शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

निमेष निखिलका तीन कविता

शनिबार, ०४ असोज २०८२, १२ : ००
शनिबार, ०४ असोज २०८२

सारांश

  • देशमा इमान्दार व्यक्तिहरू अभावमा बाँचिरहेका छन् भने निर्लज्ज व्यक्तिहरू सुख भोग गरिरहेका छन्।
  • लेखकले गाउँको विद्रूप अवस्थालाई चित्रण गर्दै, गाउँ साँघुरिएको, मानिसहरू निराश भएको, र युवाहरू विदेश पलायन भएको कुरा व्यक्त गरेका छन्।
  • लेखकले जीवनलाई क्यानभासको रूपमा चित्रण गर्दै, आशा र सुन्दरताको खोजी गर्दै वर्तमानको विद्रूपतालाई सङ्गीत र हरियालीमा बदल्न चाहेको कुरा व्यक्त गरेका छन्।

१) आगोको लय

विद्रूप समयको शिखरमा छ देश आज
इमानमा बाँच्नेहरू
भोक सुमसुम्याएर अभाव गाइरहेछन्
इमानको जामा फुकालेर निर्लज्ज घुम्नेहरू
स्वर्गीय सुखभोग गरिरहेछन् ।

काण्डैकाण्डको भुँमरीमा छ देश
विश्वासको मत लिएर जानेहरू नै
सबैभन्दा धेरै 
गरिरहेछन् विश्वासमाथि विश्वासघात 
नपुगेर हाम्रो पसिना पिएर
नअघाएर राम्रो रगत पिएर
तिनीहरू हवाईजहाज खान थालेका छन्
महामारीमा हामीले नपाएको औषधिमाथि
कमिसन खान थालेका छन् ।

लुछिरहेछन् कमजोर देशका चोक्टाहरू
दायाँबाट लुछिरहेछन्
बायाँबाट लुछिरहेछन्
दिनानुदिन आविष्कृत भइरहेछन्—
एकपछि अर्का लुटका नयाँ नयाँ प्रविधिहरू ।

शिक्षालयमा शिक्षा नभएपछि
न्यायालयबाट न्याय हराएपछि
हेर्दाहेर्दै सेवा व्यापारमा रूपान्तर भएपछि
हिँड्नका लागि पाइताला अटाउने सडक नभएपछि
रात–दिन पसिना बगाउँदा पनि
भोकले आतङ्क मच्चाउन नछाडेपछि
देशले ओत दिन नसकेर विदेश पस्नुपरेपछि  
अनि विदेशी भूमिमा रगत र आँसुले आर्जेको कमाइ
दिनदहाडै लुटिएपछि र खोसिएपछि
मान्छे आगो बन्दो रहेछ ।

म गाउँहरूमा आगोका लप्का देखिरहेछु
म सहरहरूमा आगोका लप्का देखिरहेछु
म सडकहरूमा आगोका लप्का देखिरहेछु
म मान्छेहरूका आँखा आँखामा आगोका लप्का देखिरहेछु
मान्छे आगो बन्नु यो परिवेशका लागि खुसीको कुरा हो ।

धेरै भइसक्यो निमुखा जनताको धैर्यको परीक्षा
होसियार !
जीवनभर जुत्ता–चप्पल नदेखेका अनुभवी पाइलाको हुल
बोकेर त्यही आगो आँखाभरि
अब तिमीहरूको शयनकक्षसम्म आइपुग्न सक्छ
तहसनहस हुन सक्छ 
अँध्यारो धनले सजिएको तिमीहरूको उज्यालो बैठक
हेर्दाहेर्दै माटोको थुप्रामा परिणत हुन सक्छ
पापैपापले चुलिएको तिम्रो स्वप्नमहल
लाचारीको लामो निद्राबाट अब हामी ब्युँझिसकेका छौँ
होसियार !
हामी आँखामा आगोको लय सजाएर हिँडेका छौँ
हामी पाइला–पाइलामा आगोको लय टेकेर हिँडेका छौँ
र,
मान्छे आगो बन्नु यो परिवेशका लागि खुसीको कुरा हो ।
००

२) जीवन : एक क्यानभास

प्रतीकका पखेटाहरूमा
सजाएर सपनाका बुट्टाहरू
म विम्बको आकाशमा गोता लगाउन चाहन्छु ।

कोइलीका भाकामा
भरेर विद्रूप वर्तमानको कर्कश आवाज
म तिमीलाई सङ्गीतका इन्द्रेणी सुरहरूमा सजाउन चाहन्छु ।

रन्केर समयको रापमा
निष्प्राण बन्नै लागेका बगरहरू
पर्ख !
म बादल बनेर हरियाली बर्सन चाहन्छु ।

प्रतिकूल समयको शकुनि च्याँखेदाउमा
हारेर सर्वस्व 
निराश भएकाहरू हेर !
फेरि अवतरित हुँदै छन्
आशाका उज्याला किरणहरू ।

जन्म र मृत्युबिचको यो शून्यता
जसलाई जीवन पनि भन्छन् ज्ञानीहरू
म यो सिङ्गो जीवनलाई 
एउटा सुन्दर कविताको क्यानभास बनाउन चाहन्छु ।
००

३) गाउँबाट फर्केपछि

धेरैपछि गाउँ पुग्दा
एउटा डरलाग्दो हाँसो हाँस्यो गाउँ ममाथि
म हेर्दै थिएँ—
निकै साँघुरिएछ गाउँ
डाँडा काट्नेबित्तिकै 
एउटा अज्ञात पीडाले ढक्क फुल्यो मन ।

थोरै घरहरू
झन् थोरै मान्छे
दुःखका पहाडहरू अझै अग्लिएझैँ देखिए ।

निकै अग्ला देखिए मान्छे मनका निराशा
झन् अग्ला देखिए
जवान छोराछोरी बिदेसिनुका पीडा ।

विकासका नाममा मोटरबाटो पुगेछ गाउँमा
तर गाउँमा पुगेका मोटरले पनि सकेनछन् बोक्न
मान्छेका आशा, आस्था र विश्वास 
छुट्ट्याउन सकिनँ मैले
पाखाभरि सुसाएका सल्ला हुन् कि मान्छेका सुस्केरा ?

सुक्दै गएका पानीका मुहानछेउ
बाँझै झोँक्राइरहेका खेतबारी
समृद्धि किन्न सहर पसेका सन्तानको बाटो हेरिरहेका
अधिकांश वृद्ध अनुहारहरू
अव्यक्त तर असीमित गुनासा बोकेका आँखाहरूको जुलुसबिच
गम्लङ्ग उदासी ओडेर उभिएको 
कुनै वृद्धजस्तो लाग्यो मलाई आफ्नै गाउँ यसपालि—
गाउँबाट फर्केपछि ।

बाँकी बचेको गाउँ जति बेला
जुनार र अदुवा बेचेर
उसिना चामल बेसाउन व्यस्त थियो
ठिक त्यसै बेला
सान्दाइको पीडा बिस्तारै सुसायो 
बतासजस्तै कानछेउमा—
बाबु ! ठुलाबालाई सागर लैजान
दाजुभाइका चारवटा काँध पनि पुगेनन् यसपालि ।
०००

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निमेष निखिल
निमेष निखिल
लेखकबाट थप