१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
सारांश
- नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा ‘जरा अभियान’ सुरु गरेको छ।
- पार्टीले क्रियाशील सदस्यता नवीकरण अनिवार्य गर्दै वैशाख मसान्तसम्म अद्यावधिक नगर्नेहरूको सदस्यता खारेज गर्ने कडा नीति लिएको छ।
- संगठनलाई प्रविधिमैत्री बनाउन डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गरिएको छ भने निर्वाचनको समीक्षा गर्ने योजना बनाइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारी औपचारिक रूपमा थालेको छ। पार्टीले पूर्वप्रकाशित कार्यतालिकाअनुसार चैत २१ गतेदेखि वडा तहसम्मै पुग्ने गरी सदस्यता वितरण तथा नवीकरण अभियान सुरु गरेको हो ।
यस अभियानलाई तीव्रता दिन र व्यवस्थित गर्न कांग्रेसले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले गाउँ तहसम्म पुग्ने यस अभियानलाई ‘जरा अभियान’ नामकरण गरेको छ।
केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले ‘जरा अभियान’ बारे विस्तृत जानकारी दिएका हुन्। उनका अनुसार यस अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक अवस्थाको अध्ययन, नागरिक स्तरमा निर्वाचनको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिसँग जोड्ने चार वटा मुख्य कामहरू हुनेछन्।
७७ वटै जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर सम्बन्धित जिल्लामा बसेर सदस्यता वितरण र नवीकरणलाई विधानबमोजिम व्यवस्थित गर्नेछन्। उनीहरूलाई पार्टी केन्द्रीय कार्यालयले आवश्यक निर्देशिका, कार्यविधि, फारम र तोकिएको जिम्मेवारी (टीओआर) दिएर जिल्ला पठाएको छ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरणमा यसपटक निकै कडा नीति लिएको छ। महामन्त्री पौडेलले वैशाख महिनाभित्र सदस्यता अद्यावधिक नगर्नेहरूको क्रियाशील सदस्यता स्वतः खारेज हुने स्पष्ट पारेका छन् । नवीकरण गर्दा सदस्यहरूले विगतमा जुन भूगोल वा वडाबाट सदस्यता लिएको हो, त्यही वडामा पुगेर अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने नियम बनाइएको छ । यो नियम सामान्य कार्यकर्तादेखि वडा सभापति हुँदै केन्द्रीय सभापतिसम्मलाई समान रूपले लागु हुने पौडेलले बताए।
त्यसैगरी, कांग्रेसले पार्टीलाई प्रविधिमैत्री बनाउने भन्दै अबदेखि सबै सदस्यलाई ‘कांग्रेस आईडी’ प्रदान गर्ने भएको छ। सदस्यता नवीकरणको प्रक्रिया पूरा गरेपछि मात्र उक्त डिजिटल आईडी प्राप्त हुनेछ । यो आईडी नभएका व्यक्तिले १५औँ महाधिवेशनको कुनै पनि प्रक्रियामा भाग लिन पाउने छैनन्।
कसैलाई दिने र कसैलाई नदिने भन्ने विभेद नराखी प्रक्रियामा आउने सबैलाई यस्तो आइडी दिइनेछ। साथै, नयाँ क्रियाशील सदस्यहरूको हकमा पनि पूर्ण रूपमा डिजिटल माध्यमबाटै सदस्यता प्रदान गरिने व्यवस्था मिलाइएको छ।
जिल्ला पुगेका प्रतिनिधिहरूले पार्टीको मूल संगठन र भ्रातृ सङ्गठनहरूको यथार्थ अवस्था तथा केन्द्रले सम्बोधन गर्नुपर्ने विषयहरू समेटेर प्रतिवेदन बुझाउनेछन्। यसका अतिरिक्त, कांग्रेसले विगतको निर्वाचनमा भोगेको पराजय र पार्टीको आगामी बाटोबारे नागरिकस्तरमै पुगेर अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
केन्द्रीय स्तरमा पार्टी सभापतिको नेतृत्वमा बुद्धिजीवी, पेसाकर्मी र नागरिक अगुवाहरूसँग ‘कांग्रेसले चुनाव किन हार्यो र अब कसरी पुनर्जीवित हुने’ भन्ने विषयमा बृहत् छलफल हुनेछ। यही ढाँचामा जिल्ला खटिएका प्रतिनिधिहरूले पनि स्थानीय स्तरका युवा, बुद्धिजीवी र समाजका विभिन्न तप्कासँग निर्वाचनको निर्मम समीक्षा गर्नेछन्।
पार्टीको संगठनलाई थप चलायमान र जनमुखी बनाउन कांग्रेसले अब सामाजिक गतिविधिमा जोड दिने नीतिसमेत अघि सारेको छ। स्थानीय तहको आवश्यकता र समस्यालाई पहिचान गरी पार्टी पङ्क्तिलाई सामाजिक काममा सक्रिय गराउन प्रतिनिधिहरूलाई विशेष जिम्मेवारी दिइएको छ। राजनीतिक एजेन्डाका साथसाथै सामाजिक उत्तरदायित्वका काममा पार्टीलाई जोडेर संगठनमा नयाँ ऊर्जा थप्ने कांग्रेसको योजना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण