आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

बङ्गलादेश क्रिकेट बोर्डको अध्यक्ष बने तमिम इकबाल

मङ्गलबार, २४ चैत २०८२, २० : ०८
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • बङ्गलादेश सरकारले बङ्गलादेश क्रिकेट बोर्डको कार्यसमिति भङ्ग गर्दै पूर्व कप्तान तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ।
  • अघिल्लो बोर्डको निर्वाचनमा अनियमितता पुष्टि भएपछि सरकारले तमिमको नेतृत्वमा ११ सदस्यीय एड-हक समिति गठन गरेको हो।
  • तमिम नेतृत्वको यो समितिले आगामी तीन महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्ने जिम्मेवारी पाएको छ।

काठमाडाैँ । बङ्गलादेश सरकारले विवादास्पद बनेको बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को कार्यसमिति भङ्ग गर्दै पूर्व कप्तान तमिम इकबाललाई नयाँ अध्यक्ष नियुक्त गरेको छ। 

अघिल्लो वर्ष सम्पन्न निर्वाचनमा धाँधली र अनियमितता भएको पुष्टि भएपछि अमिनुल इस्लाम नेतृत्वको बोर्ड विघटन गरी सरकारले तमिमको नेतृत्वमा ११ सदस्यीय एड(हक समिति गठन गरेको हो।

३७ वर्षीय तमिम बीसीबीको इतिहासमै सबैभन्दा कम उमेरका अध्यक्ष बनेका छन्। उनले नेतृत्व गर्ने समितिमा पूर्व कप्तान मिन्हाजुल अबेदीन र चर्चित कमेन्टेटर अथर अली खान लगायतका सदस्यहरू रहेका छन्। खेलकुद मन्त्रालयले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले अघिल्लो निर्वाचन प्रक्रियामा गम्भीर त्रुटी र अनियमितता फेला पारेपछि राष्ट्रिय खेलकुद परिषद्ले बोर्ड भङ्ग गर्ने निर्णय लिएको हो।

अघिल्लो बोर्डका अध्यक्ष अमिनुल इस्लामले पद नछाड्ने अडान राखे तापनि सरकारले राष्ट्रिय खेलकुद परिषद् ऐन २०१८ को दफा २१ प्रयोग गर्दै उनलाई पदमुक्त गरेको छ। सरकारले यो परिवर्तनबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई समेत जानकारी गराइसकेको छ। 

तमिम नेतृत्वको यो समितिले आगामी तीन महिनाभित्र नयाँ निर्वाचन गराई निर्वाचित समितिलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ। बङ्गलादेशका लागि ३९१ अन्तर्राष्ट्रिय खेल खेलेका तमिमले सन् २०२५ को सुरुवातमै संन्यास लिएका थिए।

सोही वर्ष घरेलु लिग खेल्ने क्रममा हृदयघात भएपछि उनले खेल जीवनबाट पूर्ण विश्राम लिनुपरेको थियो। त्यसपछि क्रिकेट राजनीतिमा सक्रिय भएका उनले अघिल्लो निर्वाचनमा धाँधलीको आरोप लगाउँदै उम्मेदवारी फिर्ता लिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप