दुई महामन्त्रीलाई देउवाले दिएको जबाफको सन्देश के ?
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवा र महामन्त्री शर्माबीच नोकझोक भयो।
- महामन्त्री शर्माले देउवालाई प्रधानमन्त्री नबन्न र सम्मानजनक बहिर्गमनको बाटो रोज्न सुझाव दिए।
- देउवाले आफू कसरी अगाडि बढ्ने भन्ने विषयमा कसैलाई भन्न आवश्यक नरहेको बताए।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम दिन सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्माबिच नोकझोक नै भयो । पार्टी कार्यालय सानेपामा बसेको बैठकको अध्यक्षता गरिरहेका सभापति देउवाले महामन्त्री शर्मालाई मात्रै होइन, धारणा राख्ने क्रममा बिचमै अर्का महामन्त्री गगन थापालाई समेत रोके ।
दुवै महामन्त्रीलाई धारणा राख्ने क्रममा रोकेर ठट्यौली पारामा देउवाले जबाफ दिएको विषय यतिबेला चर्चामा छ ।
शर्माले धारणा राख्ने क्रममा सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न सुझाए । देउवा पाँच पटक प्रधानमन्त्री बनिसकेको भन्दै छैटौँ पटक प्रधानमन्त्री नबन्न महामन्त्री शर्माको सुझाव थियो ।
‘नीति र सिद्धान्तमा एकता छ । विवाद या प्रतिस्पर्धा प्रधानमन्त्री पदका लागि या सभापति पदका लागि छ,’ बैठकमा धारणा राख्ने क्रममा शर्माले भने, ‘तेस्रो पटक सभापति बन्न पार्टी विधानले दिँदैन । अब ०८३ असारमा आफू छैटौँ पटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर प्रशंसा जित्नुपर्छ सभापतिले । सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ ।’
उनको त्यो भनाइ कांग्रेस र एमालेबिच २०८१ असार १७ गते भएको सात बुँदे सहमतिविपरीत छ । सात बुँदे सहमतिको बुँदा नं.४ मा लेखिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष माननीय श्री केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति माननीय श्री शेरबहादुर देउवाले गर्ने ।’
त्यही सहमति बमोजिम ओली २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए । उनी प्रधानमन्त्री भएको दुई वर्ष २०८३ असार २९ गते पुग्छ । त्यसपछि प्रधानमन्त्री बन्न मुख मिठ्याएर बसेका देउवालाई शर्माको त्यो भनाइले झस्कायो ।

शर्माको त्यो धारणापछि बिचमै रोकेर देउवाले पार्टीको विधान र आफ्नो कार्यकाल सम्झाए । ‘मेरो सभापति पदमा नियमित कार्यकाल चार वर्ष हो । पार्टी विधानअनुसार एक वर्ष कार्यकाल थप गर्न पाइन्छ । संविधानअनुसार थप ६ महिना थप्न पाउने व्यवस्था छ,’ देउवाले भने ।
देउवाले आफू कसरी अगाडि बढ्ने भन्ने विषयमा कसैलाई भन्न आवश्यक नरहेको बताए । ‘म के गर्छु, मेरो कुरा हो । मैले कसैलाई पनि भनेर गर्ने होइन,’ महामन्त्री शर्मालाई लक्षित गर्दै देउवाले भने, ‘म अप्ठ्यारो मानिस हुँ नि ! विचार गर्नुस् ।’
देउवाले असार १३ गते नेपाली कांग्रेस चितवनले सेनानी स्वर्गीय गौरीदेवी प्रधानको सातौँ दिनको पूण्यतिथिको कार्यक्रममा आफू रिटायर्ड हुन लागेको भनेर बताएको सन्दर्भ निकाल्दै प्रधानमन्त्री पनि नबन्न शर्माको सुझाव थियो ।
त्यो कार्यक्रममा देउवाले भनेका थिए, ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’

त्यही सन्दर्भ निकालेर शर्माले बैठकमा भनेका थिए, ‘मेरो रिटायर्ड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ भनेर सभापतिज्यूले चितवनमा बोल्दा यति धेरै प्रशंसा भयो । यो प्रशंसनीय छ । पार्टी एक बनाउँछु भन्नुभयो । यो पनि सकारात्मक कुरा हो । मेरो आग्रह छ– सभापतिज्यू सबै कुरा गरिसक्नु भएको छ, ०८३ को असारमा जाँदै गर्दा अरू कुनै साथीलाई प्रस्ताव गरेर सभापतिज्यूको उचाइ सगरमाथाको उचाइभन्दा माथि उठ्नुपर्छ ।’
त्यसपछि जङ्गिएर शर्मालाई रोकेका देउवाले आफ्नो अवकाशबारे आफैँले बिचारेर अघि बढ्ने, कसैले भनेर नहुने बताएका हुन् ।
देउवासँग केन्द्रीय समितिमा भएको बहसबारे बाहिर केही नबोल्ने शर्माले बताए । ‘केन्द्रीय समितिमा मैले धारणा राखेको छु । त्यसमा सभापतिज्यूलाई प्रधानमन्त्री बन्ने र पार्टीबाट अवकाश हुने उहाँले नै व्यक्त गरेको धारणा सम्बन्धमा मिडियामा प्रशस्त आएकै छ,’ शर्माले रातोपाटीसँग भने, ‘यसबारे अहिल्यै बाहिर मिडियामा थप नबोलौँ । बोल्ने बेला आएपछि बोलौँला ।’
देउवाले बोल्दाबोल्दै महामन्त्री शर्मालाई मात्रै होइन, अर्का महामन्त्री गगन थापालाई पनि रोकेका थिए ।
सोमबार नै केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा महामन्त्री थापाले पहिला आफूलाई सभापतिलाई असहयोग ग¥यो भनेर आलोचना गरियो, अहिले सहयोग ग¥यो भनेर आलोचना गर्ने काम भइरहेको गुनासो गरेका थिए ।
_hmkcrty5aw_YfDjTN7KsM.jpg)
महामन्त्री थापाले बैठकमा भनेका थिए, ‘पहिला म सभापतितिर नलाग्दा सभापतिलाई असहयोग ग-यो भनेर कुरा आए । अहिले उहाँलाई सहयोग गरेर पार्टीलाई एक ढिक्का बनाउँ, चुस्त दुरुस्त रूपले अडाडि बढाउने प्रयास गरौँ भन्दा पनि सभापतितिर लाग्यो भन्दै आलोचना भइरहेको छ ।’
थापाले यी भनाइ राख्दैगर्दा देउवाले बिचमै रोकेर भने, ‘होइन होइन, महामन्त्री मतिर लागेको होइन । म ऊतिर लागेको हो ।’ त्यसपछि केन्द्रीय समिति बैठकमा एकछिन हाँसोको फोहरा छुट्यो ।
कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र दुई महामन्त्रीबिच बैठकमा धारणा राख्ने क्रममै संवाद भएको नभई हँसीमजाक भएको बताए । विश्वकर्माले रातोपाटीसँग भने, ‘महामन्त्रीज्यूले हाँस्दै सभापतिबाट रिटायर्ड लिन्छु भनेर सभापतिज्यूले सार्वजनिक कार्यक्रममै भन्नुभएको छ । त्यो सँगै २०८३ मा प्रधानमन्त्रीमा आफू नबनेर पार्टीको नयाँ पुस्ताका नेताहरूलाई सिफारिस गर्नुस्, तपाईंको उचाइ अझै बढ्छ भन्नुभयो । सभापतिज्यूले हाँस्दै अरुले भनेर होइन, म आफैँ जानेर अगाडि बढ्छु भन्नुभयो ।’
महामन्त्री शर्माले उठाएको विषय सहमतिका सन्दर्भमा नभइ देउवाले १५ औँ महाधिवेशनबाट अवकाश लिन्छु भन्ने सन्दर्भमा मात्रै भएको विश्वकर्माको भनाइ थियो । ‘महामन्त्री शर्माले एमालेसँगको सहमतिलाई गाह्रो पार्ने तरिकाले भन्नुभएको होइन । सभापतिज्यूले पार्टीको १५ औँ महाधिवेशनबाट रिटायर हुन्छु भनेर सार्वजनिक कार्यक्रममै भन्नुभएको छ । त्यसै जोड्नु भएको हो ।’
तर, कांग्रेसका नेताहरू भने देउवाले महामन्त्री शर्मालाई देखाएर ‘अर्ली महाधिवेशन’ भन्नेहरूलाई जबाफ दिएको बताउँछन् । ‘पार्टीमा युवा भनिएका नेताहरूले अर्ली महाधिवेशन गर्ने र छिटो महाधिवेशन गर्ने भनिरहेका छन् । केन्द्रीय समिति बैठकमा सभापतिले उनीहरूलाई शर्मालाई जबाफ दिए जसरी कानुनले दिएको समयसम्म बस्छु । जति कराए पनि छोड्दिनँ भन्ने सन्देश दिएका हुन्,’ एक नेताले भने ।
देउवाको यो भनाइ उनको विरुद्धमा बोल्दै आएकाहरूलाई प्रहार भएको नेताहरू बताउँछन् । ‘म आफ्नो खुसीले अडाडि बढ्छु । कसैको सुझावमा होइन भन्नु नै तिमीहरूले भनेर केही हुन्न । मेरो निर्णय मैले नै लिन्छु भनेर दिएको जबाफ हो,’ कांग्रेसका एक पदाधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण