बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागलुङमा संरक्षित छ भक्तपुरको हनुमान नाच

शनिबार, १४ चैत २०८२, ०४ : ४२
शनिबार, १४ चैत २०८२

बागलुङ । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बागलुङका नेवार समुदायमा अझै जीवितै छ । हनुमानको भेषमा सजिएका नेवारी युवाहरू हातमा लाठी समातेर विभिन्न १० सुर तथा तालमा नाचिरहेको दृश्यले धेरैलाई लोभ्याउँछ । यो दृश्यले भदौ यता निरन्तरता पाएको छ ।

हनुमानको अवतारमा एक हुल नेवारी समुदायका युवाहरू एक आपसमा लाठी ठोकेर पुच्छर घुमाउँदै नाँच्दा बागलुङ बजार गुन्जयमान हुन्छ । तीन सय वर्षभन्दा बढी पुरानो हनुमान नाच नेवारी समुदायको जीवन्त इतिहासको रूपमा बागलुङमा देख्न पाइन्छ ।

विसं २०७३ भदौमा देखाइएको हनुमान नाच नौ वर्षपछि पुन देखाउन थालिएको हो । चैते दसैँको अवसरमा कालिका मन्दिर परिसरमा देखाइएको हनुमान नाच धेरैको आकर्षणमा परेको थियो । विसं २०८२ भदौबाट सुरु गरिएको हनुमान नाच अहिलेसम्म नौ पटक मञ्चन भइसकेको हनुमान नाच संरक्षण समिति बागलुङका प्रधानकजी इश्वर मलेपतीले बताए ।

“माता सितालाई हरण गरिएको अवस्थाबाट उम्काएर ल्याउनका लागि गरिएको विधि, नाच, श्लोक प्रक्रियालाई हनुमान नाचमा देखाइन्छ, भक्तपुरमा लोप हुन थालेको नाच बागलुङमा हामीले जीवितै राखेका छौँ”, मलेपतीले भने, “व्यापारको सिलसिलामा भक्तपुरबाट आएका नेवार समुदायले यो संस्कृति आफूसँगै ल्याएका थिए ।”

हनुमान नाच किनाराटोल, राधाकृष्ण टोल, धौलागिरि चोक, आवारोड, गलकोट हुँदै कालिका मन्दिर सम्म देखाइएको छ । यस हनुमान नाचको विषयमा शोधपत्र तयार पार्ने बागलुङे चेली जमुना राजभण्डारीले सितालाई राणलाई हरण गरेपछि सितालाई हनुमानले फर्काउने सिलसिलालाई हनुमान नाचको ताल र सुरमा देखाइने बताउँछन् ।

तीन वर्ष, पाँच वर्ष, सात वर्षमा नाचिने हनुमान नाच यसपटक कोरोना महामारीलगायतका कारणले केही समय रोकिएको थियो । भक्तपुरका नेवार समुदाय विसं १७६८ मा व्यापार तथा व्यवसाय गर्नका लागि बागलुङ आएका थिए ।

यो नाचमा कम्तीमा १३ र बढीमा १५ जोडी युवाहरू हनुमानको भेषमा सजिन्छन् । पुस्तान्तरण नहुँदा हनुमान नाच संरक्षणमा चुनौती बढेको भन्दै यस वर्ष नेवार समुदायका युवा पुस्तालाई हनुमानको रूपमा अगाडी सारिएको हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताए ।

बागलुङ नगरपालिका ३ नारायणचोकको भिमसेन मन्दिरभित्र नास्योध्योलाई पूजा गरेर हनुमान पौवामा गएर हूनमानको पूजा गरेपछि विधिवत् रूपमा हनुमान नाच शुभारम्भ हुने र टोल पूजा सकिएपछि विधिवत् रूपमा हनुमान नाच अन्त्य गरिने परम्परा छ । उक्त नाच निकै खर्चिलो र नाच्नका लागि लामो समय लाग्ने भएकाले वर्षैपिच्छे देखाउन कठिन भएको नेवारी अगुवा बताउँछन् ।

हिन्दु धर्ममा अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोकेर पुच्छर हल्लाउदै हनुमानको भेषमा हिड्नु पर्दछ । हनुमान नाचमा विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप