रवि लामिछाने निर्दोष छन्, प्रतिशोधको राजनीतिविरूद्ध लडाइँ जारी रहन्छ : रास्वपा
सारांश
- रास्वपाले सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाएको छ।
- पार्टी प्रवक्ताले अन्य नेताको नैतिक आचरणमाथि प्रश्न उठाउँदै सरकार र प्रहरी प्रशासनले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए।
- सांसद हरि ढकालले छानबिन समितिको प्रतिवेदनलाई आधार बनाउँदै लामिछानेको संलग्नता नदेखिएको दाबी गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछाने निर्दोष रहेको र उनीमाथि प्रतिशोधपूर्ण तरिकाले अभियोजन लगाइएको दाबी गरेको छ ।
केन्द्रीय समिति बैठकपछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले लामिछानेमाथि लगाइएको अभियोग राजनीतिक प्रतिशोध बाहेक केही नभएको भन्दै कानुनी र राजनीतिक लडाइँ जारी राख्ने बताएका हुन् ।
प्रवक्ता झाले अन्य दलका नेताहरूको नैतिक आचरणमाथि प्रश्न उठाउँदै सरकार र प्रहरी प्रशासनले दोहोरो मापदण्ड अपनाएको आरोप लगाए । ’धनराज गुरुङले मेरो डिभोर्स भइसक्यो भनेर देशलाई झुटो बोल्नुभयो, तर उहाँ अमेरिकातिर हनिमुनमा रहेको तस्बिरहरू देख्यौँ हामीले’, झाले भने, ’तर यता समाचार माध्यममा लेखेकै आधारमा प्रहरी हामीलाई समात्न कुद्छ । पीडितहरूले याचना गर्दा पनि केही नबोल्ने तर हामी विरुद्ध तुरुन्तै सक्रिय हुने ?’
झाले अदालतको आदेश र फैसलाबिचको भिन्नतालाई स्पष्ट पार्दै सभापति लामिछानेलाई दोषी करार भइनसकेको बताए । ’अहिले आएको अदालतको फैसला होइन, आदेश हो । उहाँ गिल्टी भइसक्नुभएको छैन, दोषी करार हुनुभएको छैन,’ उनले भने, ’यो मान्छे बाहिर बस्यो भने अनुसन्धान प्रभावित पार्छ भनेर पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो, निर्णय होइन ।’ उनले धरौटीमा रिहा हुँदा आफूहरू सन्तुष्ट भए पनि अहिलेको आदेशले निराश नभएको र कानुनी लडाइँ लड्ने बताए ।
त्यसैगरी, सांसद हरि ढकालले संसदीय छानबिन समितिको प्रतिवेदनलाई आधार बनाउँदै सभापति लामिछानेको संलग्नता कहीँ पनि नदेखिएको जिकिर गरे । ’छानबिन समितिको प्रतिवेदनको पेज नम्बर ४४९ मा स्पष्टसँग रवि लामिछानेको सहकारीबाट ऋण ल्याउनमा कहीँ पनि संलग्नता देखिएन भनेर लेखिएको छ,’ ढकालले भने, ’यस्तो प्रस्ट हुँदाहुँदै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता विषयमा अभियोजन हुनुपर्ने कुनै कारण थिएन ।’
ढकालले सभापति लामिछानेले गोर्खा मिडियामा गए बराबरको रकमको कानुनी दायित्व बेहोर्न तयार छु भनेर सार्वजनिक रूपमै प्रतिबद्धता जनाएको भिडियो लाखौँले हेरेको स्मरण गराए ।
उनले रास्वपाले सुरु गरेको ’जनअदालत’ अर्थात् हस्ताक्षर अभियानमा ३२ लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेको जानकारीसमेत दिए । ’त्यहाँ पूर्वप्रधानमन्त्रीहरू, पूर्व न्यायाधीशहरू, विभिन्न दलका प्रमुखहरूले आएर विवेक प्रयोग गरेर हस्ताक्षर गर्नुभएको छ,’ उनले भने, ’यो हाम्रो पार्टीले पाएको २८ लाख समानुपातिक मतभन्दा धेरै हो । यो जनअदालतबाट प्रतिशोधपूर्ण कदम खारेज भइसकेको छ ।’
सांसद ढकालले आफूहरू कानुनी लडाइँमा रहेको र अन्तिमसम्म लड्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण