आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
सीमा विवादबारे परराष्ट्रमन्त्रीको भनाइ

'आवश्यक परे बेलायत सरकारसँग दस्ताब‍ेजहरूमा पहुँच स्थापित गर्नेछौँ'

आइतबार, २४ जेठ २०८३, २० : २२
आइतबार, २४ जेठ २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् ।

भारतका विदेशमन्त्री डा. एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा उनी गत शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए । 

भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा नेपाल–भारतबीचको विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ सबल तुल्याउनेलगायतका विषयमा छलफल भएको थियो । 

स्वदेश फर्कने क्रममा मन्त्री खनालले सीमा सम्बन्धी विषयहरूलाई तथ्य र प्रमाणका आधारमा कूटनीतिक पहल तथा 'टेबल टक'मार्फत टुङ्गोमा पुर्‍याइने स्पष्ट पारे । प्रधानमन्त्रीको निर्देशनानुसार सीमा विवाद सुल्झाउन गृहकार्य भइरहेको उल्लेख गर्दै उनले राष्ट्रिय अभिलेखालयमा रहेका दस्तावेजहरूको अध्ययन भइरहेको जानकारी दिए । 

नेपालमा कतिपय ऐतिहासिक दस्तावेजहरूको मौलिक प्रति नदेखिएको सन्दर्भमा उनले १८१६ को सुगौली सन्धिताकाका इस्ट इन्डिया कम्पनीका अधिकारीहरूका व्यक्तिगत डायरी तथा महत्त्वपूर्ण कागजातहरू बेलायतका सङ्ग्रहालय र पुस्तकालयहरूमा सुरक्षित रहेको बताए ।

मन्त्री खनालले‍ आवश्यक परे बेलायत सरकारसँगको मित्रवत् सम्बन्धका माध्यमबाट ती दस्ताब‍ेजहरूमा पहुँच स्थापित गर्न छलफल र सहकार्य अघि बढाइने बताए । 

उनले भने, 'विभिन्न कालखण्डमा अब सिंहदरबारमै कुनै समयमा आगो लागेको कारण हुन सक्छ अथवा कुनै कारणले कतिपय चाहिँ आधिकारिक दस्तावेजहरू हामीसँग नभएका दस्तावेजहरू अथवा त्यो भएका आधिकारिक दस्तावेजहरूलाई थप सपोर्ट गर्ने डकुमेन्टहरू... अब तत्कालीन अवस्थामा १८१६ मा सुगौली सन्धि हुँदै गर्दाखेरी त्यतिबेलाका बेलायती, जो इस्ट इन्डिया कम्पनीमार्फत भारतमा हुनुहुन्थ्यो, उहाँहरूले अध्ययन गरेका, लेखेका, कहिलेकाहीँ व्यक्तिगत नोटबुकहरू पनि हिस्टोरिकल एभिडेन्स (ऐतिहासिक प्रमाण) का रूपमा प्रयोग गर्न सकिन्छ। त्यस्ता विषयहरू हाम्रो बुझाइमा बेलायतका सङ्ग्रहालयहरूमा, लाइब्रेरीहरूमा, नेशनल आर्काइभ्सहरूमा छन् । ती विषयहरू हामी आवश्यकता परेको अवस्थामा स्वाभाविक रूपमा, बेलायत सरकारसँग हाम्रो मित्रवत् सम्बन्ध छ, त्यो 'एक्सेस अफ डकुमेन्ट्स' को हिसाबले चाहिँ उहाँहरूसँग हामी छलफल र सहकार्य गर्न सक्छौँ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप