शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

मधेसका गाउँमा पुग्न सकेन रास्वपा, छैन सांगठनिक संरचना

बिहीबार, २४ पुस २०८२, १२ : २६
बिहीबार, २४ पुस २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैकल्पिक राजनीतिक शक्तिको रूपमा आफूलाई अघि सारेको छ र यसको चर्चा बढेको छ।
  • रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङको समर्थन पाएको छ, तर मधेसका गाउँहरूमा यसको प्रभाव कम देखिन्छ।
  • स्थानीय चुनावमा रास्वपाका उम्मेदवारहरूले सहभागिता जनाउने तयारी गरिरहेका छन्, तर ग्रामीण क्षेत्रमा मतदाताहरू नयाँ दलको एजेन्डा जान्न चाहन्छन्।

बारा । जेनजी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिको चर्चा बढेको छ । खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई अघि सार्दै आएको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाहका साथै कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग एकतापछि रास्वपा तुलनात्मक रूपमा बलियो भएको आकलन गरिएको छ । यद्यपि मधेसका गाउँमा रास्वपाको संगठनात्मक संरचना देखिएको छैन । सहरी क्षेत्रमा रास्वपाको पक्षमा केही लहर देखिए पनि गाउँतिर पुराना दलहरूकै चहलपहल बढी देखिन्छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले ग्रामीण क्षेत्रमा राजनीतिक गतिविधि बढाए पनि रवि लामिछाने नेतृत्वको रास्वपाको प्रभाव निकै कम देखिन्छ ।

परवानीपुर गाउँपालिका वडा नं १ का ७५ वर्षीय जगन्नाथ सहनीले अहिलेसम्म गाउँमा नयाँ पार्टीको कोही नेता नआएको बताए । ‘नयाँ पार्टीलाई भोट दिने कि पुरानो पार्टीलाई भन्नेबारे गाउँमा खासै चर्चा छैन,’ उनले भने ।

बिरामी हुँदा उपचारका लागि गाउँमा अस्पताल नरहेको जिकिर गर्दै उनले खेतमा सिँचाइको सुविधासमेत नभएको बताए । यस्तो अवस्थामा आफूहरूलाई राजनीतिमा खासै चासो नभएको उनको भनाइ छ ।

परवानीपुरसँग सीमा जोडिएको जीतपुरसिमरा उपमहानगरपालिका– १० को ग्रामीण भेगका स्थानीय पनि गाउँमा नयाँ दलका नेता तथा कार्यकर्ता कोही नआएको बताउँछन् । नयाँ दलको सांगठनिक रूपमा कुनै संरचना समेत आफूले नदेखेको उनीहरूको भनाइ छ ।

e8

जीतपुरसिमरा–१० का रामअश्रय साहले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू गाउँमा नदेखिएको बताउँछन् । ‘नयाँ पार्टी भन्छन्, उनीहरूको व्यवहार कस्तो छ भन्ने पनि थाहा छैन,’ उनले भने, ‘के आधारमा भोट दिने भन्ने पनि प्रस्ट भइसकेको छैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले सिमरा कलेजका निवर्तमान प्रमुख शालिकराम अधिकारीलाई प्रतिनिधि सभा अन्तर्गत बारा–४ बाट उम्मेदवार बनाउने घोषणा गरेको छ । यता इच्छा होटलका प्रोपाइटर इच्छाबहादुर वाग्लेले पनि बारा–४ मा रास्वपाबाटै उम्मेदवार बन्न इच्छुक छन् ।

e7

सिमरा बजार र आसपासका क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर रास्वपाले चुनाव केन्द्रित राजनीतिक गतिविधि सुरु गरेको छ । यद्यपि ग्रामीण क्षेत्रमा भने प्रभाव बढाउन सकेको देखिँदैन ।

रास्वपाले २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा २० र उपनिर्वाचनमा थप एक सिट गरी कुल २१ सिट जितेको थियो । पछिल्लो समय रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ एकै कित्तामा उभिँदा स्थानीयहरू उत्साहित छन् । उनीहरू नयाँ पार्टीका नेताहरू गाउँ आए भोट दिने बताउँछन् ।

e6

‘जेनजीको आन्दोलनको कारण गाउँमा केही मान्छे नयाँ पार्टीलाई भोट दिने भन्छन्, तर गाउँमा कोही नेता आएर सम्पर्क गरेका छैनन्,’ जीतपुरसिमरा–१० का स्थानीय अमितकुमार मण्डलले भने, ‘हामी नयाँ पार्टीहरूको चुनावी एजेण्डा के छ भन्ने जान्न चाहन्छौँ ।’

e3

स्थानीयहरूको गाउँका सामुदायिक विद्यालयहरूमा पढाइ नहुने, स्वास्थ्य संस्थामा उपचार नपाएको, खेतमा सिँचाइ सुविधा नभएको, महँगी बढेको गुनासो छ । राष्ट्रिय स्वतन्त्र पार्टीका बारा–४ का क्षेत्रीय सभापति युवराज न्यौपाने पार्टी संगठन निर्माणको तयारी भइरहेको दाबी गर्दछन् ।

e5

‘हामी संगठन विस्तारको चरणमा छौँ,’ उनले भने, ‘निष्क्रिय समितिहरूलाई खारेज गरेर सक्रिय व्यक्तिहरूलाई राख्ने भन्ने तयारी भइरहेको छ ।’

रास्वपाबाट फागुन २१ गते हुने निर्वाचनका सहभागी हुन चाहने उम्मेदवारहरूले अनलाइनमार्फत फारम भर्न सक्ने न्यौपानेको भनाइ छ ।

e4

राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला सभापति चन्दन स्वर्णकारले जिल्लामा ७ हजार ५ सयले पार्टी सदस्यता लिएको बताए । उनले बाराको ४ वटा निर्वाचन क्षेत्रबाट क–कसले उम्मेदवारी दिए भन्ने जानकारी पुस २६ गतेमात्रै हुने प्रस्ट पारे ।

e2

‘पार्टीको खास उम्मेदवार को हो भन्ने कुरा पुस २६ गते पछिमात्रै थाहा हुन्छ । पार्टीको सदस्यता लिएका जोसुकैले अनलाइनमार्फत आवेदन दिन सक्नुहुन्छ,’ जिल्ला सभापति स्वर्णकारले भने, ‘जिल्लामा १६ वटा पालिकामा हाम्रो संगठन चलायमान हुँदैछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप