शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सञ्चारकर्मीमाथि भएको कुटपिट र सञ्चार गृहमा भएको आक्रमणको मिडिया सोसाइटीद्वारा निन्दा

मङ्गलबार, ३१ भदौ २०८२, २० : २३
मङ्गलबार, ३१ भदौ २०८२

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जेनजी समूहले आह्वान गरेको आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । 

सोसाइटीले आन्दोलनमा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ । 

सोसाइटीका अध्यक्ष मदन लम्सालले जारी गरेको विज्ञप्तिमा पत्रकार र सञ्चारकर्मीमाथि भएको कुटपिट र सञ्चार गृहमा भएको आक्रमणको कडा शब्दमा निन्दा गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनको मौका छोपेर आपराधिक समूहले पत्रकार र सञ्चारकर्मीमाथि गरेको कुटपिट र सञ्चार गृहमा भएको तोडफोड तथा आगजनीप्रति नेपाल मिडिया सोसाइटी घोर भर्त्सना र निन्दा गर्दछ।’

विज्ञप्तिअनुसार प्रदर्शनका क्रममा कान्तिपुर दैनिक, कान्तिपुर एफएम, र कान्तिपुर टिभीको कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको छ। त्यस्तै, अन्नपूर्ण दैनिक र एपी वान टिभीको कार्यालयमा पनि आगजनी गरिएको छ।

सोसाइटीले पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै निजी सम्पत्तिको संरक्षणको संवैधानिक हकको रक्षा हुनुपर्नेमा जोड दिएको छ ।

सोसाइटीले सरकारसँग घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न जोडदार माग गरेको छ । 

विज्ञप्तिमा सञ्चार गृह, औद्योगिक प्रतिष्ठान, व्यक्तिका निजी निवास र सार्वजनिक भवनमाथि भएका सबै प्रकारका आक्रमण तथा लुटपाटका घटनाहरूको पनि निन्दा गरिएको छ ।

Press Release 3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप