‘दुल्लु विद्रोह’की एक कमान्डरको निधन
सारांश
- माओवादी द्वन्द्वकालमा भएको 'दुल्लु विद्रोह'की कमाण्डर कृष्णा शाहको निधन भएको छ।
- २०६१ सालमा भएको 'दुल्लु विद्रोह' माओवादीविरुद्धको प्रतिक्रान्ति थियो, जसले हेडक्वाटरसम्म धक्का दिएको थियो।
- 'दुल्लु विद्रोह' पछि माओवादीले जनताप्रति नरम नीति लिएको थियो र दैलेखमा कमजोर रह्यो।
सुर्खेत । तत्कालीन नेकपा (माओवादी)ले थालेको १० वर्षे सशस्त्र युद्धताका भएको ‘दुल्लु विद्रोह’की कमान्डर कृष्णा शाहको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा सोमबार मृत्यू भएको उनका छोरा नाता पर्ने भूपालविक्रम शाहले बताए ।
दुल्लु नगरपालिका–७ को पटाङ्गिनी नजिकै आफ्नै घरमा दम रोगका कारण आफ्नी काकीको निधन भएको भूपालविक्रमले बताए । माओवादी युद्धताका माओवादीविरुद्ध नै भएको ‘दुल्लु विद्रोह’ निकै चर्चित घटना हो । सोही विद्रोहकी एक कमान्डर भनेर शाहको दैलेखमा चर्चा हुन्छ ।
२०६१ सालमा भएको ‘दुल्लु विद्रोह’को घटनालाई अलजजिराले समेत प्रसारण गरेको थियो ।
माओवादी हेडक्वाटरसम्मै धम्का दिएको दुल्लु विद्रोह
सशस्त्र युद्ध चरमोत्कर्षका बेला माओवादीविरुद्ध नै भएको दुल्लु विद्रोहको घटनाले त्यो बेलाको माओवादी हेडक्वाटरसम्मै धक्का पुगेको थियो । दुल्लु क्षेत्रका साहित्यकार समेत रहेका शिक्षक चन्द्र रावतका बुझाइमा माओवादी कार्यकर्ताहरूले स्थानीय जनतामाथि अत्याचार गरेपछि प्रतिक्रान्तिका रूपमा दुल्लु विद्रोह’ भएको हो ।
०६१ साल कार्तिक २३ गते दुल्लु–८ का राजु बज्राचार्यलाई माओवादी कार्यकर्ताले बलजफ्ती वडा जनसरकार प्रमुख बनाइदिए । साथै जबरजस्ती कम्ब्याट पहिराइदिए ।
भोलिपल्ट सदरमुकामबाट सेना दुल्लु पुग्यो । मिलिसियाको पोसाक लगाएका राजु भाग्न खोजे । चिया पसलबाट ओरालो दौडिरहेका बेला सेनाको गोली लागेर राजु त्यहीँ ढले । उनको शव सेनाले खाल्डो खनेर गाड्यो ।
‘अनि सेनाले यो नखोतल्नु, लाससँगै बम छ भनेर नागरिकमा त्रास फैलायो,’ उक्त घटनाबारे जानकार दैलैखका वरिष्ठ पत्रकार प्रकाश अधिकारी भन्छन्, ‘त्यसपछि लास निकाल्न कसैले आँट गरेन ।’
त्यहीँबाट नै माओवादीविरुद्ध ‘दुल्लु विद्रोह’ को सुरुवात भयो ।
उक्त घटनाले सर्वत्र चर्चा पायो । स्थानीयले माओवादी गुहारे । जबरजस्ती वडा जनसरकार प्रमुख बनाएकै कारण राजु मारिएको भन्दै माओवादीले नै शव निकाल्नुपर्ने माग स्थानीयको थियो । तर माओवादीका नेता, कार्यकर्ताहरू पनि शव उत्खननका लागि तयार भएनन् ।
त्यो बेला माओवादीले जनसत्ता चलाएको थियो, दुल्लुको जनसरकार प्रमुख थीरबहादुर कार्की थिए ।
चार दिनपछि स्थानीय र आफन्तहरू मिलेर लास निकाले तर त्यहाँ बम भेटिएन । दाहसंस्कारका लागि पादुका खोलातर्फ लैजाँदै गर्दा एक हुल माओवादीले रोक्न खोजे । र, आफ्नो पार्टीको झण्डा ओढाउन खोजे ।खाल्डामै शव कुहिएको अवस्थामा माओवादीबाट क्रुद्ध भएका जनता झण्डा ओढाउन भएका माओवादीविरुद्ध उत्रिए । मलामीले बोकेका काठहरू माओवादी नेताहरूमाथि बर्जिए ।
माओवादी नेता नयाराम थापा घाइते नै भए । त्यहाँबाट स्थानीयले माओवादी नेताहरूलाई लखेटे । तर त्यसपछि झन स्थानीयमा त्रास फैलियो–कुट्न त हामीले कुट्यौँ, कतै हामीमाथि नै माओवादीहरूले आक्रमण पो गर्ने हुन कि !
‘मर्नु भन्दा बौलाउनु बेस् भनेजस्तै त्रासैत्रासका बिचमा जनताहरू माओवादीको अत्याचारविरुद्ध संगठित बने,’पत्रकार अधिकारी सम्झिन्छन्, ‘अब कति दिन डर र त्रासमा बाँच्ने अब प्रतिकार गर्नुपर्छ भन्ने सल्लाह भयो ।’
सुरुमा कसरी हुन्छ, माओवादीलाई गाउँमा छिर्न नदिन रातदिन गस्ती गर्ने सल्लाह भयो । उनका अनुसार माओवादी आए बाजा बजाउने र सब जम्मा भएर लखेट्ने योजना स्थानीयले बनाएका थिए ।
त्यही क्रममा कोटाडाँडामा प्रहरी र स्थानीयबिच मुठभेड भयो, स्थानीय विशु सर्केनीले सुरुमा माओवादी नेतालाई लाठी हानिन् । महिलाहरूको प्रहारबाट दुई माओवादी कार्यकर्ता त्यहाँबाट भागे । भाषण सर्वहारा मुक्तिको गर्ने तर सामान्य गरिबलाई ढुक्कसँग जीउन नदिने, खाना नदिएपछि कारबाही गर्ने, किरिया गर्न नदिनेजस्ता क्रियाकलापको जनताहरू निकै रिसाएको अधिकारी बताउँछन् ।
त्यसपछि स्थानीयहरू कात्तिक २८ गतेदेखि जुलुस निकाल्न थाले, दुल्लुबाट सुरु भएको अभियान त्यसअन्तर्गत साविक १३ गाविससम्म फैलियो, त्यसै मध्येकी एक कमान्डर थिइन्, पटाङ्गिनीकी कृष्णा शाह ।

विद्रोहको अगुवाका रुपमा महिलाहरू देखिएका थिए । मंसिर २ गते नाउलेकटुवालको काफलपानीमा जनसागर उर्लियो । सभाको अगुवाई पादुकाका हिरण्य दाहाल, गमौडीका खड्कबहादुर खड्का र दुल्लुकी बिना कार्कीले गरेका थिए । युद्धबाट प्रभावित भएर प्रायः पुरुषहरू भारततिरै हुन्थे । गाउँमा महिला, बालबालिका मात्रै । आक्रोशित अधिकांश महिला, बालबालिकाका हातमा भाला र लौरी देखिन्थे । महिलालाई उचालेर आफूविरुद्ध विद्रोह गरेको भन्दै एमाले समर्थित खड्कबहादुर खड्कालाई माओवादी कार्यकर्ताले हत्या गरिदिए ।
कात्तिक २८ देखि मंसिर ७ गतेसम्म प्रतिकार जुलुस निस्किए । माओवादी विरुद्ध जनता जागेपछि ‘दुल्लु विद्रोह’को खबर देशभर फैलियो । राज्यको ध्यान त्यहाँ केन्द्रित भयो । स्थानीय चन्द्र रावतका अनुसार माओवादीविरुद्ध जनस्तरबाट प्रतिक्रान्ति भएको उक्त घटना नेपालमै पहिलो थियो । ‘अलजजिरा’ले उक्त रिपोर्ट प्रसारण गरेपछि अन्तराष्ट्रि«य स्तरमै ‘दुल्लु विद्रोह’ले चर्चा पायो ।
महिला र बालबालिकाको अगुवाइमा मंसिर ७ गते पटांगिनीमा विशाल सभा आयोजना भयो । तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्का, स्थानीय विकासमन्त्री युवराज ज्ञवाली, विज्ञान तथा प्रविधिमन्त्री बालाराम घर्तीमगरबाट ३ करोडको ‘विशेष विकास कार्यक्रम’ घोषणा गरियो ।
लगत्तै इलाका प्रहरी र सेनाको गुल्म बस्यो । तत्कालीन गृहमन्त्री खड्काले नागरिकको सुरक्षाका लागि दुल्लुमा सेना राखेका थिए । त्यो स्थानीयका घरहरू विस्थापित गरेर राखिएको थियो । अहिले पनि उक्त ब्यारेक त्यहीँ छ । ‘दुल्लु विद्रोह’पछि त्यसको प्रभाव युद्धबाट प्रभावित पूर्वी दैलेखको नौमुलेसम्म पुग्यो ।
त्यो बेला पार्टीका केन्द्रीय सदस्य रहेका (हाल माओवादीबाट कालिकोटका उम्मेदवार रहेका) खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’माथि जनताले नौमुलेमा आक्रमण नै गरे । उनी त्यहाँबाट भागेर ज्यान जोगाएका थिए ।
पत्रकार अधिकारी भन्छन्, ‘दुल्लु विद्रोहले माओवादीलाई लज्जित गरायो । उक्त घटनापछि माओवादीले जनताप्रति नरम रुपमा प्रस्तुत हुने नीति अपनायो ।’
नेतृत्वको कमजोरी भएको भन्दै हेडक्वाटरबाटै खगेन्द्र सेनलाई ‘एक स्टेप’ डाउन गर्दै राजकुमार शर्मालाई दैलेख जिल्ला इञ्चार्ज बनाइयो । यसअघि कर्णालीको मुख्यमन्त्री रहेका शर्माले त्यो बेला कठिन परिस्थितिमा माओवादीको संगठन बचाएको स्मरण गर्छन् ।
दुल्लु विद्रोहको धक्काले माओवादी हेडक्वार्टरमा हलचल ल्यायो । नेतृत्वको कमजोरी औंल्याउँदै हेडक्वार्टरले कारबाहीस्वरुप ‘वान स्टेप डाउन’ गरेको थियो । राज्यस्तरकालाई जिल्ला, जिल्लाका नेतालाई एरिया, एरियालाई गाउँको जिम्मा दियो । देशैभरका नेता/कार्यकर्ताले जनतासंग माफी मागे । जनतासँग घुलमिल हुने नीति अपनायो ।
आफूविरुद्ध जनता जागेपछि माओवादीले युद्धको रणनीति बदल्यो । जनताप्रति नरम रुपमा प्रस्तुत हुने नीति अपनाउदै दुल्लुदेखि पिपलधारी जोड्ने सडक पुर्वाधार बनाए । पछि माओवादी हेडक्वाटरले एकराज भण्डारीको संयोजकत्वमा कार्यकर्ताले गरेका कमीकमजोरीबारे सत्यतथ्य अनुसन्धान गर्न ५ सदस्यीय कार्यदल नै पठायो ।
थीरबहादुर कार्की जनसरकार प्रमुखबाट हटाइए । उक्त क्षेत्रका सबै नेताहरू कारबाहीस्वरुप एक/एक तह घटुवा भए ।
तथापि माओवादी युद्धताका दुल्लुका २४ जनाले ज्यान गुमाएको रेकर्ड छ ।
परीणाम–अन्त आधार इलाका बन्दा दैलेख सधैँ कमजोर बन्यो
दैलेखका पत्रकार अधिकारीका अनुसार, दुल्लु विद्रोह र पत्रकार डेकेन्द्र थापा हत्याका कारण माओवादी नेताहरू बढी आलोचित भए । परिणामस्वरुप दैलेखका माओवादी फैलिन पाएन । शान्ति प्रक्रियापछि कर्णालीका (हालका) अन्य जिल्लाहरूमा माओवादी बलियो शक्तिका रुपमा उदाउँदा दैलैखमा कमजोर बन्यो । जुन, दुल्लु विद्रोह र पत्रकार थापाको हत्याकाण्ड लगायतकै परिणाम थियो ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा अहिलेसम्म माओवादीले प्रतिनिधि सभाका चुनाव जित्न सकेको छैन ।
‘दुल्लु विद्रोह’ भएको क्षेत्र हाल दैलेख–२ मा पर्छ ।
यहाँ अहिलेसम्म स्थानीय, प्रदेशदेखि प्रतिनिधि सभाका कुनै पनि चुनाव माओवादीले जितेको छैन । विद्रोहकै क्रममा जनसरकार प्रमुख रहेका थीरबहादुर कार्की ०६४ र ७० को संविधान सभा चुनाव लडेका थिए । तर उनी दुवै चुनावमा तेस्रो भए ।
सांगठनिकदेखि संसदीय चुनावमै माओवादी कमजोर भएपछि यो क्षेत्र कांग्रेस–एमालेको बलियो प्रभाव क्षेत्र बन्यो ।
०७४ मा वाम गठबन्धन बन्दा माओवादीले एमालेका राजबहादुर बुढालाई समर्थन गर्यो, ०७९ मा कांग्रेसका दीक्पालकुमार शाहीलाई । अहिले रुपान्तरित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट योगेन्द्रबादुर शाही उम्मेदवार छन् ।
कांग्रेसबाट पुनः दीक्पाल नै उम्मेदवार बन्दा एमालेबाट ०७० को चुनाव जितेका लक्ष्मी पोखरेल उम्मेदवार छन् । सांगठनिक रुपमा पनि दैलेख माओवादीको सबैभन्दा कमजोर जिल्ला हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण