शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिलिपिन्समा समलिङ्गी जोडीलाई सम्पत्तिको सह–स्वामित्वको अनुमति

मङ्गलबार, २७ माघ २०८२, १४ : ५०
मङ्गलबार, २७ माघ २०८२

मनिला । फिलिपिन्सको सर्वाेच्च अदालतले ऐतिहासिक निर्णय गर्दै समलैंगिक जोडीहरूले संयुक्त रूपमा सम्पत्तिमा स्वामित्व राख्न सक्ने ठहर गरेको छ ।

अदालतले पहिलोपटक देशको ‘फ्यामिली कोड’को एक प्रावधान लागु गर्दै दुवै पक्षले सम्पत्ति खरिदमा योगदान गरेको प्रमाणित भए उनीहरूलाई सह–मालिक मान्न सकिने व्याख्या गरेको हो ।

क्याथोलिक बहुल तथा सामाजिक रूपमा रूढिवादी मानिने फिलिपिन्समा समलैंगिक विवाह अवैध छ । यो देश भ्याटिकनबाहेक विश्वकै एकमात्र यस्तो राष्ट्र हो, जहाँ सम्बन्धविच्छेदसमेत कानुन छैन । यस कारण समलैंगिक जोडीहरू सम्पत्ति, आर्थिक अधिकार र स्वास्थ्य सेवामा कानुनी संरक्षणबाट वञ्चित रहँदै आएका थिए । 

मंगलबार सार्वजनिक गरिएको फैसलामा मनीलाको उपनगरस्थित घर बेच्ने विषयमा विवाद भएका दुई महिलाको मुद्दा संलग्न थियो । तल्लो र पुनरावेदन अदालतले सम्पत्ति विभाजनको माग अस्वीकार गरे पनि सर्वाेच्च अदालतले फेब्रुअरी ५ मा ती निर्णय उल्ट्यायो । अदालतले एक साझेदारले खरिद र नवीकरण खर्चको ५० प्रतिशत तिरेको कागजातलाई मुख्य आधार बनायो । घर खरिद प्रक्रियालाई सरल बनाउन सम्पत्ति एक जनाको नाममा मात्र दर्ता गरिएको थियो । 

अदालतले ‘फ्यामिली कोड’को धारा १४८ (कानुनी रूपमा विवाह गर्न नसक्ने तर सँगै बस्ने व्यक्तिहरूको सम्पत्ति सम्बन्ध) लिङ्गका आधारमा भेदभाव नगर्ने भन्दै समलैंगिक जोडीमा पनि लागु हुने ठहर ग‍र्‍यो । यो प्रावधान लागू नगरे वैध घनीष्ठ सम्बन्धका केही रूपहरू कानुनी रूपमा अदृश्य हुने न्यायाधीश मार्भिक लिओनेनले बताएका थिए ।

अदालतले सरकार र संसद्लाई समलैंगिक जोडीका अधिकार सम्बोधन गर्न पनि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप