आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै

आइतबार, २४ जेठ २०८३, २१ : १५
आइतबार, २४ जेठ २०८३

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घ नेपालको आयोजनामा ‘अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन–२०२६’ आयोजना हुने भएको छ। ‘नेतृत्वमा नारी – समृद्धिमा सहकारी’ भन्ने मूल नारासहित सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा हुने महासङ्घले जनाएको छ।

महिला नेतृत्व, सहकारी सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन तथा कृषि क्षेत्रमा महिलाको योगदानलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको सम्मेलनमा नेपालसहित विभिन्न देशका सहकारी अभियन्ता, नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार संस्था तथा महिला उद्यमीहरूको सहभागिता रहनेछ।

महासङ्घका महाप्रबन्धक डा. बाबु काजी थापाका अनुसार सम्मेलनको मुख्य उद्देश्य सहकारी क्षेत्रमा सक्रिय महिला किसान तथा उद्यमीहरूको योगदानलाई उजागर गर्नु, सहकारी संस्थामा लैङ्गिक समानता र नेतृत्व विकासलाई प्रोत्साहन गर्नु तथा महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणमा सहकारी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउनु हो।

उनका अनुसार सम्मेलनले महिलाहरूलाई नेतृत्व तहमा पुग्न आवश्यक सीप, ज्ञान र अवसर प्रदान गर्ने, सहकारी क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफल अभ्यासहरूको आदानप्रदान गर्ने तथा महिला–पुरुषको समान सहभागिता सुनिश्चित गर्न नीतिगत बहस अघि बढाउने लक्ष्य लिएको छ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा तथा ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठान गर्नेछ। नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा करिब एक चौथाइ योगदान दिने गरेको छ भने ग्रामीण क्षेत्रमा महिलाको सहभागिता उल्लेखनीय रहेको छ।

देशभर सञ्चालनमा रहेका ३२ हजारभन्दा बढी सहकारी संस्थामा महिलाको सहभागिता करिब ५६ प्रतिशत रहेको तथ्याङ्कले पनि सहकारी क्षेत्रमा महिलाको प्रभावशाली उपस्थितिलाई देखाउँछ।

दुई दिने सम्मेलनमा महिला नेतृत्व विकास, सहकारीमार्फत आर्थिक सशक्तीकरण, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, खाद्य सुरक्षा, उद्यमशीलता विकास, बजार पहुँच विस्तार तथा रोजगारी सिर्जनाजस्ता विषयमा प्रस्तुति र प्यानल छलफल हुनेछन् । साथै विभिन्न देशका सफल सहकारी अभ्यास, नवप्रवर्तन र नेतृत्वका अनुभवहरू पनि सहभागीबिच साझा गरिनेछ।

सम्मेलनको आकर्षणका रूपमा महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारी संस्थाको अध्ययन अवलोकन भ्रमणसमेत समावेश गरिएको महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार सम्मेलनले महिला नेतृत्वलाई थप मजबुत बनाउने, सहकारी क्षेत्रमा लैङ्गिक समावेशिता विस्तार गर्ने, अन्तर्राष्ट्रिय सहकार्य र सञ्जाल विकासमा टेवा पुर्‍याउने तथा महिला उद्यमीका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा सहभागी हुन इच्छुक व्यक्तिका लागि अनलाइन माध्यमबाट दर्ता खुला गरिएको छ। सहभागी शुल्क प्रतिव्यक्ति पाँच हजार रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ। सीमित सिट उपलब्ध भएकाले इच्छुक सहकारीकर्मी तथा सरोकारवालालाई समयमै दर्ता गराउन आग्रह गरिएको छ।

सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्य रहनेछ। यसका साथै राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, साना किसान विकास लघुवित्त वित्तीय संस्था, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) नेपाल, हेफर इन्टरनेशनललगायतका संस्थाहरू सह–आयोजकका रूपमा रहनेछन्। 

विभिन्न केन्द्रीय तथा जिल्ला सहकारी सङ्घ, सहकारी संस्था, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका प्रतिष्ठानहरूले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्ने जनाइएको छ।

सम्मेलन सम्पन्न भएपछि ‘काठमाडौँ घोषणा–२०२६’ जारी गरिनेछ। उक्त घोषणापत्रले महिला नेतृत्व विकास, सहकारी क्षेत्रको सुदृढीकरण, उद्यमशीलता प्रवर्द्धन तथा नीतिगत सुधारका क्षेत्रमा मार्गदर्शन गर्ने अपेक्षा आयोजकको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप