शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
प्रदेश

पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए

बिहीबार, ०५ असार २०८२, १९ : ००
बिहीबार, ०५ असार २०८२

समाचार सारांश

  • लोकबहादुर खड्का 'रवि' सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका छन्, उनले खेलाडी र प्रशिक्षकको हकहित सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।
  • खड्काले प्रदेशको खेलकुद विकासका लागि खेलाडी पलायन रोक्न र पूर्वाधार विकासमा जोड दिँदै, अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई पारिश्रमिकको व्यवस्था गर्ने योजना बनाएका छन्।
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको अनिश्चितता र अपर्याप्त बजेटबारे चिन्ता व्यक्त गर्दै, उनले खेलकुद क्षेत्रमा ठोस काम गर्ने र सरकारसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

धनगढी । लोकबहादुर खड्का ‘रवि’ले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालेका छन् । 

पारिवारिक विरासतमा पाएको खेलप्रतिको लगाव र मैदानमा बगाएको पसिनाको अनुभवलाई काँधमा बोक्दै अहिले आफूले यो जिम्मेवारी पाएको उनको बुझाइ छ ।

कुनै समय फुटबल र हक्कीको मैदानमा विपक्षीलाई छक्क्याउने खड्काको काँधमा अब समग्र प्रदेशको खेलकुद क्षेत्रका चुनौतीलाई छक्क्याउँदै सफलताको गन्तव्यमा पुर्‍याउने गहन दायित्व आएको छ । 

उनको नियुक्तिले खेलाडी र प्रशिक्षकमाझ आशाको सञ्चार गराएको छ, किनकि उनी नीति निर्माण तहमा पुगेका एक पूर्वखेलाडी हुन् । उनले खेल क्षेत्रका यथार्थ र पीडालाई नजिकबाट भोगेका छन् ।

खड्काको खेल यात्रा उनको घरको आँगनबाटै सुरु भएको थियो । २०४६ सालतिरै फुटबलमा होमिएका उनलाई यो क्षेत्रमा लाग्न सबैभन्दा ठुलो प्रेरणा आफ्नै स्वर्गीय दाजु, नेपाली फुटबलका एक नक्षत्र लालबहादुर खड्काबाट मिल्यो । ‘उहाँ मेरो गुरु, प्रेरणाको स्रोत र आदरणीय दाइ सबै हुनुहुन्थ्यो,’ खड्का भावुक हुँदै सम्झन्छन्, ‘सायद उहाँ नभएको भए हाम्रो परिवार खेलकुदमा नलागेर अर्कै काममा हुन्थ्यो होला । खेलकुदमा मेरो पहिलो पाइला नै उहाँलाई देखेर चलेको हो ।’ दाजुको यही सपनालाई साकार पार्नु र उनको योगदानको सम्मान गर्नु आफ्नो कर्तव्य भएको उनी बताउँछन् ।

सदस्य सचिवको कुर्सीमा बसेर खड्काले प्रदेशको खेलकुद विकासका लागि स्पष्ट दृष्टिकोण अघि सारेका छन् । उनको पहिलो प्राथमिकता खेलाडी र प्रशिक्षकको हकहित सुनिश्चित गर्नु हो । ‘मेरो मुख्य ध्येय खेलाडी र प्रशिक्षकलाई मार्का नपर्ने गरी काम गर्नु हो,’ उनले दृढतापूर्वक भने, राम्रो खेलाडीले सही ठाउँ र अवसर पाउनुपर्छ भन्नेमा म अडिग छु ।’ यसका लागि उनी प्रदेश सरकार र सम्बन्धित निकायहरूसँग निरन्तर पैरवी गर्ने योजनामा छन् ।

सुदूरपश्चिम क्रिकेट, फुटबल र भलिबलजस्ता खेलका लागि उर्वर भूमि भए पनि खेलाडी पलायनको समस्या विकराल छ । आर्थिक असुरक्षाका कारण उत्कृष्ट खेलाडीहरू विभागीय टोलीमा आबद्ध हुन बाध्य छन्, जसले गर्दा राष्ट्रिय स्तरका प्रतियोगितामा प्रदेशको प्रदर्शन कमजोर देखिन्छ । यो समस्या समाधान गर्न खड्का एक ठोस योजनामा छन् । ‘अन्तर्राष्ट्रियस्तरमा खेलेका खेलाडीहरूलाई प्रदेश सरकारले कम्तीमा पनि पारिश्रमिक वा भत्ताको व्यवस्था गरेर टिकाइराख्नुपर्छ । यसो गर्न सके मात्र खेलाडी पलायन रोकिन्छ,’ उनको विश्लेषण छ ।

आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिमका लागि ठुलो अवसर र चुनौती दुवै हो । तर, प्रतियोगिताको मिति अनिश्चित हुँदा तयारीमा अन्योल छाएको छ । ‘हामीले प्रदेश स्तरका छनोट खेलहरू सम्पन्न गरिसक्यौँ, तर प्रतियोगिता लामो समय पछि सर्दा ती खेलाडीहरू तितरबितर हुने अवस्था छ,’ खड्काले चिन्ता व्यक्त गरे, ‘अब फेरि नयाँ छनोट प्रक्रिया सुरु गर्नुपर्ने हुन सक्छ, जसका लागि बजेट र योजना आवश्यक पर्छ ।’ 

प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधारका लागि केही रकम छुट्याए पनि त्यो पर्याप्त नभएको उनको बुझाइ छ । ‘एक जिल्ला, एक क्रिकेट मैदानका लागि छुट्याइएको रकमले कति काम हुन्छ, त्यो हामी सबैले बुझेका छौं । पिच बन्छ, भत्किन्छ, तर दिगो संरचना बन्दैन,’ उनले भने ।

उनको नजरमा सुदूरपश्चिमको खेलकुद पूर्वाधारको अवस्था दयनीय छ । धनगढी रङ्गशालाको प्यारापिट १६ वर्षदेखि अलपत्र पर्नुले समग्र क्षेत्रको उपेक्षालाई प्रस्ट पार्छ । ‘ प्रदेशको हालको राजधानीकै पूर्वाधारको हालत यस्तो छ भने अन्य जिल्लाको अवस्था कस्तो होला?’ उनी प्रश्न गर्छन् । 

यी समस्या समाधानका लागि केवल बजेटको अभाव नभएर इच्छाशक्ति र निरन्तर खबरदारीको खाँचो रहेको उनको ठहर छ ।

फुटबल, क्रिकेट र भलिबलका साथै कुनै वेला कैलालीमा समेत चर्चामा रहेको हक्की खेललाई पुनर्जीवन दिने विषयमा पनि उनी सचेत छन् । हाल कञ्चनपुरमा मात्र सीमित रहेको हक्कीलाई अन्य जिल्लामा विस्तार गर्न कोटा प्रणाली र आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

आफ्नो कार्यकालमा खड्काले अमूर्त भाषणभन्दा ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी खेलाडीका समस्या लिएर सरकारको ढोका घच्घच्याउन र खेल संघहरूसँग समन्वय गरेर एउटा बलियो टिमका रूपमा अघि बढ्न चाहन्छन् । 

‘अब हामी चुप लागेर बस्दैनौँ । समस्याहरू लिएर सम्बन्धित निकायमा जान्छौँ, झक्झकाउँछौं,’ उनी भन्छन्, ‘मेरो कार्यकालमा खेलकुद र खेलाडीको भविष्य उज्ज्वल बनाउन इमानदारीपूर्वक लाग्नेछु ।, म आफू गलत गर्दैन गर्न पनि दिनेछैन,’ उनले दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप