आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
साप्ताहिक राशिफल

कस्तो रहला तपाईँको यो साता ? भाद्र १ गते देखि ७ गतेसम्मको साप्ताहिक राशिफल

आइतबार, ०१ भदौ २०८२, ०१ : ०९
आइतबार, ०१ भदौ २०८२

सारांश

  • साप्ताहिक राशिफल अनुसार, मेष राशिका व्यक्तिहरूको लागि यो हप्ता राम्रो रहनेछ, र उनीहरूले बौद्धिक क्षेत्रमा फराकिलो अनुभव गर्नेछन्।
  • वृष राशिका व्यक्तिहरू राजनीति र समाजसेवामा जनताको साथ पाउनेछन् भने मिथुन राशिका लागि खर्च बढ्ने योग रहेको छ।
  • कर्कट राशिका व्यक्तिहरूले प्राकृतिक स्रोतको प्रयोगबाट आम्दानी बढाउन सक्नेछन् भने सिंह राशिका व्यक्तिहरूका लागि अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय छ।

साप्ताहिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साताको समय राम्रो रहेकोले बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइने छ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । खाद्यान्न, गरगहना तथा निर्माण  सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ । साताको अन्ततिर घरजग्गाको कारोबारबाट लाभ मिल्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

साताको समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने योग रहेको छ । शुभ तथा माङ्गलिक समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममुखी यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरूले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर बजार तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाइ तथा अन्य इष्टमित्र वाट सहयोग पाइनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सोमबारसम्मको समय मध्यम रहेकोले फजुल खर्च बढ्नेछ । खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । मंगलबारबाट सानातिना समस्या देखिए पनि लगनशील भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरूभन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धिमूलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । शेयर बजार तथा उद्योगमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । धार्मिक तथा मनोरञ्जनात्मक यात्राको तय हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । अग्रज तथा बुवाबाट गाइडलाइन प्राप्त हुनाले अग्रगामी छला¨ मार्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम सङ्गत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पैतृक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । शेयर बजार तथा व्यापारमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरीको गतिलो योग रहेको छ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । साताको अन्त अर्थात बिहीबारबाट अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय रहे पनि नतिजा भने न्यून हात पर्नेछ ।  आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

समय राम्रो रहेकोले सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । रोजगारीको सिलसिलामा नयाँ गन्तव्य पहिल्याउन सकिनेछ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।  चिट्ठा तथा उपहार पाइने हुँदा मन प्रफुल्लित हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

सोमबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । मंगलबारबाट प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूसँग मनमुटाब सिर्जना हुनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्ने हुन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

ऋण, रोग तथा शत्रुको सामना गर्ने शक्तिमा वृद्धि हुनेछ । जीवनसाथीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । शेयर बजार तथा व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । अध्ययन अध्यापनमा मन जाने तथा खोजीमूलक क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । सवारी साधन तथा बिलासी सामान हात लागी हुने योग रहेको छ । बिहीबारबाट खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो रहेकोले समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरु वर्गहरू खुसी हुनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ । व्यापारकै सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा बिलासी वस्तुहरू जोड्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सोमबारसम्मको समय मध्यम रहकोले राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । मंगलबारबाट स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारको रूपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । न्यायिक निर्णयहरू आफ्नो पक्षमा पार्न सकिनेछ भने शत्रु परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी दिगो फाइदा गर्न सकिनेछ । पुराना थाती रहेका  कामहरू सम्पादन हुनेछन् ।  अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । पुँजी बजार तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लगानीबाट आम्दानी बढाउन  सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । मंगलबार र बुधबारको समय मध्यम रहेकोले तथा साथी भाइसँग राय नमिल्दा दैनिक काम प्रभावित हुन सक्छ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरूले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आइसकेको काम अरूले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप