बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै

बिहीबार, १९ चैत २०८२, १६ : ४४
बिहीबार, १९ चैत २०८२

बागलुङ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारमार्फत बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत उक्त आयोजना कार्यान्वयनमा आएका हुन् । प्रदेश सरकारले विनियोजन गरेको रु १५ करोड बढी लागतमा सिँचाइ आयोजनाको काम अगाडि बढाइएको हो ।

यस वर्षमा १४ वटा तटबन्धसहित ११३ आयोजना जिल्लामा रहेका छन् । तीमध्ये ६० वटा आयोजना उपभोक्ता समितिमार्फत काम भइरहेका छन् भने १६ वटा ठेक्कामार्फत काम भइरहेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिए । उनका अनुसार ११ वटा आयोजना ठेक्का लगाउने प्रक्रियामा र बाँकी आयोजना सम्झौताको प्रक्रियामा छन् ।

नेपालले भने, “यस वर्षका अधिकांश आयोजना कार्यान्वयनमा गइसकेका छन्, केही आयोजना सम्पन्न पनि भएका छन् । असार मसान्तभित्रै काम सक्नुपर्ने धेरैजसो आयोजनाको काम अहिले धमाधम भइरहेको छ ।”

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा कुल एक लाख ७८ हजार ४०० हेक्टर जमिन रहेकामा ४६ हजार १४८ हेक्टर जमिन खेतीयोग्य छ ।

हाल ३० हजार ५६४ हेक्टरमा खेती हुँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ । हालसम्म छ हजार ९१३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार ८१५ हेक्टर रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी नेपालले जानकारी दिए।

बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो छ । जिल्लाका धेरैजसो स्थानमा अझै पनि सिँचाइको प्रभावकारी सुविधा नहुँदा उत्पादन बढाउन नसकिएको अगुवा किसान प्रेमप्रसाद कँडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप