आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा : कुन जिल्लामा कति ?

शुक्रबार, २० असार २०८२, २३ : १५
शुक्रबार, २० असार २०८२

सारांश

  • काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ।
  • सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ भने काठमाडौंको विष्णुमती नदीमा जलसतह सतर्कता तह आसपास पुगेको थियो।
  • मौसमविद्का अनुसार मनसुन अवधिमा देशभर सरदरको २१.७ प्रतिशत वर्षा भएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । उपत्यकामा मध्यम वर्षा भएको छ भने सिन्धुपाल्चोकका केही क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज साँझ उपत्यकाको पानीपोखरी क्षेत्र र आसपासमा पछिल्लो १२ घण्टामा १५.६ मिलीमिटर वर्षा भएको छ । बूढानीलकण्ठ, तारकेश्वर क्षेत्रमा समेत वर्षा भएको छ । उपत्यकाको अन्य क्षेत्रमा पनि वर्षा भएको उनले बताइन् । 

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार साँझ काठमाडौँको विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको थियो । तर अहिले वर्षा उपत्यकामा कम भएको जनाइएको छ । 
पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा ७६.४ मिलीमिटर वर्षा भएको छ । सोही जिल्लाको शेरमानथानमा ५५.६ मिलीमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । दोलखाको जिरीमा ४४.८, सोलुखुम्बुमा ३५.६ र झापाको केचनाकवलमा ३३.४ मिलीमिटर वर्षा भएको मौसमविद् महर्जनले जानकारी दिइन् । यो मध्यम वर्षा हो ।

अहिले सातै प्रदेशमा बदली भएको र ती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । राति पनि आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महर्जनले बताइन् । 
उनका अनुसार मनसुन अवधिको आजसम्म देशभर सरदरको २१.७ प्रतिशत वर्षा भएको छ  । काठमाडौँ उपत्यकामा यो अवधिमा पर्ने सरदरभन्दा माथि वर्षा भएको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप