आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

कलाकार र उद्योग वाणिज्य महासंघबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना

शनिबार, १३ मङ्सिर २०८२, ११ : १०
शनिबार, १३ मङ्सिर २०८२

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चलचित्र कलाकार सङ्घबिच काठमाडौँमा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ। महासङ्घको खेलकुद तथा मनोरञ्जन फोरमद्वारा आयोजना र कलाकार सङ्घद्वारा संयोजन गरिएको उक्त मैत्रीपूर्ण खेलमा दुवै संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। 

खेलको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता मैत्रीपूर्ण खेलहरूले आपसी सम्बन्ध, समन्वय तथा सहकार्यलाई मजबुत बनाउने बताएका थिए । उनका अनुसार संस्था–संस्थाबिच शान्ति, समझदारी र सकारात्मक ऊर्जा साटासाट गर्न यस्ता गतिविधि महत्त्वपूर्ण हुने भएकाले कलाकार सङ्घसँगको सहकार्यमा आयोजना गरिएको फुटसल खेल उदाहरणीय कदम हो।

खेलमा महासङ्घका तर्फबाट अध्यक्ष ढकालसहित उपाध्यक्षहरू तथा पदाधिकारीहरूको उपस्थिति थियो भने कलाकार संघतर्फबाट कप्तान शिव श्रेष्ठ, धिरेन शाक्य, अध्यक्ष मोहन निरौला, पूर्वअध्यक्ष रवीन्द्र खड्का, राजकुमार राई, चलचित्र पत्रकार समीर बलामी, प्राविधिक पुष्कर लामा, निर्देशक जनकदीप पराजुली, हाल सञ्चालक गोपालकाजी कायस्थ, चक्रबहादुर चन्द, गजित विष्ट, राजीव मानन्धर, राज कटुवाल, अस्मिता रनपाल, पवित्रा आचार्य, रोशन श्रेष्ठ, रोहित रुम्बा, डीबी आले, सुगम कटुवाल, अंकृष्ट प्रधान, सुनिल कटुवाललगायत अन्य कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

मैत्रीपूर्ण रूपमा खेलिएका तीन खेलमध्ये दुई खेल बराबरीमा टुङ्गिएका थिए भने तेस्रो तथा अन्तिम खेलमा महासङ्घले कलाकार टोलीलाई ७–४ को अन्तरले पराजित गर्दै जित हात पारेको थियो। 

कलाकारका तर्फबाट सुगम कटुवालले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरे भने अस्मिता रनपालले १ गोल गरेका दिए । खेलको आयोजना महासङ्घको खेलकुद तथा मनोरञ्जन फोरमका सभापति हरिबहादुर कार्कीको सभापतित्वमा गरिएको थियो भने कलाकार सङ्घतर्फबाट कोषाध्यक्ष सुनिल कटुवालले संयोजन गरेका थिए।

मैत्रीपूर्ण फुटसलले आपसी भाइचारा, मित्रता, सद्‌भाव र सहकार्यलाई अझ प्रगाढ बनाएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए । यस्तो खेलकुदले दुई संस्थाबिच सकारात्मक ऊर्जा आदान–प्रदान गर्ने सुनौलो अवसर सिर्जना गरेको उनको भनाइ छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप