आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिमका मतदाता भन्छन्, ‘जसले जित्छ, उसले देश बनाओस् र युवालाई विदेश जानबाट रोकोस्’

बिहीबार, २१ फागुन २०८२, १७ : ४८
बिहीबार, २१ फागुन २०८२

धनगढी । सुदूरपश्चिममा यसपटकको निर्वाचन निकै उत्साहजनक र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतदान गरेर बाहिरिँदै गरेका यहाँका मतदाताहरूले यसपालिको चुनाव विगतभन्दा फरक रहेको प्रतिक्रिया दिएका छन्।

मतदान गर्न पाउँदा खुसी व्यक्त गर्दै उनीहरूले अब जित्ने उम्मेदवारसँग देश विकास गर्न र युवाहरूलाई स्वदेशमै बस्ने वातावरण मिलाउन आग्रह गरेका छन्।

धनगढीकी विना थापाले यस पटक आफूले राम्रो र काम गर्न सक्ने व्यक्तिलाई भोट हालेको बताइन्। 

‘हाम्रो धनगढीमा धेरै समस्या छन्, ती पूरा हुनुपर्‍यो। धनगढी सहर भनिए पनि यहाँका गाउँ–गाउँमा अझै बाटो पुगेको छैन। त्यसैले सहरलाई मात्र होइन, गाउँलाई पनि विकास गरेर मुहार फेर्नुपर्छ।’उनले भनिन्।

यस्तै, निर्मला थापाले पनि गाउँको विकास गर्नेलाई नै आफूले रोजेको बताउँदै जित्नेहरूलाई गाउँको समस्या बुझिदिन सुझाव दिइन्। यसपालि मतदाताहरूले पार्टीभन्दा पनि काम गर्न सक्ने पात्र हेरेर मत दिएको बताएका छन्। 

‘मैले यस पटक आफ्नो मत परिवर्तन गरेकी छु। जसले काम गर्न सक्छ, उसैलाई भोट दिएँ।’  सम्झना भण्डारीले भनिन्। लालीदेवी मलासीले पनि आफूले काम गर्ने मान्छेलाई छानेर मतदान गरेको बताइन्।

यस्तै मतदानपछि खुसी देखिएकी गंगादेवी कोलीको चाहना भने अलिक फरक छ। ‘हामीले दिएको भोटले दिनदुखी र गरिबहरूको दिन फेरियोस् भन्ने चाहना छ,’उनले भनिन्।

यहाँका नयाँलाई मतदान गर्ने मतदाता नयाँ पनि जितेपछि उही नहोस् भन्ने कामना गर्छन्। ‘नयाँले पक्कै पनि केहि गर्छ भनेर भोट दिएका छौँ, नयाँले पनि उही ताल गर्नु भएन काम गरेर देखाउनु पर्‍याे ,’ गंगादेवीले भनिन्।

पुराना पार्टीलाई भोट दिनेहरूले यसपालि नयाँ उम्मेदवार भएकाले काम पनि नयाँ हुने आसा राखेको बताउँछन्। नयाँ र पुराना दुवैलाई भोट दिने मतदाताहरूले यहाँका  मुख्य समस्या रोजगारी नपाएर बिदेसिनुपर्ने युवाहरू बाध्यता भएकाले देशमा रोजगारी हुने वातावरण गर्नुपर्ने बताउँछन्।

यसका साथै चुनाव जितेपछि नेताहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई विदेश जानबाट रोक्नुपर्ने उनीहरूको माग छ।

देशको मुहार परिवर्तन हुने आशामा भोट हालेका सुदूरपश्चिमका मतदाताहरूले निर्वाचित हुने उम्मेदवारलाई आजैदेखि जनताको काममा लाग्न र बाचा नभुल्न खबरदारी समेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप