धनगढी । धनगढी रङ्गशाला सुदूरपश्चिम प्रदेशकै प्रदेशस्तरीय एकमात्र रङ्गशाला हो । यद्यपि यो रङ्गशालाभित्र खेलाडीहरूले प्रयोग गर्ने शौचालयको अवस्था भने निकै लज्जास्पद छ ।
_UKN0VhoNoo.jpg)
रङ्गशालामा करोडौँ रुपैयाँ खर्चेर ठुल्ठुला प्यारापिट र कबर्ड हल बने पनि खेलाडीको आत्मसम्मान र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको शौचालयको अवस्था भने डम्पिङ साइटभन्दा कम छैन ।
पुसको कठ्याङ्ग्रिने जाडो । बिहानीको सिरेटो छिचोल्दै खेलाडीहरू ठुलो उत्साह र जोसका साथ अभ्यासका लागि रङ्गशाला पुग्छन्, तर उनीहरूले प्रयोग गर्ने शौचालयको अवस्था भने निकै नाजुक छ । स्थलगत रिपोर्टिङका क्रममा रातोपाटी पुग्दा रङ्गशालाको भित्री दृश्य कहालीलाग्दो भेटियो । भलिबल प्रशिक्षण केन्द्र नजिकैको प्यारापिट मुनि बनाइएका शौचालयहरू मानव प्रयोगका लागि बनाइएकै होइनजस्तो लाग्थ्यो । शौचालयभित्र पाइला टेक्ने ठाउँसमेत छैन । प्यानहरूमा दिसा र पिसाब जमेर ढिक्का परेका छन्, जसलाई देख्दामात्रै पनि बान्ता आउने अवस्था छ ।
_yrriHhVxT6.jpg)
पानी बग्ने पाइपहरू फुटाइएका छन् भने धारामा टुटी छैनन् । बेसिनहरू लेउ र माटोले पुरिएका छन् । भुइँभरि फोहोर पानी र लेदो जमेको छ ।
करिब ५–६ वर्ष अघिमात्र निर्माण सम्पन्न भएको भनिएको प्यारापिट मुनिको यो आधुनिक शौचालय यति छिटो कसरी ध्वस्त भयो ? यो प्रश्नले त्यहाँको निर्माण गुणस्तर र राज्यको लगानीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
_3XwJsSFeSW.jpg)
नयाँ प्यारापिट बनेपछि खेलाडीहरूमा ठुलो आशा थियो– अब कम्तीमा आधारभूत सुविधाहरू सहज हुनेछन् । यद्यपि निर्माणको केही वर्षमै यहाँका शौचालय काम नलाग्ने भएका छन् ।
रङ्गशालामा दैनिक अभ्यास गर्ने खेलाडीहरूका लागि शौचालय अभाव छ । टेबल टेनिस खेलाडी दिवस जेठाराको अनुभव निकै तितो छ । ‘खेलाडीको सबैभन्दा ठुलो समस्या नै शौचालय बनेको छ । यहाँको वातावरण खेलाडीमैत्री पटक्कै छैन,’ उनले भने ।
_JJj3OSjhRM.jpg)
जेठाराका अनुसार एक खेलाडीले खेलिसकेपछि पसिना बगाएको हुन्छ, उसलाई सावर गर्नुपर्ने हुन्छ वा कम्तीमा फ्रेस हुनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ड्रेसिङ रुम र चेन्जिङ रुम हुनुपर्ने हो । महिला र पुरुषका लागि छुट्टाछुट्टै सुरक्षित कोठा हुनुपर्ने हो, तर धनगढी रङ्गशालामा सावर त परको कुरा, हात धुने पानीसमेत पाइँदैन ।
‘म त यहाँको शौचालय प्रयोग नै गर्दिनँ,’ जेठाराले भने, ‘जतिसुकै अर्जेन्ट भए पनि घरै गएर फ्रेस हुन्छु । यहाँको गन्ध र फोहोरले रिङ्गटा लाग्छ । शौचालय जानुपर्छ भन्ने डरले कहिलेकाहीँ त हामी पानी नै कम पिउँछौँ ।’
_t9hrncINJz.jpg)
यस्तै पीडा बाल खेलाडीहरूको पनि छ । बाल्मिकी इन्टरनेसनल स्कुलबाट टेबल टेनिस सिक्न आएका साना खेलाडी रायन पाण्डे, आरन खत्री र उनका साथीहरूको अनुभव झनै मार्मिक छ । कलिला बालबालिकाहरू खेल सिक्न आउँछन्, तर उनीहरूले यहाँ फोहोर र विकृतिसँग जुध्नुपरिरहेको छ ।
‘शौचालयभित्र छिर्नै सकिँदैन । ढोका पनि लाग्दैन । भित्ताभरि नराम्रा शब्दहरू (गाली) लेखिएका छन्,’ रायन पाण्डेले भने, ‘हामी सानो छौँ तर, हामीलाई पनि सफा ठाउँ चाहिन्छ नि ! यहाँ त धेरै गन्ध आउँछ ।’
_ek2h3uF3Dm.jpg)
महिला खेलाडीहरूका लागि त अझ समस्या छ । महिनावारीको समयमा प्याड फेर्नुपर्ने वा सरसफाइ गर्नुपर्ने बेला यस्ता शौचालयले उनीहरूलाई झन् गाह्रो हुन्छ । सफा र सुरक्षित शौचालयविना महिला खेलाडीले कसरी ढुक्कले अभ्यास गर्ने भन्ने प्रश्न उनीहरूको छ । ड्रेसिङ रुममा कपडा फेर्ने कोठाको अभावमा खेलाडीहरू पसिनाले भिजेकै कपडामा घर फर्किन बाध्य हुने गरेको खेलाडी सुस्मा बोहराले बताइन् ।
‘शौचालय यहाँ खासै राम्रो छैन । शौचालयमा निकै फोहर हुन्छ । एकदिन उता प्यारापिटको शौचालयमा गएका थियौँ, भागेर आयौँ । त्योभन्दा यो पुरानै कर्भडहलभित्रकै ठिक छ,’ उनले भनिन् ।
_GqtUubcLLL.jpg)
धनगढी रङ्गशाला सुदूरपश्चिमको खेलकुदको मुटु हो । यहाँ क्रिकेट, भलिबल, फुटबल, मार्सल आर्ट लगायतका खेलका खेलाडीहरू दैनिक अभ्यासका लागि आउँछन् । प्रदेशस्तरीयदेखि राष्ट्रियस्तरका ठुला प्रतियोगिताहरू यहीँ आयोजना हुन्छन्, तर व्यवस्थापनको पाटो भने निकै फितलो छ ।
संघीयता कार्यान्वयन हुनुअघि यो क्षेत्रीय रङ्गशाला थियो र यसको जिम्मा क्षेत्रीय खेलकुद विकास समितिको थियो । संघीयता लागु भएपछि अहिले संरचनाहरूको रेखदेख गर्ने जिम्मा जिल्ला खेलकुद विकास समितिको काँधमा आएको छ । पुरानो कबर्ड हलभित्र अझै पनि क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय र कर्मचारी छन्, तर उनीहरूको काम कारबाही खासै देखिएको छैन । उनीहरू ‘पेण्डुलम’ जस्तै भएका छन् ।
_BzExx0kFS2.jpg)
अहिले पुरानो कबर्ड हलभित्रका दुई वटा शौचालय मात्र जसोतसो प्रयोगमा छन्, ती पनि जीर्ण, ढोका नलाग्ने र दुर्गन्धित छन् । प्रतियोगिता भएको बेला सयौँ खेलाडी र दर्शकको चाप यी दुई थोत्रा शौचालयले धान्न सक्ने अवस्था छैन । नाक थुनेर, सास रोकेर शौच गर्नुपर्ने बाध्यता खेलाडी र प्रशिक्षक दुवैको छ ।
सरसफाइको नाममा स्थानीय स्रोतबाट मनोज बाल्मिकीलाई खेलकुद समितिले मासिक सात हजार तलब दिएर एक कर्मचारी राखेको छ । उनको ड्युटी समय बिहान १० बजेदेखि १२ बजेसम्म मात्र तोकिएको छ । बिहान सबेरै र बेलुका अभ्यास गर्ने खेलाडीका लागि यो सरसफाइले मात्र पर्याप्त हुँदैन । समितिले नयाँ कबर्ड हलका सटरहरू भाडामा दिएर उठेको रकमबाट उनलाई तलब दिइन्छ ।
_czg5p0Wq5O.jpg)
खेलाडीहरू दैनिक सास्ती भोगिरहँदा जिम्मेवार निकायका प्रतिनिधिहरूको जबाफ भने टालटुले प्रकारको छ । जिल्ला खेलकुद समितिका सहलेखापाल किरण श्रेष्ठका अनुसार अहिले पुरानो कबर्ड हल मुनिका दुई र भलिबल प्रशिक्षण केन्द्र नजिकका दुई शौचालय प्रयोगमा छन् । ५–६ वर्षअघि मात्र बनेको संरचना किन यति छिटो बिग्रियो भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘त्यहाँ पहिला सिमेन्ट के–के नमिलेको भएर त्यस्तो भएको हो । अब फेरि त्यसलाई पुनर्निर्माण गर्ने तयारीमा छौँ ।’
_o5CwGXNFhZ.jpg)
सहलेखापाल श्रेष्ठका अनुसार उनीहरू राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतका कर्मचारी हुन् र ठुला संरचना निर्माण राष्ट्रिय खेलकुद परिषद्ले नै गर्छ । खेलकुद समितिका अनुसार कुनै पनि प्रतियोगिता नभएको बेला यी शौचालयले सहज रूपमा सेवा दिएको छ ।
यता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई संरचना निर्माणका लागि प्रदेश सरकारले बजेट नै दिँदैन, जसका कारण माग अनुसार आफैँले केही पनि संरचना बनाउन सकिने अवस्था नरहेको परिषद्ले जनाएको छ ।
प्रतिक्रिया