बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कर्णालीमा मतदात

कर्णालीमा निर्वाचनप्रति देखिएन उत्साह, ६० प्रतिशतले पनि गरेनन् मतदान

शान्तिपूर्ण मतदान, शुक्रबारदेखि मतगणना
बिहीबार, २१ फागुन २०८२, २२ : २६
बिहीबार, २१ फागुन २०८२

सारांश

  • कर्णाली प्रदेशमा यसपटकको निर्वाचनमा उत्साहजनक सहभागिता देखिएन, अघिल्लो निर्वाचनको तुलनामा कम मत खस्यो।
  • निर्वाचनमा युवा मतदाताको सहभागिता कम देखियो, वैदेशिक रोजगारीमा गएकाहरू नफर्किएकाले मतदानमा कमी आएको अनुमान छ।
  • कर्णालीका हिमाली जिल्लाहरूमा भने अन्य क्षेत्रको तुलनामा बढी मतदान भएको देखियो, भोलिबाट मतगणना सुरु हुनेछ।

सुर्खेत । विगतको जस्तो कर्णाली प्रदेशमा यो पटक निर्वाचनमा सहभागीता उत्साहजनक देखिएन् ।

अन्त त त्यस्तै हो, प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न मतदानस्थलहरूको अनुगमनका क्रममा हामीले निर्वाचनमा आम समुदायको उत्साहजनक सहभागीता नरहेको पायौँ । रातोपाटीकर्मी मतदान सुरु हुनै लाग्दा बिहान ७ बजे नै राजधानी वीरेन्द्रनगर–४ भैरवस्थान स्थित भैरव मावि मतदान स्थल पुग्दा विगतको जस्तो मान्छेको उपस्थिति बलियो थिएन । एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गर्ने स्थल समेत भएकाले यो मतदान स्थल सबैको चासोको केन्द्रविन्दुमा हुन्थ्यो । 

तथापि न त्यहाँ राजनीतिक दलका कार्यकर्ताहरूको नै बलियो उपस्थिति थियो न त मतदातामा नै उत्साह। अझ भनौं, युवा मतदाताको सहभागीता निकै कम देखिन्यो । त्यसपछि वीरेन्द्रनगरका अन्य मतदान स्थलमा पुग्दा मतदाताहरूमा खासै निर्वाचनप्रति उत्साह थिएन् । 

सहरीया क्षेत्र रहेको राजधानीकै मतदानस्थलमा कमजोर सहभागीता रहँदा कर्णालीका अन्य ग्रामीण क्षेत्रहरूमा झन न्यून रहेको निर्वाचन अधिकारीहरू बताउँछन् । 

नजिता–विगतको भन्दा निकै न्यून भयो ।

प्रदेश निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, प्रदेशभर ६० प्रतिशत पनि मत खस्न सकेन । कर्णालीका निर्वाचन अधिकारीहरूले यो पटक ७० प्रतिशतभन्दा बढी मत खस्ने आकलन गरेका थिए ।किनकि अघिल्लो निर्वाचन (०७९) मा ६४ प्रतिशत मत खसेको थियो । 

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बुधबार पत्रकारलाई बिफ्रिङ गरेका थिए–‘नयाँ मतदाताहरू बढेकाले मतदानमा सहभागिता स्वतः बढ्छ नै ।’ 

यो पटक कर्णालीमा २६ हजार मतदाता थप भएका थिए । ०७९ को निर्वाचनसम्म १० लाख ६ हजार ८३४ जना मतदाता रहेकामा २६ हजार थप भएसँगै कुल मतदाता संख्या १० लाख ३७ हजार २५० कायम भएको थियो । 

निर्वाचनको दिनसम्म आइपुग्दा अस्थायी मतदातासहित कुल मतदाता संख्या १० लाख ४८ हजार १३८ पुग्यो । त्यसमा ५५ प्रतिशत अर्थात् ५ लाख ७७ हजार ५४२ जनाले मात्रै मताधिकारको प्रयोग गरे । 

मतदानमा सहभागी महिलाको संख्या ३ लाख १२ हजार ८४५ र पुरुष मतदाताको संख्या २ लाख ६४ हजार ६९५ रहेको छ । निर्वाचन क्षेत्रगत रुपमा हेर्दा सुर्खेत–१ मा १ लाख २२ हजार ९०२ मतदाता संख्या रहेकोमा ५७.०९ प्रतिशत अर्थात् ७० हजार १६७ मत खसेको छ । 

यस्तै, सुर्खेत–२ मा १ लाख २७ हजार ६६८ मतदाता संख्या रहेकोमा ५७.४६ प्रतिशत अर्थात् ७३ हजार ३५६ मत खसेको छ । 

दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा, ८१ हजार २८७ मतदाता संख्या रहेकोमा ५०.५२ प्रतिशत अर्थात् ४१ हजार ०६९ र ८१ हजार ५०३ मतदाता संख्या रहेको दैलेख–२ मा ४८.२४ प्रतिशत अर्थात् ३९ हजार ३२१ मत खस्यो । 

यस्तै १ लाख ०८ हजार ४७९ मतदाता संख्या रहेकोमा ५६.८४ प्रतिशत अर्थात् ६१ हजार ६५७, १ लाख ६४ हजार ६४८ मतदाता संख्या रहेको सल्यानमा ५१.१४ प्रतिशत अर्थात् ८४ हजार २०१ र १ लाख ७ हजार ७४८ मतदाता संख्या रहेको रुकुम पश्चिममा ५८.४४ प्रतिशत अर्थात् ६२ हजार ९६८ मत खसेको छ । 

यस्तै कालिकोटमा ५० प्रतिशत मत अर्थात ४२ हजार ५२३ मत खसेको छ, यहाँ ८५ हजार ०४४ मतदाता थिए । 

यस्तै ७२ हजार ४४४ मतदाता संख्या रहेको जुम्लामा ५६.८८ प्रतिशत अर्थात् ४१ हजार २०८, ३६ हजार ६०५ मतदाता संख्या रहेको मुगुमा ६०.५६ प्रतिशत अर्थात् २२ हजार १६८ मत खसेको छ । 

हिमाली जिल्ला डोल्पामा २५ हजार ००५ मतदाता संख्या रहेकोमा ६५.७३ प्रतिशत अर्थात् १६ हजार ४३७ मत खसेको छ भने ३४ हजार ८०५ मतदाता संख्या रहेको डोल्पामा ६४.५५ प्रतिशत अर्थात् २२ हजार ४६७ मत खसेको छ । 

mat-karnali

प्राप्त रिपोर्ट अनुसार कर्णालीका पहाडी जिल्लाहरूभन्दा हिमाली जिल्लाहरूको सहभागीता बढी देखिन्छ । कम मतदाता संख्या रहे पनि हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा आफ्नो मताधिकार प्रयोग गर्नेहरूको संख्या धेरै रहेको हो । 

प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले पनि सोचेभन्दा कमै मात्र मत खसेको बताए ।

‘हामीले पनि ६५–७० प्रतिशतसम्मै खस्छ कि मत भन्ने सोचेको हो,’ उनले भने, ‘त्यसका विविध कारण होलान्, पछि समीक्षा गरौँला ।’ वैदेशिक रोजगारी लगायतका कारणले पनि झण्डै ४५ प्रतिशत मतदाताहरू निर्वाचनमा सहभागी नभएको आकलन निर्वाचन अधिकारीहरूले गरेका छन् । 

‘हाम्रो गाउँका अधिकांश युवाहरू भारत लगायत अन्य मुलुकमा रोजगारीमा छन्, उनीहरू चुनावमा फर्र्किएनन्,’दैलेख ठाटीकाँध–३ का हेमन्त दशौदीले भने, ‘गाउँमा उही बुढाबुढी र बालबालिका मात्रै थिए, निकै न्यून मात्रामा भोट खस्यो ।’ 

उनका अनुसार, उक्त वडामा मतदाता संख्या २ हजार ६४ हो तर, ४४ प्रतिशत मात्रै खस्यो । उनी भन्छन्, ‘खास मतदातामा उत्साह नै छैन, बाहिरबाट निर्वाचन नै भनेर निकै कम मात्रामा गाउँ आए ।’ यसअघि मंसिर, चैत्र, वैशाखमा चुनाव हुने प्रचलन थियो, यहाँका नागरिकहरू चैते दशैंमा घर आउने असारमा बर्खे खेती लगाउने रोजगारीका लागि भारत गैजान्छन् । र, दशैंको छेको पारेर भारतबाट घर आउँछन् । 

त्यसपछि कात्तिकमा हिउँदे खेती लगाएर पुनः भारत जान्छन्, तर यो पटक फागुनमै चुनाव भएपछि अधिकांश विदेशिएकाहरू चुनावकै लागि फर्किएनन् । 

उनले भनेजस्तै कर्णालीका अन्य क्षेत्रहरूको समस्या पनि यही हो ।

matadata

न्यून उपस्थिति भए पनि शान्तिपूर्ण चुनाव

कर्णालीमा यो पटक शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भयो । मतदान सम्पन्न गराउन ८ हजार ६२५ जना निर्वाचन कर्मचारीहरू खटिएका थिए भने सुरक्षा निकायतर्फ १५ हजार बढी प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएका थिए । जसमा ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् । 

त्यस्तै सशस्त्र र नेपाली सेना पनि चुनावी मैदानमा थिए । कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा नेपाली सेनाले लिएको थियो । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हल्जीको सुनखानी मावि मतदान केन्द्रमा बाहेक अन्य क्षेत्रमा शान्तिपूर्ण मतदान भयो । 

उक्त केन्द्रमा लामाहरूले मतदानका लागि वारेसनामा पाउनुपर्ने र गुम्बामा बिरामी रहेको भन्दै मतपेटिका त्यहीँ लैजानुपर्ने भन्दै विवाद गरेका थिए । केही घण्टा मतदान रोकिएको थियो, यद्यपि छलफल पश्चात् विवाद साम्य भयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले मतदान शान्तिपूर्ण तरिकाले नै सम्पन्न भएको रातोपाटीलाई बताए । ‘स–साना विवाद त भैहाल्छन् नै तर, क्षति नै पुग्ने खालको, मतदानमा तनावग्रस्त नै हुने खालका विवाद कतै भएनन्,’उनले भने । 

सवारी साधनको सन्दर्भमा कतिपय ठाउँमा अनुमतिबिना सवारी चलाइएका घटनाहरू आए । वीरेन्द्रनगरमा अनुमतिबिना चलाइएका ५० बढी सवारी साधनहरूलाई नियन्त्रणमा लिइएको थियो । ‘निर्वाचन आयोग, प्रहरीबाट पनि हामीले सूचना सम्प्रेषण गरिरहेका थियौँ,’ शाह भन्छन्, ‘अनुमति बिनाका सवारी साधन चलाउन नपाइने व्यवस्था अनुसार सबैतिर केही सवारीहरू नियन्त्रणमा लिइएका छन् ।केहीलाई सम्झाई बुझाई गरिएको छ र केहीलाई बेलुका ५ बजेपछि छोड्ने काम भयो ।’ 

भोलिदेखि हुने छ मतगणना, मतपेटिका संकलनको काम सुरु

मतगणना भने कर्णालीका अधिकांश क्षेत्रमा भोलि बिहानबाट मात्रै सुरु हुने छ । प्रदेश प्रहरी प्रवक्ता शाहका अनुसार, हुम्ला र डोल्पाका केही मतदान स्थलहरूबाट हेलिकप्टोरबाट ल्याउनुपर्ने अवस्था छ ।
त्यसो हुँदा भोलि बिहान मात्रै मत पेटिकाहरू ल्याउने काम हुन्छ । 

हिमाली जिल्लामा निर्वाचनका हरेक गतिविधिमा यो पटक नेपाली सेनाको हेलि प्रयोग भएको छ । केही जिल्लाहरूमा मत पेटिका कलेक्सन भएर रातिदेखि नै मतगणना हुनसक्ने भनिए पनि त्यो सम्भव छैन । प्रायः ग्रामिण भूभाग र भौगोलिक विकटताको कारण एउटा क्षेत्रको मतपेटिका ल्याएर सदरमुकाम अथवा मतगणना क्षेत्रमा आउन घण्टौँ लाग्छ । 

मत गणना गर्नुपूर्व पनि सर्वदलीय बैठक बस्नुपर्ने लगायतका कारण बिहानबाटै मात्रै गणनाको काम सुरु हुने निर्वाचन अधिकारीहरूले बताएका छन् । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा मतपेटिकाहरू सुरक्षित राख्ने र संकलन गर्ने काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप