बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुघाखोकीदेखि एलर्जीसम्म निको पार्ने ‘युनिभर्सल भ्याक्सिन’

शुक्रबार, ०८ फागुन २०८२, ०७ : ४८
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले रुघाखोकी, इन्फ्लुएन्जा, फोक्सोको संक्रमण र एलर्जीबाट जोगाउने नाकबाट स्प्रे गर्न मिल्ने युनिभर्सल भ्याक्सिन बनाएका छन्।
  • यो खोपले शरीरको प्रतिरक्षा प्रणालीलाई सधैं 'अलर्ट' अवस्थामा राख्ने र विभिन्न संक्रमणविरुद्ध लड्न मद्दत गर्छ।
  • प्रारम्भिक अध्ययनहरूले यो खोपले फ्लु, कोभिड, ब्याक्टेरिया संक्रमण र एलर्जीलाई नियन्त्रण गर्न सहयोग गर्ने देखाएको छ।

न्युयोर्क । अब एउटै खोपले संसारभरका मानिसलाई सताउने रुघाखोकी, इन्फ्लुएन्जा, फोक्सोको सङ्क्रमण र एलर्जीबाट समेत जोगाउने आशा जगाएको छ। अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले विकास गरेको यो ‘युनिभर्सल भ्याक्सिन’ नाकबाट स्प्रेका रूपमा लिन सकिन्छ।

वैज्ञानिकहरूका अनुसार यो खोपले अहिलेसम्मको खोप विज्ञानको आधारभूत मान्यतामै आमूल परिवर्तन ल्याइदिएको छ। सन् १७९६ मा एडवर्ड जेनरले खोपको सुरुवात गरेयता अहिलेसम्मका सबै खोपले शरीरलाई कुनै एउटा निश्चित सङ्क्रमणसँग मात्र लड्न सिकाउँथे। जस्तै, दादुराको खोपले दादुरा र ठेउलाको खोपले ठेउलासँग मात्र लड्थ्यो। तर, यो नयाँ खोपले भने कुनै एउटा विशेष भाइरसविरुद्ध तालिम दिनुको साटो शरीरको समग्र प्रतिरक्षा प्रणालीलाई नै सधैँ ‘अलर्ट’ अवस्थामा राख्ने काम गर्छ।

‘साइन्स’ जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार यो नाकमा हाल्ने स्प्रेले फोक्सोमा रहेका सेता रक्तकोषिका अर्थात् ‘म्याक्रोफेज’ लाई जुनसुकै बाह्य आक्रमणविरुद्ध पनि तत्काल प्रतिकार गर्न सक्ने गरी सक्रिय बनाउँछ। जनावरमा गरिएको परीक्षणमा यो खोपको प्रभाव करिब तीन महिनासम्म टिकेको देखिएको छ। 

यसले भाइरसलाई फोक्सो हुँदै शरीरभित्र प्रवेश गर्नबाट १०० देखि १००० गुणासम्म रोक्ने क्षमता राख्ने अनुसन्धानकर्ताहरूको दाबी छ। स्ट्यानफोर्डका माइक्रोबायोलोजी र इम्युनोलोजीका प्राध्यापक बाली पुलेन्द्रनका अनुसार यो खोपले फ्लु र कोभिड मात्र नभई ब्याक्टेरियाबाट हुने कडा सङ्क्रमण र धुलोका कारण हुने एलर्जी अर्थात् दमलाई समेत नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ।

यो अनुसन्धानलाई खोप विज्ञानको क्षेत्रमा लागेका विज्ञहरूले अत्यन्तै उत्साहजनक र ठूलो सफलताको रूपमा व्याख्या गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक डानियला फरेराले यो खोपले मानिसलाई श्वसनतन्त्रका सामान्यदेखि जटिल संक्रमणबाट बचाउने शैली नै बदल्न सक्ने बताएकी छिन्। 

विशेषगरी कोभिड-१९ जस्ता नयाँ महामारी फैलिएको सुरुवाती समयमा जबसम्म विशेष खोप बन्दैन, त्यतिबेलासम्म यो युनिभर्सल भ्याक्सिनले मानिसको ज्यान जोगाउन र सङ्क्रमणको गम्भीरता कम गर्न ठूलो भूमिका खेल्न सक्छ। त्यस्तै, हिउँदको समयमा फैलिने विभिन्न मौसमी रुघाखोकी र भाइरसबाट बच्नका लागि पनि यो स्प्रे निकै प्रभावकारी हुने देखिएको छ।

यद्यपि, यो अध्ययन अहिले प्रारम्भिक चरणमै छ र मानव शरीरमा यसको क्लिनिकल परीक्षण हुन बाँकी नै छ। मुसा र मानिसको प्रतिरक्षा प्रणालीमा केही भिन्नता हुने भएकाले मानिसमा यसको प्रभाव कति समयसम्म रहन्छ र यसले शरीरलाई सधैँ ‘हाई अलर्ट’ मा राख्दा कुनै नकारात्मक असर गर्छ कि गर्दैन भन्ने विषयमा वैज्ञानिकहरू अझै अध्ययनरत छन्। 

लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनका प्राध्यापक जोनाथन बलले शरीरको प्रतिरक्षा प्रणालीलाई सधैँ उत्तेजित अवस्थामा राख्दा यसले आफ्नै शरीरलाई हानि पुर्‍याउन सक्ने जोखिमबारे सतर्क रहनुपर्ने बताएका छन्। तैपनि, वर्तमान खोपको विकल्पका रूपमा नभई यसलाई सहायक सुरक्षा कवचका रूपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको विश्वास छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप