कर्णाली सरकारकाले गरेको कामकारबाहीप्रति एमालेको ध्यानाकर्षण
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आफ्नै पार्टीका नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारको कामकारबाही र सत्ता साझेदार दल नेपाली कांग्रेससँगको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष गुलावजंग शाह र प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले सरकार सञ्चालनमा देखिएका समस्या, गठबन्धनभित्रको समस्या र महत्त्वपूर्ण नियुक्तिमा भएको ढिलाइप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेपाली कांग्रेसको समर्थनमा कँडेल मुख्यमन्त्री बने पनि पछिल्लो समय दुई दलबिच सम्बन्ध खासै सुमधुर बन्न नसकेको सार्वजनिक अभिव्यक्तिहरूबाट देखिने गरेको छ ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पटक–पटक सरकार छाड्ने चेतावनी दिँदै आएका छन् भन मुख्यमन्त्री कँडेलले अघि सारेका कतिपय योजनामा कांग्रेसबाटै मन्त्री बनेकाहरूले असहयोग गरेको एमालेको बुझाइ छ ।
भागबन्डा नमिल्दा प्रदेश खेलकुद विकास परिषद्, लोक सेवा आयोगको अध्यक्ष, प्रदेश अस्पतालको निर्देशकलगायतका महत्त्वपूर्ण पदहरू लामो समयदेखि रिक्त छन् ।
सोमबार बसेको एमाले प्रदेश कमिटीको छैटौँ बैठकका निष्कर्ष सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष गुलावजंग शाहले सरकार र सत्ता साझेदार दलले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । ‘यो संयुक्त सरकार हो, समस्याहरूलाई संयन्त्रमार्फत समाधान गर्नुपर्छ, सरकार हाँस्यको पात्र बन्ने गरी बाहिर छताछुल्ल पार्न हुँदैन,’ शाहले भने, ‘सरकार प्रमुख र साझेदार दल दुवैले यो भूमिका खेल्नुपर्छ ।’
उनले पार्टी र सरकारबिच सबै तहमा समन्वयको अभाव देखिएको स्वीकार गरे । ‘स्थानीय सरकार र पार्टी कमिटी, प्रदेश सरकार र पार्टी कमिटीबिच घनिभूत सम्बन्ध नभएको हो कि जस्तो देखिन्छ,’ उनले थप भने, ‘केही कुरा यत्रतत्र नमिलेको देखिन्छ ।’
यसैगरी, एमाले प्रदेश इन्चार्ज गोरख बोगटीले संवैधानिक निकायको नियुक्तिमा भएको ढिलाइ र कर्मचारी सरुवामा देखिएको विवादप्रति पार्टीको ध्यानाकर्षण भएको बताए । ‘संवैधानिक निकायको नियुक्तिमा भएको ढिलाइदेखि अन्य विषयमा हाम्रो ध्यान गएको छ,’ बोगटीले भने, ‘सत्तारुढ दलहरूबिच केही समस्या छन् भने छलफलबाट हल गरिन्छ । अब हामी मुख्यमन्त्रीलाई यी विषयमा ध्यानाकर्षण गराउँछौँ ।’
उनले सरकारको कामकारबाही राम्रै भएको अनुमान भए पनि कमीकमजोरी देखिए सुधारका लागि मुख्यमन्त्रीलाई भनिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण