घन्टी र माटोले उल्ट्याउँदै छ मोरङ– ४ मा पुराना दलको हिसाबकिताब
सारांश
- मोरङ-४ मा आगामी निर्वाचनमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ, जहाँ विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा छन्।
- स्थानीय मतदाताहरू उम्मेदवारको एजेन्डा र कार्यक्षमतालाई ध्यान दिँदै मतदान गर्ने तयारीमा छन्, जसले पुरानो दललाई चुनौती दिने देखिन्छ।
- स्थानीय समस्याहरूमा बाटोघाटो, स्वास्थ्य, खानेपानी, र रंगशाला निर्माण जस्ता विकासका मुद्दाहरू मुख्य रूपमा उठिरहेका छन्।
ग्रामथान, मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरको मुटु र आसपासका ग्रामीण क्षेत्र समेटिएको मोरङ–४ मा यस पटक चुनावी सरगर्मी राम्रैसँग छाएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ को मिलन चोकको एक चिया पसलमा बिहान भेटिएका स्थानीय सरोज कुमार मण्डलको विश्लेषणले यस क्षेत्रको बदलिँदो राजनीतिक रङलाई प्रस्ट पार्छ । कृषि कार्यालयमा २८ वर्षसम्म अधिकृतका रूपमा सेवा गरी निवृत्त भएका मण्डल प्रत्येक बिहान यही चोकमा ‘मर्निङ वाक’ गर्छन् । स्थानीयसँग भलाकुसारी गर्छन् । उनले आफ्नो लामो अनुभव र स्थानीयस्तरमा देखिएको जनमतका आधारमा यस पटकको निर्वाचन विगतजस्तो सहज नहुने बताए ।
मण्डलका अनुसार मतदाताहरू यतिबेला निकै सचेत छन्, उनीहरू ठुला दलका ठुला नामभन्दा पनि उम्मेदवारले बोकेका एजेन्डा र कार्यक्षमतालाई सूक्ष्म रूपमा केलाइरहेका छन् । ‘अहिले म यो क्षेत्रको लगभग सबै स्थानमा पुगेको छु । यहाँको चुनावी मैदानमा यस पटक हेभिवेट भिडन्तको चर्चा भए पनि भित्री तहमा भने जनताको असन्तुष्टि र नयाँ विकल्पको खोजी तीव्र रूपमा भइरहेको पाएको छु,’ मण्डल भन्छन् ।

मण्डललाई लागेको छ– यहाँ मुख्यतः चार उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुन्छ । नेपाली कांग्रेसका तर्फबाट प्रभावशाली नेता तथा महामन्त्री गुरुराज घिमिरे चुनावी मैदानमा छन् भने नेकपा एमालेले पूर्वमन्त्री जीवन घिमिरेलाई अघि सारेको छ । यस्तै, पूर्वमन्त्री अमनलाल मोदी नेकपाबाट बलिया दाबेदारका रूपमा यहाँ छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी नयाँ लहरको नेतृत्व गर्दै मैदानमा उत्रिएका छन् ।
‘माटो’ चुनाव चिह्न भएको श्रम संस्कृति पार्टी पनि यहाँ कम नभएको मण्डल बताउँछन् ।
चुनावी माहोल हेर्दा पनि दलहरूलाई यहाँ विरासत जोगाउन धौधौ देखिन्छ ।
रातोपाटीले यो क्षेत्रमा कांग्रेसको आन्तरिक अवस्था नियाल्दा जनमत निकै उतारचढावपूर्ण भेटेको छ । सुरुका दिनहरूमा कांग्रेसका कट्टर समर्थकहरू समेत ‘घन्टी’ को चर्चा गरिरहेका थिए, तर केन्द्रमा गगन थापा सभापति भएपछि कांग्रेस वृत्तमा पुनः नयाँ उत्साह सञ्चार भएको छ । धेरै मतदाता अहिले कांग्रेसलाई ‘बदलिएको कांग्रेस’का रूपमा हेर्न थालेका छन् । यद्यपि उम्मेदवार घिमिरेको व्यक्तिगत चर्चा भने क्षेत्रमा उतिसाराे हामीले पाएनाैँ ।
स्थानीय व्यवसायी शिरोमणि माझीका अनुसार गगन थापाको नाम र पार्टीको नयाँ नीतिका कारण धेरैले कांग्रेसलाई मत हाल्ने सोच बनाएका छन् । तर घिमिरेले आफ्नो व्यक्तिगत प्रभाव विस्तार गर्न अझै मिहिनेत गर्नुपर्ने छ । कांग्रेसका लागि यो निर्वाचन आफ्नो पुरानो साख फर्काउने र पार्टीभित्रको नयाँ ऊर्जालाई मतमा बदल्ने कठिन परीक्षा साबित हुने उनी बताउँछन् ।

निवर्तमान सांसद तथा पूर्वमन्त्री अमनलाल मोदी यस क्षेत्रका अर्का शक्तिशाली प्रतिस्पर्धी हुन् । मोदीको मुख्य पकड क्षेत्र ग्रामथान गाउँपालिकालाई मानिन्छ, जहाँ उनको विगतमा गरेका काम र उनको जातीय ‘क्लस्टर’ मतको ठुलो आधार हो ।
रातोपाटीको टिम ग्रामथान पुग्दा थारू समुदायमा मोदीको बलियो प्रभाव भेट्यो । तर यस पटक उनलाई रास्वपाका सन्तोष राजवंशी र ‘माटो’ले डर पैदा गराएको छ । ग्रामथानमा मोदीको एकलौटी प्रभावलाई यी नयाँ शक्तिहरूले कति कमजोर बनाउँछन् भन्ने कुरा नै उनको हारजितको मुख्य कडी हुनेछ ।
यस पटक एमाले र कांग्रेसलाई ग्रामथानबाट उल्लेख्य मत ल्याउन निकै सकस पर्ने स्थानीय शिक्षक तिलक राम माझी बताउँछन् ।
चुनावमा निर्णायक शक्तिका रूपमा उदाउँदै गरेको रास्वपाको प्रभाव मोरङ–४ मा जबर्जस्त देखिएको छ । अधिकारी सप्लायर्सका प्रोपराइटर सरोज अधिकारीका अनुसार केही साताअघिसम्म त रास्वपाले नै चुनाव जित्ने जस्तो माहोल यहाँ बनेको थियो, तर अहिले त्यो क्रेजमा सामान्य गिरावट आएको उनले देखे । तैपनि, रास्वपाका राजवंशी नै अझै मुख्य प्रतिस्पर्धीकै रूपमा उनले ठानेका छन् । खासगरी, युवा मतदाता र परम्परागत पार्टीहरूबाट निराश भएकाहरूका लागि ‘घन्टी’ आशा बनेको छ । रास्वपाले मौन मतदाताहरूको ठुलो हिस्सालाई पनि आकर्षित गरिरहेको अधिकारी बताउँछन् ।
एमाले यहाँ सांगठनिक रूपमा निकै मजबुत पार्टी हो । तर यसपटक एमालेका घिमिरेलाई सहज नहुने हामीले देख्यौँ । देशभर नै एमालेप्रति प्रश्नहरू उठिरहँदा यो क्षेत्रमा पनि एमालेलाई सकस परेको छ । घिमिरे पूर्वमन्त्री हुन् । उनले आफ्नो कार्यकालमा गरेका काम र स्थानीयको अपेक्षाबिचको खाडल पुर्न कस्सिएर लागेका छन् । सांगठनिक मत सुरक्षित गर्न सके पनि स्वतन्त्र र नयाँ मतदाताहरूलाई रिझाउन उनले सकिरहेका छैनन् ।
के थियो चुनावी गणित ?
चुनावी गणितलाई २०७९ सालको निर्वाचन परिणामसँग तुलना गर्दा यस पटकको परिस्थिति निकै भिन्न छ । अघिल्लो निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा अमनलाल मोदीले ३० हजार ६१२ मत ल्याएर जितेका थिए । तर, त्यो जितमा उनको व्यक्तिगतभन्दा पनि कांग्रेस र अन्य दलको मतको ठुलो हिस्सा थियो ।
समानुपातिकतर्फ यहाँ कांग्रेस १९ हजार ५५५ मतका साथ पहिलो र एमाले १८ हजार ३८६ मतका साथ दोस्रो स्थानमा थिए । मोदीको पार्टी माओवादी केन्द्र भने केवल ९ हजार ७६० मतमा सीमित थियो । अहिले माओवादी र एकीकृत समाजवादी मिलेर नेकपा बने पनि कांग्रेससँगको तालमेल टुटेकाले मोदीलाई अघिल्लो पटकजस्तो सहज देखिएन । कांग्रेसले आफ्नै महामन्त्री घिमिरेलाई उठाएकाले अघिल्लो पटक मोदीलाई गएको कांग्रेसको मत यस पटक आफ्नै उम्मेदवारतिर फर्किने निश्चित छ ।
बालेन र हर्क फ्याक्टर
यस क्षेत्रमा बालेन र हर्क फ्याक्टरले पनि चुनावी नतिजा प्रभावित पार्ने देखिन्छ । अघिल्लो पटक रास्वपाले समानुपातिकमा ल्याएको ७ हजारभन्दा बढी मत र ‘लौरो’ अभियानको एक हजार मत अहिले रास्वपाकै पक्षमा केन्द्रित हुने देखिन्छ । विराटनगरका अधिवक्ता सुबोध आचार्यका अनुसार छिमेकी जिल्लामा बालेन शाहको सक्रियता र देशभर रास्वपाप्रति देखिएको आकर्षणले यहाँका मतदातालाई पनि प्रभावित पारेको छ । धेरै मतदाताले उम्मेदवारलाई व्यक्तिगत रूपमा नचिने पनि घन्टीलाई दिने भनिरहेका छन् ।

मतदाताको गुनासो बढी
विराटनगरकी फूलकुमारीले आफ्नो मुसहरी टोलमा नेताहरू चुनावका बेला मात्र आउने र गरिबको आवास तथा सडकको समस्या कहिल्यै समाधान नगर्ने गुनासो पोखिन् । भनिन्, ‘नेताहरू आउँछन्, आश्वासन दिन्छन् तर हाम्रो बस्तीमा धुलो खानुबाहेक केही परिवर्तन भएको छैन ।’ ग्रामथानका स्थानीयलाई पार्टीभन्दा पनि बाटोघाटो, स्वास्थ्य र खानेपानीको समस्या समाधान गर्ने वास्तविक कामदार चाहिएको छ । अञ्जना मण्डल पनि गाउँपालिकामा आउने सुविधाहरू पहुँचवालाले मात्र पाउने र आफूहरूलाई जानकारीसमेत नहुने बताउँछिन् ।
विराटनगर–१९ खवास टोलका बुद्ध नारायण खवास र दीपक राजवंशी पनि उस्तै दिक्दारी पोख्छन् । खवासका अनुसार वैजनाथपुर रंगशालाको बजेट पटक–पटक फ्रिज भयो र वर्षौँदेखि बाटो निर्माण भएन । त्यसैले जनप्रतिनिधिप्रति असन्तुष्टि बढेको उनले सुनाए । समयमा मल नपाउनु र बेरोजगारी बढ्नुलाई उनले यहाँ मुख्य समस्या हामीसँग देखाए ।
‘यहाँको मुख्य समस्या रंगशाला हो । कति पटक बजेट आयो, तर फ्रिज भएर गयो, कसैले काम गरेनन् । अमनलाल मोदी यहाँबाट दुई पटक जितेर जाँदा पनि मिलनचोकदेखि महेशपुरसम्मको बाटो बनाउनुभएन । खेतीको सिजनमा किसानले मल पाउँदैनन् । १०–१५ किलो मलले के हुन्छ ?' खवासले गुनासो सुनाए ।

राजवंशीले भने अबका युवा पुस्ताले हेभिवेटको ट्यागमा मात्र भोट नहाल्ने र उम्मेदवारको सोच तथा कार्ययोजना हेर्ने बताए ।
मोरङ–४ का मतदाताले विकास र पूर्वाधार मागेका छन् । त्यस्तै डुबानको पनि यहाँ समस्या देखिएको उनीहरूले बताए । विराटनगर–३ का अगुवा विश्वकान्त दाहाल केसलिया र सिंघिया खोलाको तटबन्धन निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । विराटनगरको रिङ रोड, अधुरो रंगशाला र सुकुमबासी बस्ती समस्या यहाँका स्थायी चुनावी मुद्दा भएका उनले बताए । सुकुमबासीहरूले आफ्नो बासस्थानको ग्यारेन्टी नभएसम्म अन्य विकासका कुरा गर्नु व्यर्थ भएको पनि उनीहरूले बताए ।

भिडियो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण