मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवा र शेखर पक्षकै यी नेता भन्छन्, `चार तारे झन्डा र रूख चिह्न भएकै ठाउँमा हामी हुन्छौँ´

शनिबार, ०३ माघ २०८२, १३ : ३६
शनिबार, ०३ माघ २०८२

सारांश

  • निर्वाचन आयोगले गगन थापालाई आधिकारिकता दिएपछि देउवा पक्ष आक्रोशित भएको छ र अदालत जाने तयारीमा छ।
  • देउवा समूहका नेताहरूले अब निर्वाचनमा एकताबद्ध भएर जानुपर्ने र वैशाखमा हुने महाधिवेशनको तयारी गर्नुपर्ने बताएका छन्।
  • पार्टीभित्रको तेस्रो धार मानिने डा. शेखर कोइरालाको भूमिका र गगन थापाको नेतृत्वमा चुनावमा जाने विषयमा छलफल भइरहेको छ।

विराटनगर ।  नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष आक्रोशित देखिएको छ । 

देउवा समूहले आफूमाथि अन्याय भएको भन्दै निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने शनिवारको बैठकबाट गरिसकेको छ । तर, देउवा र शेखर कोइराला  समूहकै केही आफूहरु चार तारे झण्डा र रुख चिह्न भएकै ठाउँमा रहने बताउँछन् । देउवा पक्षका नेता रमेशजङ्ग रायमाझी अब चुपचाप निर्वाचनमा लाग्नुपर्ने बताउँछन् ।  `अब अदालत गएर के हुन्छ ? हुने भइसक्यो । झन् विवाद बढाउनुको साटो निर्वाचनमा एकताबद्ध भएर जानुपर्छ । वैशाखमा हुने महाधिवेशनको तयारी गर्नुपर्छ,´ रायमाझीले भने ।

उनले आफू चार तारे झन्डा र रूख चिन्ह जता हुन्छ त्यही हुने बताए । `मेरो केही छैन, पार्टीको रुख, झन्डा जहाँ छ, त्यहीँ हो नि। हामी आफू सांसद हुँदा चाहिँ सांसद भएको मान्छे, रुखबाट चुनाव लडेको मान्छे, रुखको प्रतिनिधित्व गरेर मान्ने भएको मान्छेहरू जहाँ रुख छ, त्यहीँ हो नि,´ रायमाझीले भने, `पार्टी त खोल्दैनन् होला, अदालतसम्म जान सक्छन्। हामीलाई न्याय दिएन, हामीलाई अन्याय भयो भनेर जान सक्छन् भन्ने मेरो अनुमान हो। पार्टी फुटाउने कुरा चाहिँ हुँदैन होला ।´

पार्टीभित्रको तेस्रो धार मानिने डा. शेखर कोइरालाको भूमिकालाई लिएर पनि शङ्का र उपशङ्का उब्जिएका छन्। देउवा समूहसँग नजिकिँदै गएका शेखरले अन्ततः गगन थापासँग मिलेर अघि बढ्नुपर्ने सोही समूहका नेता बताउँछन् । `अब चुनावमा गगनकै नेतृत्वमा जानुपर्छ,´ काेइराला निकट काङ्ग्रेस विराटनगर सभापति दीपक चापागाईंले भने, `आन्दोलनमा जाने, अदालत जाने भन्ने कुराको अर्थ छैन ।´ 

उनले पार्टीले जसलाई टिकट दिन्छ त्यसको पक्षमा माहौल बनाउने, चुनावमा भोट माग्दै हिँड्ने पनि बताए । `पार्टी कार्यकर्ताले गर्ने काम नै यही त हो नि,´ उनले भने ।

रूख र चार तारे झन्डा रहेकै ठाउँमा आफू रहने बताउँदै चापागाईंले सबै कार्यकर्ता त्यही रहने दाबी गरे । `गाछी र चार तारे जुन हो, त्यही हो हाम्रो कांग्रेस। नेतृत्व परिवर्तन भयो कि तर ग्रासमा चाहिँ पार्टी विभाजित छैन के। पार्टी चाहिँ एक ठाउँमै छ। जहाँ गाछी र चार तारे हुन्छ, त्यही हो कांग्रेस´, चापागाईंले भने ।

गगन थापा नेतृत्वको नयाँ कार्यसमितिले देउवा समूहलाई कसरी व्यवस्थापन गर्छ भन्नेमा कांग्रेसको भविष्य निर्भर हुने देखिने कांग्रेस नेता तथा काेशीका पूर्व मुख्यमन्त्री केदार कार्कीले बताए । 'यदि गगन थापाले देउवा समूहलाई समेटेर सम्मानजनक व्यवहार गरे भने पार्टी एकताबद्ध भएर चुनावमा जान सक्छ,' शेखर पक्षमा रहेर पनि विशेष महाधिवेशनमा सहभागी कार्कीले भने, `अब सबैलाई मिलाएर जानुपर्छ । पेलेर जाने नीति लिनु हुँदैन ।"  

कार्कीले आन्दोलन जान्छु भन्न पाउने भए पनि त्यसले केही फरक नपार्ने बताए । 

काङ्ग्रेस नेता कृष्ण सिटौला पक्षका केन्द्रीय सदस्य भीम पराजुली पनि अदालत गएपनि पार्टी नफुट्ने बताउँछन् । ´अदालतले निर्णय दिएन भने नोमिनेसन (मनोनयन) प्रभावित हुन्छ। किनभने अब गगन थापाले एउटा टिम बनाउलान्, यताले अर्को टिम बनाउलान्। तर, मेरो विचारमा पार्टी त फुट्नै हुँदैन,´ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप