बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘उखु किसानले बर्सेनि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’

सोमबार, ०९ भदौ २०८२, १४ : ४९
सोमबार, ०९ भदौ २०८२

काठमाडौँ । मधेस प्रदेशसहित देशभरका उखु किसानहरूले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान र बक्यौता रकम भुक्तानी गर्न माग गर्दै सोमवार पनि आन्दोलन जारी राखेका छन् । 

आर्थिक वर्ष २०८१/८२ को उखुको भुक्तानी रकम माग गर्दै किसानहरूले सोमवार माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् । किसानले सरकारले तोकेको प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले उखुको मूल्य प्रतिक्विन्टल एक हजार रुपैयाँ पुर्‍याउनुपर्ने माग अगाडि सारेका छन् ।

प्रदर्शनमा किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनरत बलारा नगरपालिका सर्लाहीका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहाले उखु किसानहरूले बर्सेनि अनुदान पाउन तथा मूल्य निर्धारणको लागि आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गर्न माग गरे । उनले किसानले उत्पादन गरेका कुनै पनि वस्तुको मूल्य निर्धारण सरकारले एकलौटी गर्न नपाउने बताए । 

बलारा नगरपालिकाका प्रमुख कुशवाहाले भने,‘उखु किसाहरुले वर्षेनी अनुदान रकम पाउनको लागि आन्दोलन गर्नुपर्ने र उखुको मूल्य निर्धारण गर्नको लागि पनि आन्दोलन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । अब हाम्रो देशमा कुनै पनि कम्पनीले उत्पादन गरेको सामानहरूको मूल्य स्वयं कम्पनीले तोक्न पाउने तर उखु किसानहरूले उत्पादन गरेको उखुको मूल्य सरकारले तोक्नुपर्ने ? त्यसैले हामी सरकारसँग आग्रह गर्न चाहान्छौं, कि किसानको जुनसुकै उत्पादन गरेको वस्तुको मूल्य किसानको सहभागितामा सरकारले तोक्नुपर्ने हो । यो माग गर्न चाहन्छु ।’

उखुको किसानको अनुदान यथाशीघ्र भुक्तानी गर्न तथा किसानको सहभागितामा उखुको मूल्य निर्धारण गर्न उनले माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप