शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सम्पादकसँग ओली

सम्पादकहरू भेला गरेर ओलीले दिएका ३ सन्देश

‘म हावा भरेको भकुण्डोजस्तै हो, जति पछार्‍यो उति उफ्रिन्छु’
बिहीबार, २५ मङ्सिर २०८२, १७ : ४२
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • केपी शर्मा ओलीले आफूलाई हावा भरेको भकुण्डोसँग तुलना गरे र विपक्षीको आलोचना गरे।
  • ओलीले प्रतिनिधि सभा पुनर्स्थापना हुने र कांग्रेस-एमालेले देश चलाउने दाबी गरे, साथै तेस्रो पटक एमाले अध्यक्ष बन्ने बताए।
  • ओलीले जेनजीसँगको सरकारको सम्झौतालाई 'कलाविहीन नाटक' भने र ईश्वर पोखरेलको अभिव्यक्तिको प्रतिवाद गरे।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हावा भरेको ‘भकुण्डो’ जस्तै भएको बताएका छन्। एमालेको ११औँ महाधिवेशनको सङ्घारमा बिहीबार काठमाडौँका सम्पादकहरूसँगको साक्षात्कारमा अध्यक्ष ओलीले विपक्षीहरूले आफूमाथि गरेको आक्रमणप्रति सङ्केत गर्दै आफूलाई हावा भरेको भकुण्डोसँग तुलना गरेका हुन्।

 ‘म हावा भरेको भकुण्डोजस्तै हो, जति बढी पछार्‍यो उति बढी माथितिर जान्छु, उफ्रिन्छु,’ अध्यक्ष ओलीले आफूलाई जनताले माया गरेको तर विरोधीहरूले लखेट्ने गरेको दाबी गरे। नेपालको राजनीतिमा देखिएको छुद्र र वैरभाव त्यस्तो ढङ्गले नचल्ने भन्दै उनले विरोधीहरूलाई सुझाव दिए।

 सम्पादकहरूसँगको कुराकानीमा ओलीले मुख्यतः तीनवटा सन्देश दिन भ्याए:

१. प्रतिनिधि सभा पुनर्स्थापना हुने। 

२. भोलीका दिनमा नेपाली कांग्रेस र एमालेले नै देश चलाउने।

३. आफू पुनः तेस्रो पटक एमाले अध्यक्ष बन्ने।

 जेनजी सहमति ‘कलाविहीन नाटक’

सरकार र जेनजीबिच बुधबार भएको सहमतिलाई ‘कलाविहीन नाटक’ को संज्ञा दिँदै ओलीले त्यसको पटाक्षेप भैसकेको दाबी गरे। ‘जति कलाविहीन ढङ्गले नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप पनि भएको छ,’ ओलीले भने।

 उनले वर्तमान सरकारलाई प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने म्यान्डेट कसले दियो भन्दै प्रश्न गरे, ‘जनताबाट? कसैले भोट हालेको छ, चुनेको छ? गोबर लाएर टाँसेको होइन?’ उनले त्यस्तो सरकारले केही गर्न नसक्ने र गरेको सम्झौता स्विकार्न नसकिने दाबी गर्दै त्यसलाई जेनजीले नै च्यातेको बताए।

 ‘फजुल कागज, कलाविहीन नाटक हो,’ उनले भने।

IMG_0682_1

  •  पुनर्स्थापना र कांग्रेस–एमाले नेतृत्व

वर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति आक्रोशित मुद्रामा प्रस्तुत भएका ओलीले असंवैधानिक ढङ्गले भएको प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले पुनर्स्थापना गर्ने दाबी गरे। ‘पुनर्स्थापना हुने उपाय के के छन् भनेर मैले भनिरहेको छु,’ ओलीले अर्को बाटो नै नभएको बताए।

 एमाले र नेपाली कांग्रेस देशका प्रमुख, ऐतिहासिक र जनाधार भएका पार्टी भएकाले अहिले केहीबेर सूर्यग्रहण लागेजस्तै भए पनि भोलीका दिनमा एमाले र कांग्रेसले नै देश चलाउने उनको दाबी थियो। ‘कहिलेकाहीँ आँधीतुफान चल्छन् नि। फेरि पनि हुने भनेकै एमाले कांग्रेस नै हुन्। भोलि पनि देश चलाउने कांग्रेस एमाले नै हुन्,’ उनले अहिले बनेका १४३ वटा पार्टीलाई ‘तमासा र ड्रामा’ को संज्ञा दिए। सम्पत्ति लुकाउन, अपराधबाट उम्कन वा पत्रकारितामा असफल भए पनि पार्टी खोल्ने लहर चलेको भन्दै उनले असन्तुष्टि जनाए।

 ‘सम्पादक चलेन भने तपाईँहरू पनि पार्टी खोले हुन्छ,’ ओलीले ठट्यौली शैलीमा भने। १४३ वटा पार्टीको न उद्देश्य, न दर्शन र नीति रहेको बताउँदै एमालेको विरोध गर्नबाहेक उनीहरूको काम नभएको ओलीको दाबी थियो।

  •  देउवासँगको भेट र महाधिवेशन

ओलीले केही दिनअघि मात्र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ता अर्थपूर्ण भएको भन्दै त्यसको नतिजा केही दिनमा आउने दाबी गरे। ‘उहाँसँग भएको भेटवार्ता अर्थपूर्ण छ। त्यसको नतिजा केही दिनमा आउँछ,’ ओलीले परिवर्तनको सङ्केत गरे।

 जेनजी आन्दोलनपछि आफू नभागेको दाबी गर्दै ओलीले मुकाम मात्र परिवर्तन गरेको बताए। ‘म भागेको होइन, वल्लो घरबाट पल्लो घर मात्र सरेको हो, दुर्घटना नहोस् भनेर मुकाम मात्र परिवर्तन गरेको हो,’ उनको भनाइ छ।

IMG_0333_2

  • ईश्वरलाई किन सञ्चो भएन थाहा भएन

अध्यक्ष ओलीले आफ्नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूलाई आयोगमा गएर बयान दिनुपर्छ भनेर दिएको अभिव्यक्तिको प्रतिवाद गरे। त्यस्तो अभिव्यक्तिलाई उनले ‘वैरभाव’ को संज्ञा दिए।

 ‘उहाँलाई के भएको छ, किन सञ्चो भएन मलाई थाहा भएन। बयान दिन जाने नजाने मेरो कुरा हो, के गर्नुपर्छ त्यो मलाई थाहा छ,’ ओलीले भने। बुधबार मात्र पोखरेलले अध्यक्ष ओली जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगमा गएर बयान दिनुपर्ने बताएका थिए।

 ओलीले समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै २२ गते आउने कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिए। ‘ध्यान राखेर र होस सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु,’ ओलीले भने।

  •  लोकतान्त्रिक अभ्यास र नेतृत्व

अध्यक्ष ओलीले एमालेमा लोकतन्त्र नभएको भन्ने टिप्पणीको खण्डन गरे। ‘पार्टीमा हराइन्छ, हारिन्छ, जसरी होस् म हारेँ भनेर घोषणा गरेपछि मैले कुनै प्रकारको सिकायत गरिनँ। आठौँमा हराइए, नवौँमा लडेर जितेँ,’ विगतका महाधिवेशनको स्मरण गर्दै ओलीले भने, ‘पार्टीभित्र लोकतान्त्रिक अभ्यासको वकालत मैले गरेको हुँ।’

 अध्यक्ष ओलीले ११औँ महाधिवेशनमा भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताउँदै सहमति हुन नसके करकाप नगरिने प्रस्ट पारे। सहमति नभए स्वच्छ प्रतिस्पर्धा हुने उनको भनाइ छ।

उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफ्नो पार्टी अध्यक्ष पद निरन्तर हुने बताए। ‘म थपिनेवालामा पर्दिनँ, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन,’ उनले भने।

 केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले प्रस्ट पारे। ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पर्‍यो नि, मसँग त कुरा गर्नुभएको छैन,’ ओलीको भनाइ छ। अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेलले ओलीले छाडेर अरू कसैको नाम प्रस्ताव गरे आफू पछि हट्न सक्ने बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप