आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘सिंह फड्को मार्न दुई कदम पछाडि हटेको हो, कांग्रेस फेरि जुर्मुराउँछ'

बुधबार, ०९ वैशाख २०८३, १८ : ५७
बुधबार, ०९ वैशाख २०८३

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले कहिलेकाहीँ सिंहले पनि अगाडि फड्को मार्नका लागि दुई कदम पछाडि सार्ने भन्दै निर्वाचनको परिणामबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेस अहिलेको परिस्थितिमा केही पछाडि हटेको भए पनि यो शक्ति सञ्चय गरेर फेरि आउनका लागि भएको बताए । 

‘कहिलेकाहीँ सिंहले पनि अगाडि जानका लागि दुई चाल पछाडि सर्ने हो, हामी पनि फेरि संगठित हुन र बलियो भएर आउनका लागि पछाडि हटेका हौं,’ थापाले भने, ‘यो हारबाट खुम्चिने होइन, कमजोरी सुधारेर अघि बढ्ने अवसर हो ।’

निर्वाचनको परिणाम कांग्रेसका लागि सुखद नरहेको स्वीकार गर्दै सभापति थापाले अब हारको चिन्ता गरेर बस्ने भन्दा पनि हारको कारणबारे चिन्तन गर्नुपर्नेमा जोड दिए । ‘चिन्ताले हामीलाई गलाउँछ, थकाउँछ र नकारात्मक ऊर्जा दिन्छ । तर चिन्तनले समाधानको बाटो देखाउँछ । हामी किन हार्‍यौँ ? हाम्रा १० लाख मतदाता हामीबाट किन टाढिए ? यसको निर्मम समीक्षा जरुरी छ,’ उनले भने । 

सभापति थापाले पछिल्लो समय राजनीतिमा पुरानो भर्सेस नयाँ शक्तिबिचको द्वन्द्व सिर्जना गरिएको र त्यसमा कांग्रेस कतै न कतै चुकेको बताए । सत्ता गठबन्धनको राजनीतिका कारण कांग्रेसको आफ्नै पहिचान धमिलिएको उनको तर्क थियो । ‘हामी एमाले, माओवादीसँग यति धेरै मिसियौँ कि जनताले कांग्रेस कुन हो भनेर चिन्नै छोडे,’ उनले भने, ‘बङ्गलादेशमा १५ वर्ष सत्तामा रहेको दलले जस्तै हामीले पनि एन्टी–इन्कम्बेन्सीको सामना गर्नुपरेको छ ।’ 

पार्टीको परम्परागत संगठन संरचनाले मात्रै अबको निर्वाचन जित्न नसकिने थापाले दाबी गरे । ‘हिजो घरभित्रका अग्रजले भोट कहाँ हाल्ने भनेर सिकाउँथे, आज कक्षा ९ र १० मा पढ्ने छोराछोरीले हजुरआमालाई कुन चिन्हमा भोट हाल्ने भनेर प्रभाव पारिरहेका छन्,’ थापाले भने, ‘हामीले टिकटक र फेसबुकजस्ता नयाँ मिडियाको प्रभावलाई बुझ्न सकेनौँ । नयाँ मिडियाले भावना र उत्तेजना बेच्छ, हामीले हाम्रो काम र इतिहास बेच्न सकेनौँ ।’ 

पार्टीलाई आधुनिक बनाउन थापाले डिजिटल आइडेन्टिटीको प्रस्ताव अघि सारेका छन् । ८ लाख क्रियाशील सदस्य भएको पार्टीमा ८० हजारको पनि फोन नम्बर सही नहुनु दुःखद भएको बताउँदै उनले भने, ‘अब क्रियाशील सदस्य आफैँले डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउँदैछौँ । जसले फोन नम्बर र डिजिटल पहिचान दिन मान्दैन, ऊ कसरी क्रियाशील सदस्य हुन सक्छ ?’ 

जनतामा कांग्रेसप्रति पुरानो, भ्रष्ट र अक्षम भन्ने गलत छाप परेको भन्दै थापाले त्यसलाई चिर्न प्रदेश र स्थानीय सरकारमार्फत सुशासनको नमुना पेस गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको मुद्दामा कांग्रेसले कसैसँग सम्झौता नगर्ने र सुशासनमा निर्मम भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

१५औँ महाधिवेशनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो समीक्षा बैठक कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्दै थापाले भने, ‘हामीसँग बीपी र किसुनजीको लिगेसी छ, अनुभवी नेताहरूको विज्डम र युवाहरूको ऊर्जा छ । यी सबैलाई मिलाएर कांग्रेसलाई फेरि मुलुकको पहिलो र भरपर्दो शक्ति बनाउँछौँ ।’

सभापति थापाले कोशी प्रदेशका कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको घरदैलोमा जान र हराएका मतदाताको मन जित्न निर्देशनसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप