्को हप्की खाइसकेपछि मैले केही बोल्ने आँट गरिनँ, आँसु लुकाएर बसेँ । सौताले मलाई देखिसहन्नथी, जति बेला पनि मलाई थरुनी भन्दै गाली गर्थी । मलाई औधी रुन मन लाग्थ्यो । सौता ल्याएदेखि मेरो कोठामा श्रीमान् छिरेनन्, मेरो छोरीको र मेरो हालखबर कहिल्यै सोधेनन् । पछि अन्तै घर बनाएर कान्छीसँग बस्न थाले । सौतासँगै नबस्दा अलिअलि मन त शान्त भयो तर श्रीमान् घरमा नहुँदा मन भने दुःखी थियो । आफ्नो मनलाई सम्झाउँथेँ— उनी अर्कैको भइसके, अब मैले उनका लागि मन दुखाएर काम छैन । जसले मेरो भविष्य बिगार्‍यो, मैले उसलाई सम्झेर किन बस्ने ? 

आफ्नो बारेमा सोच्नुपर्छ र भविष्य बनाउनुपर्छ भनेर मैले प्रण गरेँ । कोठामा श्रीमान्ले लोकसेवाका लागि पढेका किताबहरू थिए । मैले पनि सोँचे, अब सरकारी जागिर खानुपर्छ । उनले नाम निकाल्न सक्छन् भने म के कम छु र ! परिवारमा कसैलाई थाहा नदिई पढ्न थालेँ । त्यो समय मेरा लागि निकै नै कष्टकर थियो— दिनभरि काम गर, छोरीलाई हेर; राति छोरीलाई सुताएर मात्र पढ । बिहान सबेरै उठ्नैपथ्र्यो । मनमा ईख भएकाले मैले लोकसेवाका पुस्तक पढ्न छाडिनँ । 

एक दिन लोकसेवाले खरिदारको विज्ञापन खोल्यो । एसएलसी मात्र उत्तीर्ण गरेकी मैले त्यसमै फर्म भरेँ । महिला, खुला र जनजातिबाट फर्म भर्न पाउने रहेछु । मैले सबैमा भरेँ । परीक्षा दिने मिति सार्वजनिक भयो । साथीकहाँ जान्छु र भोलि मात्र आउँछु भनेर घरमा कुरा राखेँ । सुरुमा त घरकाले जान दिएका थिएनन् । फलानी साथी निकै बिरामी परेकी छे, म जानैपर्छ भनेर बिन्ती बिसाएँ । घरका अरुले माने पनि सासुले मानिनन् । तै पनि म घरबाट निस्किएँ, छोरी च्यापेर । साथीकहाँ छोरीलाई राखेर परीक्षा दिन गएँ । अर्को दिन पनि परीक्षा दिएँ । परीक्षा सकेलगत्तै छोरीलाई लिएर सरासर घर आएँ । 

घरमा फेरि पुरानै दिनचर्या सुरु भयो । दिनभरि काम, सबैको हप्कीदप्की । सबैले वचन लाउँथे, काम अह्राउँथे— यता थरुनी, उता थरुनी । 

यसैबिच खरिदारको रिजल्ट आयो । मेरो नाम निस्केको कुरा साथीहरूले बताए । अब अन्तर्वार्ता दिन जानुपथ्र्यो । म निकै खुसी थिएँ, साथसाथै दुःखी पनि । किनकि अस्ति साथीकहाँ जान्छु भनेर निस्केकी थिएँ, अब के भनेर निस्कने ! 

सोच्दासोच्दै अन्तर्वार्ता दिने दिन आयो । घरमा केही भन्न भ्याएकी थिइनँ । त्यही बिहान मेरी छोरी बिरामी परी । अस्पतालमा छोरीलाई चेक गरेर आउँछु, सञ्चो छैन भनेर निस्किएँ । अस्पतालमा चेक गराएँ, डाक्टरले सबै कुरा ठिक छ आत्तिनुपर्दैन भनेका थिए । म ढुक्क भएँ । छोरीलाई साथीकहाँ छाडेर अन्तर्वार्ता दिन गएँ । 

घर फर्कंदा सासु कराइन्— कति समय लगाएको, चाँडो आउनुपर्दैन ! 

‘अस्पतालमा लामो लाइन बस्नुपर्‍यो, त्यही भएर ढिला भयो ।’ 

ल ल जा, छिटो घाँस काटेर आइज ।

म घाँस काटेर आएँ । घरको काम लथालिङ्ग थियो । मैले सबै काम सकाएँ । 

दिनहरू यसरी नै बित्दै गए । अन्तर्वार्ताको रिजल्ट आयो । म पास भएँछु । मेरो खुसीको सीमा थिएन । मैले नाम त निकालेँ तर घरमा थाहा पाए भने के भन्लान् भन्ने पिरले सताउन थाल्यो । मेरा एक साथी अधिकृत थिए । उनले भने, ‘तिमी त्यहाँ नबस । अफिसमा भनेर तिम्रा लागि बस्ने बन्दोबस्त मिलाइदिन्छु ।’

साथीले सबै बन्दोबस्त मिलाएपछि जब जाने दिन आयो, मैले घरमा भने— मैले खरिदारमा नाम निकालेँ । अब यहाँ तपाईंहरूलाई दुःख दिएर र बोझ बनेर बस्दिनँ । 

उनीहरू छक्क परे । उनीहरू रोक्दै थिए, नजाउ यहीँ बस भनेर तर मैले मानिनँ । अफिसले दिएको घरमा बस्न थालेँ । छोरीको हेरचाहका निमित्त एकजना महिला पनि पनि राखेँ । पछि मैले छोरीलाई स्कुल भर्ना गरिदिएँ । आफूले पनि जागिर गर्दै रोकिएको पढाइलाई अगाडि बढाएँ । स्नातक पढ्दै गर्दा नासुको परीक्षा दिएँ र नासु भएँ । 

स्नातक पूरा गरेपछि अधिकृतको परीक्षा दिएँ र अधिकृत बन्न सफल भएँ । फेरि पनि पढ्न छाडिनँ, स्नातकोत्तरमा भर्ना भएँ । मलाई थाहा थियो, पढाइको कति महत्त्व छ भन्ने । 

अधिकृतको पोस्टिङ मेरो आफ्नै गाउँमा भएको थियो, जुन गाउँकी म बुहारी थिएँ, त्यहीँ म अधिकृत भएर गएँ । त्यही अफिसमा मेरा श्रीमान्ले पनि काम गर्दा रहेछन् । म उनको हाकिम भएर गएँ । उनी मलाई देखेर छक्क परे । उनी मलाई नमस्ते गर्थे, म्याडम भन्थे । भित्रभित्रै कति औडाहा हुन्थ्यो होला । उनले सोचेका पनि थिएनन्, म यसरी उनकै हाकिम भएर आउँछु भनेर । 

एक दिन ड्युटी सकेपछि उनले मलाई फोन गरेर भेट्न बोलाए । मैले उल्टै उनलाई बोलाएँ । उनी आएर भन्न थाले— मैले गल्ती गरेँछु, धेरै पश्चाताप छ । के हामी फेरि सँगै बस्न सक्छौँ ? मलाई माफ गर । म मेरी छोरीलाई हेर्न चाहन्छु । 

मैले भनेँ— जतिबेला मलाई तिम्रो जरुरत थियो, त्यति बेला साथ दिएनौँ, उल्टै ममाथि सौता ल्यायौ । कुन मुखले मसँग बस्छु भन्दै छौँ ? ऊ तिम्री छोरी होइन, मेरी छोरी हो । उसलाई हेर्ने, खेलाउने बेला कहाँ थियौँ ? ऊ बिरामी भएर छट्पटिएका बेला कहाँ थियौँ ? उसको पहिलो बोली फुट्ने बेला कहाँ थियौँ ? त्यति बेला मेरो र छोरीको याद आएन । आज तिमीलाई अचानक कसरी याद आइराछ ?

मैले डिभोर्स दिन चाहेको पनि बताएँ । अर्को दिन मैले उसलाई डिभोर्स पेपरमा साइन गर्न लगाएँ । डिभोर्स हुँदा मैले उसको केही सम्पत्ति पाएँ । थरुनीको यत्रो हिम्मत भन्दै घरकाले सरापिरहेका थिए । मैले कसैको मतलब गरिनँ । मैले त्यस घरका लागि जति दुःख गरेकी थिएँ त्यसको क्षतिपूर्ति स्वरुप र छोरीको भविष्यका लागि मैले केही सम्पत्ति लिएका थिएँ । 

ऊसँग डिभोर्स गरेपछि स्वतन्त्र भएको महसुस गरेँ । छोरी ११ वर्षमा हिँड्दै थिइन्, मैले दोस्रो बिहे गरेँ । एक अधिकृत साथीले मलाई पहिल्यैदेखि मन पराउँथे । जागिर खान र पढ्नका लागि उनैले मलाई प्रेरित गर्दै आएका थिए । उनले विवाहको प्रस्ताव राख्दा मेरो आँसु झरेको थियो । म एक छोरीकी आमालाई विवाह गर्लान् भन्ने मैले कल्पना समेत गरेकी थिइनँ । उनले मलाई मेरी छोरीसहित स्विकारेका थिए । म विवाहका लागि तयार भएँ ।

अहिले म धेरै खुसी छु । वास्तविक प्रेम के हो भन्ने महसुस गर्दै छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेनुका चौधरी
रेनुका चौधरी
लेखकबाट थप