बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दुई तिहाइको सरकारसँग संवाद गर्न निजी क्षेत्र एक ढिक्का हुन आवश्यक : अध्यक्ष ढकाल

सोमबार, ०९ चैत २०८२, १९ : ५२
सोमबार, ०९ चैत २०८२

सारांश

  • चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारसँगको माग स्थापित गर्न एक ढिक्का हुन आग्रह गरे।
  • उनले निर्वाचनले विभाजन ल्याउन सक्ने भन्दै सर्वसम्मत नेतृत्व चयन गर्न जोड दिए।
  • ढकालले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विधेयक रोक्न सफल भएको बताए।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बन्न लागेको दुई तिहाइको शक्तिशाली सरकारसँग आफ्ना माग र एजेन्डा स्थापित गर्न निजी क्षेत्र एक ढिक्का हुन आवश्यक रहेको बताएका छन् ।

महासङ्घको आसन्न ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहद्वारा आयोजित पदाधिकारी तथा कार्यकारिणी सदस्यको उम्मेदवारी घोषणा कार्यक्रमलाई बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । 

उनले महासङ्घको चुनावभन्दा सर्वसम्मतिका आधारमा नेतृत्व चयन गर्नु पर्नेमा जोड दिए । उनले पूर्वअध्यक्षहरूले पनि चुनावले महासङ्घलाई विभाजित गर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेको गरे ।

अध्यक्ष ढकालले भने, ‘देशमा अहिले झन्डै दुई तिहाइको सरकार बन्ने तरखरमा छ। यस्तो बेला निजी क्षेत्र एक ढिक्का भएन र फरक–फरक स्वरमा बोल्यो भने सरकारले हाम्रो आवाज सुन्नेछैन। महासङ्घको अस्तित्व र प्रभावकारिताका लागि हामी एक हुनुको विकल्प छैन।’

उनले निर्वाचनको परिणामले कतिपय अवस्थामा नमिठो विभाजन ल्याउने भन्दै इगो त्यागेर समझदारीमा आउन र सर्वसम्मत नेतृत्व चयन गर्न उम्मेदवारहरूलाई आग्रह गरे । आफ्नो तीन वर्षे कार्यकालको स्मरण गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विधेयकलाई रोक्न सफल भएको बताए ।

‘यदि निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याइएको भए, हामी काम गर्नुभन्दा पनि कागज र प्रक्रियामै अल्झिनुपर्ने अवस्था आउने थियो,‘ उनले भने, ‘यो समग्र निजी क्षेत्रको अस्तित्वको लडाइँ थियो, निरन्तरको संवाद र लबिइङपछि उक्त प्रावधान हटाउन हामी सफल भयौँ।’

त्यस्तै, महासङ्घकै पहलमा गठित उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझावका आधारमा व्यवसायीको टाउकोमा तरबार बनेर झुन्डिएको कालोबजारी ऐन जस्ता पुराना र बाधक करिब ३० वटा कानुनमा सुधार भएको र कतिपय संशोधनको प्रक्रियामा रहेको उनले दाबी गरे ।

स्वदेशी पुँजीबाटै ठुला आयोजना निर्माण गर्न सकिँदैन भन्ने नकारात्मक भाष्य चिर्न ७७ वटै जिल्लाका लगानीकर्तालाई समेटेर १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको ढकालले बताए । यस कम्पनीले ४० देखि ५० अर्ब बराबरका ठुला परियोजनाहरू सञ्चालन गर्ने क्षमता राख्ने र यसले निजी क्षेत्रमा नयाँ आत्मविश्वास जगाएको उनको भनाइ छ ।

यसैगरी महासङ्घको विधान संशोधनलाई आफ्नो कार्यकालको मुख्य उपलब्धिका रूपमा चर्चा गर्दै उनले यसबाट जिल्ला नगर उद्योग वाणिज्य सङ्घको भूमिका सुदृढ भएको बताए । 

अध्यक्ष ढकालले विगतका सहमतिहरूको इमानदारीपूर्वक पालना गर्नुपर्नेमा जोड दिए। सरकारसँग एउटै र बलियो आवाज लिएर लबिइङ गर्न सक्ने एकीकृत सन्देश दिने नेतृत्व चयन गर्न उनले सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप