माधवनारायणका वर्तालुले गरे चाँगुनारायणमा पूजा आराधना
सारांश
- माधवनारायणको व्रत बसेका भक्तजनले चाँगुनारायणमा स्नान गरी पूजाआराधना गरे।
- चाँगुनारायणमा पूजा सकेपछि भक्तजन साँखु फर्केर घरमा भोजन गर्ने परम्परा छ।
- यो वर्षको माधवनारायणको व्रतको अन्तिम तीर्थयात्रा पनि सम्पन्न भयो।
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका वर्तालुले चाँगुनारायणस्थित सादहमा स्नान गरी चाँगुनारायणको मूल मन्दिरमा माधवनारायणलाई राखी पूजाआराधना गरेका छन् ।
प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन बिहान माधवनारायणका वर्तालुले सादहमा स्नान गरी चाँगुनारायणमा माधवनारायणको रथलाई राखेर पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ । वर्तालुले आज चाँगुनारायणमा पूजाआराधना सकेपछि साँखु गई आ–आफ्नै घरमा पुगेर भोजन गर्ने व्रत विधि रहेको छ ।
वर्तालु चाँगुनारायणबाट आज साँखु फर्किएर घरघरमा भोजन गरिसकेपछि साँखुमा भीमसेन जात्रा गरिन्छ । भीमसेन जात्रा साँखु बजार घुमाउने प्रचलन रहेको छ ।
माधवनारायणका वर्तालु तेस्रो तीर्थयात्राका लागि बिहीबार राति १० बजे चाँगुनारायण मन्दिर पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिना लामो माधवनारायणको व्रतका क्रममा यो तेस्रो तीर्थयात्रा हो । यसअघि पशुपति र दक्षिणकालीको शेषनारायण एवं काभ्रेपलाञ्चोकको पनौतीमा वर्तालुले तीर्थयात्रा सम्पन्न गरेका छन् ।
माधवनारायणको चाँगुनारायणमा हुने तीर्थयात्रा माघ शुक्ल एकादशीका दिन राति हुने गरेको छ । जसका लागि वर्तालु माघ शुक्ल एकादशीका दिन राति १० बजे चाँगुनारायण पुगेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए । यस वर्षको यो अन्तिम तीर्थयात्रा पनि हो ।
पौष शुक्ल पूर्णिमा अर्थात् गत पुस १९ गतेदेखि साँखुस्थित शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानी परमेश्वरी देवीको पूजाआराधना गर्ने भक्तजनको घुइँचो छ । जसका कारण साँखु एवं शालीनदी जाने सार्वजनिक यातायातमा भीड छ । यात्रु कोचाकोच गरेर यात्रा गरिरहेका छन् । मेलाको मौका पारेर सार्वजनिक यातायातका सहचालकले बढी भाडा उठाएको गुनासो भक्तजनले गरेका छन् ।
सार्वजनिक बिदा र शनिबारका दिन धेरै भक्तजन साँखुस्थित शालीनदी जाने गर्छन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा माधवनारायण व्रत हुने गरेको छ । शालीनदी मेला लाग्ने यो समयमा देशका विभिन्न स्थानका साथै विदेशबाट समेत श्रद्धालु भक्तजन साँखु आउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण