गण्डकीमा राइड सेयरिङमाथि कडाइ : सवारीसाधनको दूरी सीमा निर्धारण
सारांश
- गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई व्यवस्थित गर्न नयाँ मापदण्डसहित नियमावली संशोधन गरेको छ।
- नयाँ नियमावली अनुसार, दुई पाङ्ग्रे सवारी साधनको अधिकतम दूरी २० किलोमिटर र चार पाङ्ग्रेको ५० किलोमिटर तोकिएको छ।
- राइड सेयरिङ सेवा दिने सवारी साधनले 'एसडी' लोगो राख्नुपर्ने र अनलाइन एप प्रणालीमा दूरीको व्यवस्था हुनुपर्नेछ।
काठमाडौँ । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवालाई व्यवस्थित र नियमन गर्न नयाँ मापदण्डसहित नियमावली संशोधन जारी गरेको छ ।
‘गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) (पहिलो संशोधन) नियमावली, २०८२’ मार्फत सरकारले दुई पाङ्ग्रे सवारी साधनको अधिकतम दूरी २० किलोमिटर (किमि) र चार पाङ्ग्रे सवारी साधनको अधिकतम दूरी ५० किमि तोकिएको छ ।
प्रदेश राजपत्रमा प्रकाशित उक्त संशोधन तुरुन्त प्रारम्भ हुने उल्लेख छ । यो नियमावली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जारी गरेको हो । सेवाको दूरी, राइड सेयरिङ सञ्चालन गर्न पाउने सवारी संशोधन गरेको छ भने ‘एसडी’ लोगो राख्नुपर्ने उल्लेख गरेको छ ।
नयाँ संशोधनले राइड सेयरिङ सेवा दिने सवारी साधनले एकपटकमा कति दूरीसम्म यात्रु ओसारपसार गर्न पाउने भन्ने स्पष्ट सीमा तोकेको छ । दुई पाङ्ग्रे सवारीले प्रस्थान बिन्दुदेखि गन्तव्य बिन्दुसम्म बढीमा २० किमी दूरीसम्म मात्र सेवा दिन पाउनेछन् । चार पाङ्ग्रे सवारीले बढीमा ५० किमी दूरीसम्म मात्र सेवा दिन पाउनेछन् ।
यस्तै यो दूरीभन्दा बढीको सेवा माग गर्न वा प्राप्त गर्न नसकिने गरी अनलाइन एप प्रणालीमा नै व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । संशोधित नियमावलीले राइड सेयरिङमा प्रयोग हुने सवारी साधनको प्रकारलाई समेत स्पष्ट पारेको छ ।
अनलाइन प्रणालीको प्रयोग गरी राइड सेयरिङ सेवा सञ्चालन गर्न यातायात कार्यालयबाट यात्रुवाहक सवारीका रूपमा इजाजतप्राप्त दुई पाङ्ग्रे निजी सवारी र पाँच सिट भएको चार पाङ्ग्रे सार्वजनिक सवारीसाधन हुनुपर्ने उल्लेख गरेको छ ।
साथै राइड सेयरिङ सेवा दिने सवारी साधनले अनिवार्य रुपमा ‘एसडी’ (सेल्फड्राइभ) लेखिएको वृत्ताकार संकेत/लोगो राख्नुपर्ने उल्लेख छ । यसका लागि मापदण्डसमेत तोकिएको छ ।
दुई पाङ्ग्रे सवारीले ५ सेन्टिमिटर व्यासको कालो पृष्ठभूमि भएको वृत्ताकार संकेतभित्र रातो रङको अंग्रेजी अक्षर ‘एसडी’ (उचाई ३ सेन्टिमिटर, मोटाई १.५ सेन्टिमिटर) जनाउनुपर्नेछ । चार पाङ्ग्रेका लागि १५ सेन्टिमिटर व्यासको कालो पृष्ठभूमि भएको वृत्ताकार संकेतभित्र रातो रङको अंग्रेजी अक्षर ‘एसडी’ (उचाइ ११ सेन्टिमिटर, मोटाइ १ सेन्टिमिटर) जनाउनुपर्नेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण