शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कथा

खामभित्रको चिठी

शनिबार, ०३ साउन २०८२, १३ : ०१
शनिबार, ०३ साउन २०८२

उत्तर शर्मा चोकदेखि दक्षिण नवराजपुरसम्म लमतन्न अजिङ्गरझैँ तन्किएको एउटा ठुलो फराकिलो पच्याङ डगर प्रधानपञ्च जीवनाथ दुलालकै पञ्चायतकाले पञ्च वर्षीय योजनामा खनिएको थियो । अहिले सहरको हिसाबले भन्नुपर्दा त्यो बाटोलाई ठिक चार लेनको बाटोभन्दा कति पनि फरक नपर्ला । हो, त्यही बाटोको पूर्व फुटबल ग्राउन्डझैँ परपरसम्म फैलिएको एकै चक्ला सात बिघा जमिन थियो, र्‍वाले माइलाको । 

स्व. भिमाने र्‍वालेका जन्मिएका तीनभाइ छोरामध्ये जेठो र कान्छो छोरो मरिसकेका थिए । बाँचेका यिनी मात्रै थिए । छोरामा माहिलो भएका कारण पनि यिनलाई गाउँमा सबैले र्‍वाले माइला/र्‍वाले माइला भनेर यही नामले बोलाउने गर्थे । कालान्तरमा आएर यिनको नामै यही र्‍वाले माइला रहन गयो । 

०००

र्‍वाले माइला आफ्नै घरको टाँडबाटै हरियै भई मौलाउँदै गरेको पसाउनै लागेको गहुँखेत नियालिरहेका थिए । 

गहुँमा गाउँको कालो बिउ साँढे चरप–चरप गर्दै चरिरहेको थियो । ऊ पूर्वदेखि चर्दै परऽऽऽ पश्चिम कुनासम्म पुग्यो । गहुँ चरेर डम्म भई दुवै पेट माथिसम्म उठे । ऊ त्यही गहुँमाथि थचक्कै बस्यो । उसले हग्यो पनि, मुत्यो पनि । अनि चरप–चरप पागुर लाउन थाल्यो ।

फेरि ऊ बसिरहेको ठाउँबाट निमिषमै ठाडो पुच्छर पारी गहुँ खेतमा बुर्कुसी मार्दै राइँदाइँ गर्दै सबै गहुँ सत्यानाश पारी दौडियो । हेर्दाहेर्दै गहुँबारी हावाहुरीले ढालेका धानजस्तै सोत्तर भएर लडे । फेरि ऊ दौडँदै आई आफ्नै गोठकी माली गाईमाथि बहाल लाग्न घ्याप्प घोडा चढी गाईलाई थचक्कै बसायो ।

गाईले जिब्रोले साँढेको निधार चाट्यो, छाती चाट्यो, पछाडितिरको फिला चाट्यो, साँढेले मुत्दै गर्दा पिसाबको स्वाद चाख्यो । फेरि दुईवटा सिङले उसको गर्दनतल घोच्दै आफूमाथि चढ्ने दोबारा इसारा गर्‍यो । मानौँ, ऊ अझै यौनानन्दबाट तृप्त भएको छैन । इसारा पाउनेबित्तिकै साँढे फेरि ऊमाथि बहाल लाग्न उत्तिखेरै घ्याप्प घोडा चढिहाल्थ्यो । मानौँ, कुनै पत्नीको आग्रहलाई स्वीकार गर्दै कुनै ज्ञानी पतिले उनको अतिशय यौनेच्छालाई बुझेजस्तो ।

त्यसरी साँढेले बहाल लाग्दा गाई झनै खुसी भएको देखिन्थ्यो । ऊ प्रेमक्रीडामा उत्पात रमाएको देखिन्थ्यो । उसका आँखा औँसीको राति आकाशमा चम्किने ताराहरूझैँ खुसीले चम्किरहेका देखिन्थे । मानौँ, ऊ यौनको भोकले वर्षौंदेखिको भोकाएको हुँदो हो । यौनको प्यासले वर्षौंदेखिको तिर्खाएको हुँदो हो । 

फेरि त्यही कालो साँढे कतिखेर हो कैबारीको हरियो मकै चरिरहेको थियो । र्‍वाले माइलालाई खपिसक्नुुभएन छ क्यारे, दैलोको कुनोमा करुवा तेल खुवाई अड्याइराखेको ठुलो बाँसको लौरो लिएर साँढेलाई कुट्न भनी दौडिए, मकै बारीतिर ।

साँढेलाई कुट्न त तीन कोस परै जाओस्, उनलाई त्यही साँढेले उल्टै लखेट्दै लग्यो । उनलाई आफ्नै ज्यान बचाउन हम्मेहम्मे भएर आयो र रतुवाझैँ दौडिँदै बेतोडले भागे । साँढे पछिपछि दौडँदै आयो र सिङले उनको नितम्बमा हान्यो । खेलाडीले फुटबल सट् हानेजस्तै गरी आकाशमाथि गई डङ्ग्रङ्ङ जमिनमा एकाएक बजारिए उनी ।

०००

उनी अकस्मात् खाटबाट तल झरे र एकाएक झसङ्ग भई सपनाबाट ब्युँझे । 

ती सबै एकेक दृश्य विपनामा होइन उनले सपनामा देखेका थिए । 

माइलीलाई विवाह गरी ल्याई पहिलो सुहागरात मनाउँदा ‘छ्या ! के बाँदरजस्तो मात्रै उफ्रेको ? छैन कि क्या हो, बाहिरै हरायो त ? छ्या ! कस्तो पोलेर आयो’ भन्दै धकेली हुत्याइदिएको उनले त्यो तिरष्कृत क्षण पनि सम्झे ।

उनी फेरि जुरुक्क उठ्दै र खाटमाथि चढे । अँध्यारोमै बिछ्यौनालाई हातले सबैतिर छामछाम छुमछुम पारे तर खाटमा माइली थिइनन् । उनको सातोपुत्लो उड्यो । उनको हंसले ठाउँ छाड्यो । निमिषमै उनको शरीर बाफिँदै आयो । उनका जिउ हात सबै जिरिङ्ग भएर आयो । उनी तुरुन्तै रातोपिरो भए । उनको ललाटबाट चिट्चिट् पसिना आयो । एकैछिनमा खलखली पसिनाका झरीले उनलाई लुथ्रुक्कै भिजाइछाड्यो । डर, त्रास र शङ्काहरूले उनलाई एकैसाथ विषालु सर्पले झैँ डस्न थाल्यो । 

उनलाई मनमा लाग्यो, माइली दिसापिसाब गर्न तल झरेकी होली । आइहाल्छे नि एक छिन पछि । आज मात्रै हो र ? अरु दिन नि त जान्थिन्, दिसापिसाब गर्न एकाध घण्टापछि आइहाल्थी । 

उनले यस्तैयस्तै सोचेर निदाउने कोसिस गरे तर योचोटि भने उनको निद्राको भोक मर्‍यो । सपनामा देखेका घटना र दृश्यहरूले उनलाई नराम्ररी बारुलोले झैँ चिलिरहे । यही दृश्यहरूले उनलाई शङ्कैशङ्काको जालोमा बेरिदिए । धेरै समयदेखि मनभित्र उकुसमुकुस भई झाँगिइरहेका शङ्कालाई आज उनलाई छिमल्नु थियो । 

उनी निदाएनन् भन्दा पनि उनलाई आँखाबाट निद्रा नै चोरी भएजस्तो लाग्यो । मानौँ, उनको निद्रा होइन, उनका आँखा नै कसैले चोरी लगेजस्तो । गुँडबाट चरी उडेझैँ उनको निद्रा उडेर कता गयो गयो । बेपत्ता भयो । आज उनलाई किन हो किन माइलीले उत्पात छटपटी गराइन् । उनी पिरोलिनुसम्म पिरोलिए ।

छटपटीका बिसाउने कुनै चौतारो हुने भए उनलाई एक भारी छटपटी बिसाउँथेजस्तो लाग्यो । दायाँ कोल्टो फेरे, बायाँ कोल्टो फेरे । यसै गरी उनले पटकपटक कोल्टे फेरिरहे । तर उनको मनभित्र कतैबाट शान्तिको एक मुठी शीतल बताससम्म छिर्न सकेन । उनी चिसिँदै चिसिएनन् । झन्झन् उनीभित्रका शङ्काहरू भकभकी एकनासले उम्लिँदै गए । 

तर पनि उनी यसरी छटपटाउँदै माइली आउने आशामा छटपटी नै रहे । उनको तरुणो आशा यसै छिप्पिएर बुढो भयो, तर माइली अहँ अझै आइनन् । बिछ्यौनाबाट एकाएक माइली हराएकीमा सपनामा देखेका प्रत्येक विम्बका अर्थ उनले माइलीसँग दाँजेर एकेक गरी कोट्याउन थाले । 

सपनामा देखेका घटना र दृश्यका जे अर्थ भए पनि उनले भने मनमनै यसरी सोचे, ‘सपना जैल्यै उल्टो हुन्छ भन्छन् । सायद, सपनामा देखेको हरियो गहुँ मेरी माइली हुनुपर्छ । अनि गहुँ चर्ने कालो साँढे मेरै हलीचक्रे हुनुपर्छ । गहुँमाथि हग्नु, मुत्नु र चरप–चरप पागुर लाउनु भन्याचैँ मेरै माइली र धन–सम्पत्तिमा मोज गर्नु हुनुपर्छ । गहुँबारीमा राइँदाइँ गर्नु भनेको अर्थात् मेरै माइलीमाथि नै राइदाइँ गर्नु हो ।’

उनले जतिजति सम्झे झन्झन् उनलाई उति नै औडाहा भएर आयो । उनीभित्रका शङ्कालु खरमा झन्झन् आगो सल्किँदै गयो । उनी झन्झन् दनदनी भित्रभित्रै डढ्दै गए । 

फेरि उनको अर्को मनले भन्यो, ‘बाटो छेउको बाली जति नै गर्दा नि वस्तुले बाली खाइहाल्छ । यसै पनि बाटो छेउको बाली खाने भाग्य सबै किसानका निधारमा काँ लेखिएका हुन्छन् र ? त्यो निधारमा नलेखिएको अभागी किसान म आफैँ हुँ ।’

फेरि उनले झट्टै सम्झे सपनामा चक्रेसँग सवालजवाफ हुँदा भनेको,  ‘तैँले अरू कुनै काम पाइनस् ? तँलाई मेरै नयाँ जुत्ता लाइलाई थोत्रो पार्नुपर्ने ।’

‘अनि, न ला’र के गर्नु दाइ ? तपैँ जुत्ता किनेर खुट्टै छिराउनुहुन्न । यसरी त जुत्ता बिग्रिहाल्छ नि दाइ । त्यै भ’र मैले लाइदे’को । कमसे कम जुत्ता नलाई बिगार्नु भन्दा त ला’र बिगार्नु राम्रो नि दाइ ।’

उनलाई लाग्यो, चक्रेले सपनामा लाउने आफ्नो नयाँ जुत्ता आफ्नै माइली हो । 

सपनाका सबै दृश्यहरू एकेक सम्झी सम्झी रिसले उनी भित्रभित्रै उत्तिखेरै आगो हुन्थे भने घरी डरले उत्तिखेरै लगलग काम्न थाल्थे । उनीभित्र रिसको आगो दन्किनुभन्दा बढी डर र त्रासका हिउँले उनलाई जमायो । अघि भर्खरै खलखली आएको पसिना उत्तिखेरै सुकिलो भई आयो । निमिषमै उनको शरीर चिसिएर बरफझैँ भएर आयो । उनी यस्तैयस्तै शङ्काका बरफले भित्रभित्रै कठाङ्ग्रिन थाले ।

उनलाई के गरुँ के गरुँ भएर आयो । एकातिर डरका तीखा सोलाहरू बनी उनलाई घोचिरहेका थिए भने अर्कोतिर माइली अझै पनि बिछ्यौनामा नफर्केकी पीरले उनलाई नराम्रो गरी चिमोटिरह्यो । 

उनलाई मनमा लाग्यो, यही हो एउटा मौका माइलीलाई खोज्ने । यत्रो समय त पक्कै नि माइलीलाई दिसापिसाब गर्न लाग्दैन । क्यै चक्कर त अवश्य हुनुपर्छ । बिस्तारै कसैले थाहा नपाउने गरी बिरालोको चालमा माइली र चक्रेको गतिविधि बुझ्नुपर्‍यो । 

उनले आफूलाई दह्रो बनाए । लामो सास फेरे । छाती चौडा बनाए र मनभित्रका सबै डरहरूलाई एकैसाथ पोली खाए र बिरालोको चालमा छपकछपक गर्दै सुत्ने कोठा बुइँगलबाट बाहिर ओसरामा आए र शनैः तल सिकुवामा झरे ।

आँगनमा हेरे – छैनन् माइली । 

दायाँ हेरे – छैनन् माइली ।

बायाँ हेरे – छैनन् माइली । 

ठुलो परालको कुनिउँतिर पनि गएर हेरे– छैनन् माइली ।

जुनेली रातको टहकमा निधारमा हातलाई पाली बनाई परपरसम्म चियाई हेरे तर कतैकतै देखिइनन् माइली ।

उनले निमिषमै चक्रे सुत्ने गरेको गोठ छेउको मचान सम्झे ।

उनको मनमा निमिषमै शङ्काको बाढी ह्वात्त उर्लियो । माइली कैं छे त त्यै चक्रे सुत्ने मचानमै छे । कोइसित छे त त्यै चक्रेसँगै छे ।

उनले त्यही मचानतिर बिस्तारै बिरालो चालमा छपकछपक गर्दै पाइला अघि बढाए । मचान आउन यस्तै करिब पाँच–सात मिटरजस्तो बाँकी थियो । उनले मचान मचकमचक गरी मच्किएको चाल पाए । उनको मन झन् नराम्ररी चस्कियो । 

उनलाई लाग्यो, यैँ हुनुपर्छ माइली ।

उनलाई झन् औडाहा भएर आयो । अघि भर्खरै बरफ भई चिसिएको पूरै शरीर निमिषमै आगो भएर दन्कियो । फेरि उनी स्वयंले आफूलाई तुरुन्तै नियन्त्रणमा राख्दै अझै मचान मच्किएको चाल सुनेर माइली भए नभएकी निक्र्योल गर्ने निधो गर्दैै थोरै अघि बढे । 

झन् झन् अझै जोडजोडले घचघच गर्दै मचान मच्किँदै गयो । मचान मच्किनु मात्रै कहाँ हो र शनैः सासे स्वरमा माइलीले चरमानन्द लिँदै अआइई पढेको सुन्दा उनी आगोमाथि आगो भए । यसरी उनीहरू दुवैलाई र्‍वाले माइलाले रङ्गेहात समातेका आज पहिलो दिन थियो । 

उनी एकाएक भित्रभित्रै खलखलीय । उनी आफैँभित्र भुलुकभुलुक उम्लिए । उनीभित्र निमिषमै क्रोधको बाढी उर्लियो र शनैः बिरालोको चालमा फर्की भान्सा कोठाभित्र छिरे र हातमा लिइराखेको टर्च बाले । उज्यालो दौडँदै गई भित्तामा टल्किरहेको दापमा टक्क अडियो । दापबाट खुकुरी झिके र फेरि मचानतिरै फर्के ।

शनैः चाल नपाउने गरी अखटोबाट मचानमाथि उक्लिए र माइलीमाथि पिङझैँ मच्चिइरहेको चक्रेको घाँटीमा खुकुरी प्रहार गर्ने निधो गरे । फेरि उनी निमिषमै झस्किँदै भने, ‘हैट् ! यसो गर्नुहुन्न ।’

त्यसरी हत्या गर्ने विचार उनीभित्रको मात्रै एउटा भ्रम थियो । उनीभित्रको कल्पनाको अर्को एउटा अपरिचित हत्यारा पात्र मात्रै थियो त्यो । उनी उम्लिएर पोखिए तर बग्ने ठाउे कतै थिएन, उनका लागि । आफैँ मुर्मुरिनसम्म मुर्मुरिए । उनी आफैँभित्र कुच्चिए । उनी सिसाभँैं आफैँभित्र झर्‍याम्म भई फुटे र टुक्रिनसम्म टुक्रिए ।

उनी मनभित्रै परालझैँ हुर्र बले र उत्तिखेरै निभे । फेरि हुर्र बले, फेरि निभे, निमेषमै खरानी भइहाले । जब आगो बलेर कोइला हुन्छ र कोइला जलेर खरानी हुन्छ तब खरानीमा आगो कहिल्यै सल्किँदैन । हो, ठिक त्यस्तै गरी खरानी भए र्‍वाले माइला पनि । अब उनलाई फेरि फेरि सल्किनु थिएन । अब उनलाई फेरि फेरि जल्नु थिएन । उनी बस् खरानी भए र आफ्नो आगोेझैँ रिस पानीमा पोखी शान्त भए । 

त्यसपछि उनी लुसुक्क फर्की टाँडमाथि उक्लिए । आफ्नै बिछ्यौनामा आए र टर्च बाले । टर्चको गोलो उज्यालो भित्तामा दौडिँदै गई घडीतिर टक्क उभियो । घडीको सुई ९० डिग्रीको कोणमा एल बनेर अडिँदै सेकेन्ड सुई टिकटिक गर्दै चल्दै गरेको देखियो । अर्थात् भनुँ, बिहानको ठिक ३ बजिसकेको थियो । उनले बिछ्यौनाको पातलो कम्बल तानेर घाँटीदेखि तल सबै जिउ ढाकिने गरी छोपे र पूर्व फर्की कोल्टे फेरे । 

उनले मनमनै भने, ‘सायद, माइली चक्रेसँग सन्तुष्ट छे र खुसी पनि । चक्रे खाइलाग्दो ज्यानको र पुरुषत्वले भरिपूर्ण छ । उनी धेरैधेरै माया गर्छे चक्रेलाई र चक्रे पनि माइलीलाई । माया त म नि गर्छु माइली तँलाई आफैँलाई बिर्सी । तर तँ जुन माया खोज्छेस् मबाट, त्यो दिन म सक्दिनँ । म मात्रै नामको लोग्ने बनेँ तर पुरुषत्व भएको लोग्ने बन्न सकिनँ । 

माया त तँ नि गर्छेस् मलाई तर लोग्नेको जस्तो होइन मात्रै एक सम्झौताका लागि । माया र सम्झौताबिच कुनै सम्बन्ध छैन, जसरी छैनन् सम्बन्ध मृत्यु र जीवनबिच । हो, ठिक त्यस्तै गरी छैनन् तँ र मेरोबिच । यो सबै हुनु भनेको म नै एक मात्र कारण हुँ ।’

उनले अकस्मात् टर्च बाले र कट्टु खोलेर हेरे आफ्नो त्यो । सप्रेको कुनै खुम्रेकिरोभन्दा ठुलो थिएन, उनको त्यो । उनी एकाएक खिन्न भए र खुइय्य गर्दै लामो सास तानी बाहिर फाले । 

उनले माइलीको जिउडाल सम्झे, बैँस सम्झे, उमेर सम्झे, चक्रेलाई सम्झे र आफूलाई पनि सम्झे । उनलाई एकाएक आफू माइलीको महाअपराधि जस्तो लाग्यो । आफ्नो कारणले माइलीलाई कारागारमा बन्धक बनाई राखेर सजाय दिएजस्तो लाग्यो । 

उनलाई आफू पुरुषको खोलभित्र नपुंसकको जुलुङ्गो ठिङ्ग उभिएजस्तो लाग्यो । उनलाई एक निमिष पनि बाँच्छु जस्तो लागेन । उनलाई पासो लागी क्षणमै मरुँजस्तो लाग्यो । उनले आफैँले आफैँलाई धिकार्नु धिकारे । उनलाई माइलीको सिउँदो भर्ने आफ्नो हातै काटेर फाँलुजस्तो लाग्यो । 

उनलाई एकाएक लाग्यो, माइलीको लोग्ने बन्ने मलाई कुनै अधिकारै छैन जस्तो । उनी आफैँलाई आफैँदेखि घृणा लाग्नुसम्म लाग्यो । उनी निमिषमै आगो भए । फेरि निमिषमै निभे । उनी निमिषमै उम्लिए र निमिषमै चिसिएर बरफ भए । उनलाई फेरि निमिषमै माइली र चक्रेप्रति टिठ पलाएर आयो । 

उनले मनमनै भने, ‘स्याबास चक्रे, स्याबास ! मेरी माइलीलाई समाल्याछस् तैँले । तेरै वीर्यमा लेख्या छ मेरो वंश र वारिस ।’

उनले आफू सानो हुँदा केटाकेटी साथीहरूसँग नाङ्गै भुतुङ्गै भई दौडिएका क्षण सम्झे । साथीसाथीबिच ‘त्यो कसको ठुलो छ’ भनी ‘प्रतियोगिता’मा भाग लिँदा आफ्नो सानो भएकै कारण आफू अपमानित भएको पल सम्झेँ ।

उनले धने, बिरु र शङ्करले ‘ए, यसको त यित्रु रै’छ’ भन्दै उल्लीबिल्ली पारेका क्षण सम्झे ।

उनले फेरि केटाकेटीहरूले एकर्कामा बिहेबारी गरेका क्षण सम्झे ।

त्यही लहैलहैमा लागी आफूलाई बिहे गर्न मन लागेर आफ्नै घरछेउकी केटी साथी किस्नीलाई, ‘ऐ, किस्नी तँ मसँ गब्या गर्छस् ?’ भनेका क्षण सम्झे । 

गर्छु तँसँग ब्या, तेरो त यित्रु छ । म त त्यो ठुलो भा’को केटासँग ब्या गर्छु बाबै’ भन्दै किस्नीले पनि उल्लीबिल्ली पारेकी क्षण सम्झे ।

माइलीलाई विवाह गरी ल्याई पहिलो सुहागरात मनाउँदा ‘छ्या ! के बाँदरजस्तो मात्रै उफ्रेको ? छैन कि क्या हो, बाहिरै हरायो त ? छ्या ! कस्तो पोलेर आयो’ भन्दै धकेली हुत्याइदिएको उनले त्यो तिरष्कृत क्षण पनि सम्झे । 

यदाकदा सुनिन्थे गाउँमा गाउँले आइमाईहरूबाट, माइलाको त यित्रु छ रे । हात्तीको आङमा कमिलो हिँड्या जस्तो । त्यसमा नि झर्‍यो भने उल्टै बाँदरले के जाती गर्‍याजस्तै भतभती पोल्छ रे ।

‘विनाहलीको खेतीपाती समाल्न गाह्रो हुन्छ ज्वाइँ । हाम्रै हली चक्रेलाई सङै ले’र जानुहोला ज्वाइँ । सोझो र इमानदार छन् यिनी । यिनले राम्ररी खेतीपातीदेखि ले’र सबै काम समाल्छन् र पूर्णिमालाई पनि खुब ख्याल गर्छन् ज्वाइँ ।’ भन्दै विवाह गरेको पाँच वर्षपछि दसैँमा ससुराल टीका लगाउनु जाँदा सासुले हली चक्रेलाई दक्षिणा स्वरूप जिम्मालाई दिएकी उनले झलझली सम्झे । 

अन्ततः उनी एउटा महत्त्वपूर्ण निर्णयमा पुगे । उनले जे निर्णय गरे पनि आफू र आफ्नै धन सम्पत्ति र माइली पूर्णिमाकै हकहित र भलोका लागि निर्णय गरेका थिए । 

उनी आफू सन्तान जन्माउनमा असक्षम भए पनि हली चक्रेमाथि उनले निकै ठुलो सम्भावना झलझली देख्न थाले । उनीभित्र सल्किएका क्षणिक रिस, राग र मूर्खताको आगोलाई उनले बुद्घिको सङ्लो पानीले निभाउने जुक्तितिर जुटे । घर, परिवार, वंश, सन्तान र धनसम्पत्ति भन्ने चिज अतिशय महत्त्वपूर्ण रहेछन् भन्ने कुराको अर्थ उनले बल्ल अनुभूति गर्न थाले । उनलाई एउटै कुराको चिन्ता थियो, पिताको बिँडो र वंश कसरी धान्ने भनेर । किनकि उनीबाहेक अरू वंश धान्ने सन्तान कोही थिएनन् तर उनी पनि नपुंसक निस्केका थिए । 

उनी यस्तैयस्तै कुराहरू सम्झेर भित्रैदेखि नै उज्यालिए । उनलाई अनायासै चक्रे आफ्नै अँध्यारो कोठाभित्र घाम बनी बास माग्दै आएजस्तै लाग्यो । 

उनलाई एकाएक जुक्ति फुर्‍यो र चुट्की बजाउँदै भने, ‘आइडिया ! अब जे गर्छ यो माइलाले गर्छ । अब जे गर्छ र्‍वाले माइलाले सही गर्छ र बुद्घिका साथ गर्छ ।’ 

उनीभित्रका कमी, कमजोरी, भ्रम र नपुंसकताका अँध्यारोका ढोका घर्‍याप्प खोल्दै उनी उज्यालोमा प्रवेश गरे । 

उनले फेरि पश्चिम कोल्टे फेरे र आफैँले चेपेको कम्बल ताने र जिउ छोपी निदाएजस्तो गरे ।

०००

माइली बिस्तारै भर्‍याङ चढिन् र टाँडमा उक्लिन् । अनि घोप्टे घर्‍याप्प पारी लगाइन् । सुत्ने कोठाभित्र छिरिन् । थुचुक्क बसिन् र उत्तानो पल्टिन् । माइलाको शरीरले चेपिएको कम्बल बिस्तारै तानिन् र निदाउने कोसिस गरिन् ।

माइलीले कम्बल तान्दै गर्दा माइला ब्युँझिएझैँ गरे । उनलाई लाग्यो, माइलाको निद्रा टुटेछ कि क्या हो ? ब्युँझेजस्तो गरे त माइलो ।

‘माइला ब्युँझ्या हो कि तन्द्रामै हौ तिमी ?’ माइलीले घिउजस्तै नरम बोलीमा सोधिन् ।

कताकता माइलीभित्र डर र त्रासका हुरी त चलिरहेका नै थिए । उनी आफैँभित्र डरले सल्किएको शङ्काको आगो माइलाको विचार बुझेर निभाउन चाहन्थिन् ।

माइलाले ‘हुँ’ भन्दै यत्तिमै रोकिए र ‘घुर्र... घुर्र...घुर्र...’ गरी घुरेजस्तो गरे । 

‘कतिखेर आ’की तँ ?’ फेरि एकछिन पछि अर्धनिद्रामै बोलेजस्तो बहाना गर्दै सोधे माइलाले । 

‘भर्खरै ।’

‘के सन्चो भ’न तँलाई ?’

‘अँ, निकै पखाला चलेर आयो ।’

‘सुत्, सुत् ।’ यति भन्दै माइला लामो लामो सास फेर्दै घुरेको नाटक गर्न थाले । 

‘घुर्र... घुर्र... घुर्र... ।’ 

माइलाका उही पुरानै नाक बजेको घुराई ।

अब भने माइली ढुक्क भइन् र निदाइन् ।

०००

बिहानै माइला ओसराको बेन्चमा बसी बिँडी तानिरहेका थिए । उनका लागि माइलीले चिया लिएर आइन् । 

‘माइली, बेलैमा खाना बना है त । आज सखारै तँ र म जलेश्वर मालपोत कार्यालय जानुपर्छ । अनि मेरो कागजात राख्ने झोलामा नबिर्सीकन तेरो नागरिकता र चार प्रतिपासपोर्ट साइजको सादा फोटो राख्दे है त ।’ उनले माइलीले ल्याएकी स्टिलको गिलासको चिया समाउँदै भने । 

‘हस् ।’ यति भन्दै उनी भान्सा कोठाभित्र छिरिन् ।

माइलासँग अचानक जलेश्वर साथमा जानुपर्ने कारण नै बुझिनन् न त उनलाई सोध्ने आँटै आयो । उनको मनभित्र अनेकौँ कुरा खेल्न थाले । निमिषमै डरले उनको आङै जिरिङ्ग भई आयो र मनभित्र कताकता चिसो सिरोटेले हान्यो ।

उनीभित्रको अर्को माइली जुरुक्क उठिन् र भनिन्, ‘कैं चक्रे र तेरो सम्बन्धका बारेमा था त पाएनन् माइलाले ?’ 

फेरि उनको अर्को मनको माइलीले भनिन्, ‘होइन, होइन, था छैन माइलालाई ।’

फेरि मनभित्रको अर्को माइलीले भनिन्, ‘अँ, था छैन तेरो बाजे माइलालाई । सब था छ तेरो माइलालाई । न था’पाजस्तो गर्‍या मात्रै हो, बुझिस् ।’

‘होइन, होइन, था छैन, था छैन ।’

‘सब था छ तेरो माइलालाई । सब था छ ।’

उनी अनायासै निसासिइन् । उनी यही आफ्ना मनभित्रका शङ्काका आगोमा डढिरहिन् । डरैडरले उनी आगो छेउको रबरझैँ लल्याकलुलुक हुँदै गइन् । उनी यही चिन्ताले भित्रभित्रै असिनपसिन हुँदै उम्लिँदै गइन् र गल्दै गइन् । 

मजेत्रोको फेरोले उनले अनायासै झस्किँदै हतारहतार निधार र घाँटी पुछिन् । उनले आफूलाई निमिषमै सम्हालिन् र कुनै बियाँलो नगर्दै दालभात बसालिन् । तरकारी पकाइन् । चक्रेलाई भनेर तीनवटा अन्डा पनि तारिन् । 

उनले फेरि मनमनै भनिन्, ‘जलेश्वर किन सखारै जानुपर्ने होला कुन्नि । जलेश्वर त कि जग्गा पास गर्ने कामले गैन्छ । कि त कर तिर्ने कामले । फेरि मेरो के काम मालपोत कार्यालयमा ? फेरि नागरिकता र फोटो पनि भन्छन् । आऽऽऽ जेसुकै होस्, जाम् भनेसि जाने जाने ।’

उनले आफूभित्रका सबै डर र शङ्कालाई एकैसाथ उखेली फ्याँकिदिइन् र निर्धक्क बनिन् । 

मन्दिर बनेको ठिक ६ महिनापछि माइला पूरै कषाय वस्त्रमा काँधमा झोला भिरी लामा–लामा दाह्री, लामा–लामा जट्टा परेका कपाल र खुट्टामा खराउ लगाई चिम्टा बजाई मन्दिरभित्र प्रवेश गर्दै गरेको पूर्णिमाले राति सपनामा देखिन् ।

माइला र चक्रेलाई खाना खुवाइन् । अनि त्यसपछि आफूले पनि खाइन् र भाँडाकुँडा पखालिन् ।

जलेश्वर सदरमुकाम जान बियाँलो होला भनेर हतारहतार कोठाभित्र पसिन् । ऐनाको अघि उभिएर सहर जाने हरियो सारी र ब्लाउज हतारहतार लगाइन् । ओठमा रातो लिपिस्टिक दलिन् । निधारमा मखमली टिका पनि लगाइन् । कतिकी राम्री देखिएकी छु भनेर ऐनामा आफूलाई घरी फर्कीफर्की यता हेरिन्, घरी फर्कीफर्की उता हेरिन् । उनलाई आफू यस्तो लाग्यो मानौँ, कुनै बैँसले भरिएकी हरियो पोथी सुगाजस्ती ।

र्‍वाले माइला जग्गापास गर्नलाई चाहिने जति लालपुर्जादेखि लिएर सबै कागजात झोलामा हाली माइली सिँगारिएकी पछाडि दैलोको कुनामा उभिएर हेरिरहेका थिए तर उनी भने माइलोदेखि बेखबर थिइन् । उनलाई माइली बिछट्टै राम्री लागेर आयो । उनलाई माइलीलाई एक फेर गम्लङ्ग अँगालु–अँगालुजस्तो लागेर आयो ।

उनी माइलीतिर अघि बढे र पछाडिबाट गम्लङ्ग अँगाल्दै ठट्यौली शैलीमा भने, ‘आज मेरी माइली के सारो बिछट्टै राम्री देखिएकी हौ ? मर्छु कि क्या हौ म त ?’

‘अँ साँच्ची ! म राम्री देखिएकी छु है चक्रे ?’ माइलीले पनि माइलाका दुई हात समाउँदै मुस्कुराउँदै जवाफ दिइन् । फेरि निमिषमै झस्किन् र पानीको कालो बादलले घामलाई छेकेर एक्कासि दिन अँध्यारो भएजस्तो उनी अँध्यारो भइन् ।

उनी लाजले शिर झुकाउँदै भनिन्, ‘आचे ! मलाई त चक्रेजस्तो लागेर नि ।’

माइला एकाएक अँध्यारो भए तर उनी केही बोलेनन्, मात्रै फिका मुस्कान फ्याँके माइलीतिर ।

माइली आफू सिँगारिने भ्रममा पछाडिबाट माइलाले अँगालेको उनले कति पनि हेक्का नै राखिनन् । किन हो किन ? उनको मन–मस्तिष्क र दिल–दिमागमा चक्रे नै चक्रे चक्र बनी नाचिरहेको हुन्थ्यो । त्यसैले उनले माइलालाई पनि ऐनामा चक्रे नै देखिन् । उनको आवाजलाई पनि चक्रेको आवाजजस्तै लाग्यो उनलाई । उनलार्ई आफूलाई गम्लङ्ग अँगाल्ने पनि चक्रे नै लाग्यो ।

लाग्यो भन्ने पनि किन र ? उनको भ्रमको आँखाले ऐनामा चक्रे नै देखेपछि चक्रेलाई चक्रे भन्नु कुन ठुलो कुरा हो र ? उनले ऐनामा जे देखिन्, त्यही भनिन् । उनले कानले जे सुनिन्, त्यही भनिन् । सायद हामी पनि त्यही देख्छौँ, जे आँखाले देख्छौँ । त्यही सुन्छौँ, जे कानले सुन्छौँ । चाहे त्यो भ्रम नै किन नहोस् । 

माइला र माइली घरबाट निस्किए ।

०००

चक्रे पनि माइलाको झोला बोकेर उनीहरूलाई बस स्ट्यान्डसम्म बिदा गर्न आए । त्यसपछि उनले झोला माइलालाई थमाएर घरतिर फर्के ।

‘चक्रे, हामी आउँदासम्म बिउ राख्ने बिडार खेत तयार पारी राख्नु, भोलि बिउ छर्नुपर्छ । वर्षात्को समय नि भो, बुझिस् ?’ माइलाले फर्कंदै गरेको चक्रेलाई आकाशतिर हेर्दै भने । 

‘हस् दाइ ।’ चक्रे फरक्क फर्की यति जवाफ दिँदै घरतिर लागे । 

०००

मालपोत कार्यालय, जलेश्वर

उनीहरू दुवैजना जलेश्वर मालपोत कार्यालय पुगे । कार्यालयको प्राङ्गण मान्छेले भरिएको थियो । कोही कागजात बोकेर अघिअघि उक्लिँदै थिए भने उसका पछिपछि तीन–चारजना पछि लाग्दै थिए । यस्तै गरी माथिबाट पनि तीन–चारजना पछिपछि लाग्दै तल झर्दै गरेका देखिन्थे । कहीँकहीँ आठ–दशजना देशीहरू झुरुप्प भई सम्पत्ति बाँडफाँडमा चित्त नबुझेर बाझिरहेका पनि देखिन्थे । कोहीकोही काम सकेर निस्कँदै गरेका थिए भने कोही कोही ‘आज पनि काम नहुने भो’ भन्दै निराश भएर घरतिर फर्कंदै गरेका देखिन्थे । 

बाटोमा हिँड्नेसम्म ठाउँ थिएन । मान्छे हिँड्ने बाटोभरि मोटर साइकल/साइकल तेर्सो पारी पार्क गरिएको थियो । त्यही पार्क गरिएको मोटर साइकल/साइकलका बिच चेपिँदै चेपिँदै हिँडिरहेका देखिन्थे केही मान्छेहरू । भित्र टहरोमा ठाउँ ठाउँमा लेखापढी गर्ने प्रतिनिधिहरूका ससाना नाम लेखिएका साइनबोर्डहरू झुन्डिएका थिए । त्यही झुन्डिएका साइनबोर्डमध्ये एउटा साइनबोर्डमा लेखिएको थियो– मुन्सी— श्याम दयाल यादव । 

उनले माइलीलाई त्यही मुन्सी श्याम दयाल यादव लेखिएको साइनबोर्डतिर हात समाई डोर्‍याउँदै लिएर गए । 

उनलाई जबजब जग्गाको काम पर्छ, त्यहीँ आएर यिनै श्याम दयाललाई नै सबै काम जिम्मा लाउने गर्छन् । तिनी उनका बाउबाजेदेखि नै लेखापढी गर्ने एक मात्रै विस्वासिला मुन्सी हुन् । तिनी अहिले माइलाका स्व. पिताभन्दा पनि बुढा भएका छन् ।

उनले झोलाबाट सबै कागजात, नागरिकता, फोटो र लालपुर्जा निकाली सुकुलमाथि बिछ्याएको तन्नामाथि राखे । 

‘योयो नं. का कित्ता गरी जम्मा ६ बिघा खेत मेरी पत्नी पूर्णिमा रानाको नाममा (बकस पत्र) गरिदिने ।’ उनले लालपुर्जा खोलेर श्याम दयाललाई कित्ता देखाउँदै भने ।

यो सुनेर माइलीले उनको मुखतिर पुलुक्क हेरिन् र तीनछक परिन् । उनी न दुःखी भइन् न त खुसी नै । के हो ! के हो ! उनी रनभुल्लमा पर्नु परिन् । 

‘माइलाका मनभित्र के उम्ल्या छ हँ ? यिनले के गर्न खोजेका हुन् कुन्नि ।’ मनमा यस्तैयस्तै सोचेर माइली केवल टोलाइरहिन् । 

श्याम दयालका चेला बिरुले लालपुर्जा र पूर्णिमा रानाको नागरिकता हेर्दै नेपाली कागजमा सबै बेलिबिस्तार लगाई एकभरले भर्न थाले । भरिसकेपछि सबै कागजात बोकी उनी माथि उक्लिए । माइला पनि माइलीको हात समाउँदै बिरुको पछिपछि लागे । 

बाहिर बरन्डामा थुप्रै मान्छेहरू बेन्चमा बसी आराम गरिरहेका थिए । उनीहरू पनि खाली भएको बेन्चमा एक छेउमा गएर थपक्क बसे । 

बिरुले ५ नम्बरको कोठामा सबै कागजात बुझाए । कागजातको प्रक्रिया तीव्र गतिमा अघि बढ्यो ।

करिब दुई घन्टापछि उनीहरूलाई सही छाप गर्न भनी भित्र बोलाए । उनीहरू दुवैजना भित्र गए र दायाँ र बायाँ बुढीऔँला समाई उनीहरूबाट सहीछाप लगाइयो । लालपुर्जामा पनि पूर्णिमा रानाले सहीछाप गरिन् । 

‘लौ, काम सकियो हजुर ।’ बिरुले माइलालाई लालपुर्जा हातमा थमाउँदै भने र तल झरे । 

र्‍वाले माइला र पूर्णिमा राना पनि बिरुको पछिपछि लाग्दै तल ओर्लिए । 

उनले मुन्सी श्याम दयालका काम गरेका ज्याला र कार्यालयभित्रका करसर सबै गरी चार हजार पाँच सय रुपैयाँ एकमुस्ट उनलाई खनखनी गनेर बुझाए ।

अब माइली माइलीबाट पूर्णिमा राना ६ बिघा खेतकी धनी भइन् तर उनलाई भने बेमज्जा लाग्यो । तिउनमा नुनै हाल्न बिर्सिएजस्तो उनलाई खल्लो न खल्लो लाग्यो । 

उनले अझै पनि माइलाले के गरेका हुन् भन्ने बारेको कुनै सुइँकोसम्म थाहा पाउन सकिनन् । उनी अझै पूर्णरूपमा अन्योलमै रहिन् । कागलाई बेल पाक्यो कुनै हर्ष न विस्मात् । उनलाई ६–६ बिघा खेतका लालपुर्जा ठ्याक्कै यही बेलझैँ लाग्यो र आफू ठ्याक्कै काग । उही काग र बेल, बेल र काग, काग र बेल । 

०००

सातौँ रातपछि । 

जग्गापास गरेको सातदिनपछि पूर्णिमा राना बिहान ब्यँुझिएपछि एक्कासि अरल्लिइन् । बिछ्यौनामा माइला थिएनन् । माइलीले योभन्दा पहिला यसरी उनी बिछ्यौनाबाट एकाएक हराएका कहिल्यै चाल पाएकी थिइनन् । उनको सातोपुत्लो एकैसाथ उड्यो । 

उनी हतारहतार बुइँगलबाट तल सिकुवामा झरिन् । उनले आँगन, घर, खेत, गोठ र गाउँ सबैतिर खोजिन् तर उनलाई कतै पनि भेटिनन् । 

एकान दोकान गर्दै माइला बिछ्यौनाबाट एकाएक हराएको खबर खर घारीमा आगो सल्किएजस्तै गरी पूरै गाउँभरि सल्किँदै गयो । 

उनी निराश भई घर फर्किन् । फेरि चोटामा उक्लिन् र सुत्ने कोठामा छिरिन् । केही चिठीसिठी लेखेर छाडेका कागज भेटिन्छन् कि भनेर बिछ्यौना र तन्ना झारिन् तर पनि केही भेटिनन् । सिरानी वल्टाइपल्टाई गरिन् तर पनि केही भेटिनन् । सिरानीको खोलभित्र पनि केही छन् कि भनेर उनले खोलभित्र हात घुसारिन् । खोलभित्र भने एउटा ‘खामभित्रको चिठी’ भेटिन् । उनले खामलाई खोली हेरिन् । खामभित्र एउटा मोडेर राखिएको चिठी भेटिन् । उनले त्यही चिठीलाई खोलेर पढ्न थालिन् ।

मेरी प्यारी पूर्णिमा

तँमा एक अँगालो माया र आशीर्वाद ।

तँ ब्यानै ब्युँझिदा बिछ्यौनामा मलाई नदेखेर अरिल्लिन्छेस् होली । त्यसरी तँ नअरल्लिनु । म लामो समयका लागि तीर्थयात्रामा हिँडेको छु । यस्तो तीर्थयात्रा जहाँ पुग्नलाई मलाई मेरो सिङ्गै एक जीवनको समय लाग्छ । त्यो लामो समय कति मिनेट, कति घन्टा, कति दिन, कति साता, कति महिना र कति सालको हुन्छ, त्यो मलाई नै था छैन । यति बुझ्नु, त्यो लामो समय भनेको साँझमा भाले बास बसेजस्तो होइन पूर्णिमा । यसरी पनि बुझ्नु तैँले, घाटमा पुगेको मुर्दा घर फर्की कैल्यै आउँदैन । 

म जाँ हुनेछु, तैँसँग हुनेछु र तेरै मनभित्र हुनेछु । आफ्नै खेतबारी, घरआँगन, तँ र तँलाई माया गर्ने चक्रेको रखबारी गरिरहेको हुनेछु । आज म तँलाई मेरो नामको सिन्दुर लाउनबाट मुक्त गर्छु । सिन्दुर एक पुरुषत्व भएको पतिको पत्नीले लामो आयुका लागि लाउने गर्छिन् । तर म पुरुषत्व भएको पति तेरा लागि कैल्यै हुनै सकिनँ । 

मेरो नामको सिन्दुरका कारण तँ जैल्यै कैदीजस्ती भई बाँधिनुुपरेकी थिइस् । अब तैँले बाँधिनुपर्दैन । तैँले अब समाजको डर, घिन, घर, गाउँ र माइतीका मानमर्यादाका साङ्ला चुँडाल्नुपर्छ । म जन्मिँदै नपुंसक भएर जन्मिएँ, यो मेरो दोष थिएन । म भगवान्लाई पनि दोष दिन्नँ । म यसरी नपुंसक भएर जन्मनुको पनि कुनै कारण हुन सक्छ । हरेक सृष्टिका आ–आफ्नै कारण हुन्छन् । विनाकारण कुनै चिजको सृष्टि हुँदैन । 

यति बुझ्नु पूर्णिमा तैँले, तेरो, मेरो र चक्रेको एकसाथ भेट हुनुु पनि यो म एउटा ठुलै कारण देख्छुु । तैँले छिटो नै चक्रेलाई बाउ बन्ने मौका दिनू । अब यौटै विकल्प छ हामीसँग जो चक्रेको मायाद्वारा तेरो गर्भ भरिनेछ र त्यही गर्भमा हुर्कने छोराछोरी नै हाम्रा वारिस हुनेछन् । म दिनदिनै पिरोलिइबस्थेँ, वंश धान्ने वारिस मैले तँलाई दिन नसकेकामा । तैँले चक्रेलाई धेरै माया गर्नु र लोग्नेको दर्जामा राख्नु । चक्रे नै तेरा लागि उपयुक्त पुरुषत्व भएको लोग्ने हो । 

मैले तेरो नाममा ६ बिघा खेत नामसारी गरी दिनुको कारण, तँ यस गाउँमा बस्दा समाजबाट तँलाई आफू अपमानित भएकी अनुभूति भएर आयो भने कुनै पनि बेला तेरो नामको खेतबारी बेचेर अन्त कै बसाइँ सर्नु । म तेरो साथमा बसेर पनि तँलाई लोग्नेको माया दिन नसकेकामा म माफी चाहन्छु । मलाई माफ गरिदिएस् पूर्णिमा । मेरो नाउँमा रहेको त्यो एक बिघा खेत पनि राम्ररी कमाई खानु ।

तैँले यति बुझ्नु, कुनै दिन, कुनै महिना र कुनै साल कुनै साधुसन्त आएर ‘मलाई शिव भगवान्को नाममा मन्दिर बनाउन जग्गादान देऊ’ भन्यो भने त्यै मेरो नामको जग्गा मन्दिरलाई दान गरिदिनू । 

बुझ्नू तैँले, त्यो साधुसन्त तेरै बिछ्यौनाबाट एकाएक हराएका तेरै र्‍वाले माइला हुन् भनेर । 

अब म ढुक्क छु, जब तैँले मेरो यो ‘खामभित्रको चिठी’ पढ्नेछेस् । तैँले सबै कुरा सम्झीबुझी बुद्धिले काम लिएस् र शीघ्र नै वारिस जन्माएस् । जुन वारिस हाम्रा घरआँगन घुमु नडुलुन् र धनसम्पत्तिका उत्तराधिकारी सधैँ बनिरहुन् । 

आशा गर्छु, कैं मेरो अर्को जन्म भएछ भने म पूर्ण रूपमा तेरै चक्रे भएर जन्मिनेछु । तैँले यसरी पनि बुझ्नु । सायद, ऐलेको तैँले माया गर्ने चक्रे पुनर्जन्म भई जन्मेको म नै त्यो चक्रे हुँ । 

उही तँलाई माया गर्ने तर भगवान्ले पुरुषत्व खोसेको अभागी अयोग्य तेरो लोग्ने । 

खिलबहादुर र्‍वाले (र्‍वाले माइला) ।

०००

पूर्णिमाले चिठी पढिसकेपछि चिठी छातीमा अँगाली एक्कासि भुतुक्कै भई डाको छोडी ह्वाँ–ह्वाँ रुनसम्म रोइन् । उनले निमिषमै चक्रेमा माइला देख्न थालिन् र निमिषमै माइलालाई चक्रे देख्न थालिन् । उनी बरफ भएकी थिइन् माइलाप्रति तर उनको न्यानो स्नेहले भरिएका चिठीले उनी पानी पानी भई पग्लिन् । 

उनलाई लाग्यो, माइला साथमा भएका भए खुट्टा समाती माफी माग्ने थिएँ जस्तो । उनलाई लाग्यो, माइला भएको भए छातीमा अँगाली रहुँजस्तो तर अफसोच ! उनी थिएनन् त्यहाँ, मात्र उनले उनको चिठी छातीमा माइला सम्झी टाँसिन् र फेरि अनायासै भुतुक्कै भई डाको छोडी रुनसम्म रोइन् । 

०००

र्‍वाले माइला हराएका पचास वर्ष बितिसके तर पूर्णिमा अझै फर्केर आउलान् भनेर बाटो कुरिरहेकी छिन् । उनी आफू पनि अहिले पूरै असी वर्ष पुगिन् । उनका कपाल पूरै काँसजस्ता सेतै भएर फुलेका छन् । आँखा पनि धमिला भएका छन् र उनी त्यति राम्ररी देख्दिनन् पनि । चक्रेबाट जन्मिएका चार–चार भाइ छोराहरू पनि सबै अधबैँसे भइसकेका छन् । 

माइलाले चिठीमा आशा गरेजस्तै नातिनातिनीले घर आँगन सबै हराभरा भई भरिएका छन् तर पूर्णिमा कति पनि खुसी छैनन् । उनका आँखामै माइला बसेका छन् । उनको मुटुमै माइला बसेका छन् । चौतारोको पिपलको पात भुइँमा खस्दा पनि उनलाई माइलाकैै चाल हो कि जस्तो लाग्छ । 

चक्रे भने रोग लागेर मरेको पाँच वर्ष भइसक्यो तर उनले भने माइलाकै नामका सिन्दूर लाइरहिन्, पहिले पनि र अहिले पनि लाइरहन्छिन् । 

आफ्नै घरछेउको पीपल चौतारोमा उनी बिहानैदेखि माइला आउँछन् कि भनेर सधैँ एकोहोरो कुरिरहन्छिन् । 

तर उनी अझै फर्केनन् । उनलाई लाग्यो, अब माइला कहिल्यै फर्किंदैनन् ।

एक्कासि उनको मनमा एउटा विचार टुसायो र मनमनै भनिन्, ‘माइलाका सम्झनामा शिव मन्दिर बनाइदिन्छु र उनका नामका एक बिघा खेत त्यही मन्दिरलाई नै दान गरिदिन्छु ।’

उनले त्यो एक बिघा खेतमा शिव मन्दिर निर्माण गर्न लगाइन् । मन्दिरको पश्चिमपट्टि पितलको नन्दी (बसाहा) बसाल्न लगाइन् । मन्दिरका चारैतिर परिक्रमा गर्नलाई बाटो बनाउन लगाइन् । ठाउँठाउँमा घन्टी झुन्ड्याउन लगाइन् । चारैतिर फूलफलेत र रुद्राक्षका रूखहरू रोप्न लगाइन् । 

मन्दिर निकै सुन्दर देखियो र गाउँका केटाकेटीदेखि लिएर बुढाबुढी सबैजना त्यही शिव मन्दिरमा आएर पूजापाठ गर्न थाले । 

०००

६ महिनापछि । 

मन्दिर बनेको ठिक ६ महिनापछि माइला पूरै कषाय वस्त्रमा काँधमा झोला भिरी लामा–लामा दाह्री, लामा–लामा जट्टा परेका कपाल र खुट्टामा खराउ लगाई चिम्टा बजाई मन्दिरभित्र प्रवेश गर्दै गरेको पूर्णिमाले राति सपनामा देखिन् । 

उनलाई लाग्यो, शिव मन्दिरभित्र उनकै र्‍वाले माइला बास गरेका छन् । 

उनले मनमनै भनिन्, ‘र्‍वाले माइला कहीँ कतै नभएर उनी मेरै मनभित्र बास बसेका छन् । उनी मेरै वरिपरि छन् । उनी यही शिव  मन्दिरमा शिवका रूपमा मलाई हेरिरहेका छन् ।’

(‘फिर्दोसको साँचो’ कथासंग्रहबाट) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजबाबु श्रेष्ठ सागर
राजबाबु श्रेष्ठ सागर
लेखकबाट थप