शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

गणतन्त्रको जगमा उभिएर समृद्ध नेपाल बनाउने अभिभारा युवाहरूको काँधमा आइसकेको छ : राष्ट्रपति

मङ्गलबार, २७ साउन २०८२, १२ : २०
मङ्गलबार, २७ साउन २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका छन् भन्ने आफूलाई विश्वास लागेको बताए । 

राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवावय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याएर राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पुर्‍याउनमै समर्पित रहेको उल्लेख गर्दै क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बर्ता। 

उनले आफ्नो युवावय सम्झँदै भने– ‘यो क्षणमा मैले आफ्नो युवा वयको कैयन आरोह अवरोहका अनमोल क्षणहरू सम्झिरहेको छु । तनहुँको बाहुनपोखरामा एउटा सामान्य कृषक परिवारमा जन्मिएर अविकास, गरिबी, पछौटोपन र निरङ्कुशताका विरुद्ध मेरो युवा वयमा हुर्किएको क्रान्ति र परिवर्तनको हुटहुटीलाई सार्थकता दिनु सहज थिएन । परन्तु यसका लागि म र मेरो पुस्ताले सङ्घर्ष, त्याग, अभाव, जेलनेलको कुनै प्रवाह गरेन । र, आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म आइपुग्दा हाम्रो जीवन राजनीतिक व्यवस्थालाई एउटा टुङ्गोमा पुर्‍याउनमै समर्पित रह्यो । क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएका छौँ ।’ 

ramchandra poudel (1)

राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवम् सूचना प्रविधिसहितका उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गर्दै भने– ‘यो सामर्थ्य र शक्तिलाई दिगो विकासको अवधारणाअनुरूप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।’

उनले प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताउँदै यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरूकता आवश्यक रहेको स्पष्ट पारे । 

ramchandra poudel (8)

राष्ट्रपति पौडेलले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको बताउँदै विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको उल्लेख गरे । उनले उद्यमशीलता आर्थिक विकासको आधार भएको भन्दै युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्ने उद्यमशीलता विस्तार एवम् प्रवर्द्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको स्पष्ट पारे । 

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यवद्धताको आधार भएको भन्दै यसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यबद्धतालाई जोड दिएको महशुस भएको बताए । 

ramchandra poudel (2)

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिति रहेको थियो  । 

ramchandra poudel (5)ramchandra poudel (6)ramchandra poudel (7)ramchandra poudel (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप