शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारत–पाकिस्तान एसिया कप खेल हुने

बिहीबार, ०५ भदौ २०८२, १८ : ३५
बिहीबार, ०५ भदौ २०८२

सारांश

  • भारत सरकारले एसिया कपमा पाकिस्तानसँग खेल्न अनुमति दिएको छ।
  • नयाँ खेलकुद नीतिले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा खेलाडीको हितलाई ध्यान दिने कुरा उल्लेख गरेको छ।
  • भारतले पाकिस्तानी टोलीलाई बहुराष्ट्रिय प्रतियोगिताका लागि आउन रोक नलगाउने जनाएको छ।

काठमाडाैँ । भारत सरकारले पाकिस्तानसँग एसिया कपमा खेल्न अनुमति दिएको छ। सेप्टेम्बर ९ देखि सुरु हुने प्रतियोगितामा भारत–पाकिस्तानबीचको भिडन्त हुने भएको हो।

खेलकुद मन्त्रालयका अधिकारीहरूले बिहीबार सार्वजनिक गरेको पत्रमा भनिएको छ कि बहुराष्ट्रिय प्रतियोगितामा पाकिस्तानसँग खेल्न कुनै प्रतिबन्ध छैन, तर भारत र पाकिस्तानबीच कुनै द्विपक्षीय शृङ्खला भने नहुने स्पष्ट गरिएको छ।

सरकारले नयाँ खेलकुद नीति जारी गर्दै भनेको छ, “अन्तर्राष्ट्रिय वा बहुराष्ट्रिय कार्यक्रमहरूमा भारतले अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूका नियम र आफ्ना खेलाडीहरूको हितलाई ध्यानमा राखेर निर्णय लिनेछ।” यसअन्तर्गत भारतीय खेलाडीहरू ओलम्पिक, राष्ट्रमण्डल खेलकुद, क्रिकेट वा हक्की विश्वकपजस्ता प्रतियोगितामा पाकिस्तानी खेलाडीहरूसँगै प्रतिस्पर्धा गर्नेछन्।

नीतिअनुसार भारतलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आकर्षक गन्तव्य बनाउन भिसा प्रक्रियामा पनि सहुलियत दिइनेछ। अन्तर्राष्ट्रिय खेलकुद संस्थाका अधिकारीहरूलाई प्राथमिकताका साथ बहु(प्रवेश भिसा ९अधिकतम ५ वर्ष० प्रदान गरिनेछ, जसले उनीहरूलाई सहज रूपमा आवतजावत गर्न सहयोग गर्नेछ।

भारतले स्पष्ट पारेको छ कि पाकिस्तानी टोली वा खेलाडीलाई बहुराष्ट्रिय प्रतियोगिताका लागि भारत आउन रोकावट हुने छैन। तर, भारतले पाकिस्तानमै आयोजना हुने प्रतियोगितामा सहभागी हुने वा नहुने विषयमा छुट्टै निर्णय गर्नेछ। यसअघि भारतले पाकिस्तानमा भएको च्याम्पियन्स ट्रफीमा खेल्न अस्वीकार गरेको थियो, जसका कारण भारतका खेलहरू युएईमा स्थानान्तरण भएका थिए।

यसपटक भने एसिया कपमा क्रिकेटप्रेमीहरूले बहुप्रतिक्षित भारत–पाकिस्तान खेल हेर्न पाउने भएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप