बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रोहिंग्या शरणार्थीको पलायन ९० प्रतिशतले बढ्यो : सेभ द चिल्ड्रेन

बिहीबार, १० वैशाख २०८३, २० : १०
बिहीबार, १० वैशाख २०८३

काठमाडाैँ । बङ्गलादेश र म्यानमारबाट डुङ्गाबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको सङ्ख्या गत वर्षको तुलनामा ९० प्रतिशतले बढेको सेभ द चिल्ड्रेनले संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई उद्धृत गर्दै बिहीबार जनाएको छ।

युद्धग्रस्त म्यानमारमा उत्पीडनबाट बच्न धेरै रोहिंग्याहरू राम्रो जीवनको खोजीमा हरेक वर्ष भीडभाड र जीर्ण डुङ्गाहरूमा खतरनाक समुद्री यात्रा गर्छन्। बङ्गलादेशमा निर्वाचित शरणार्थी परिषद् युनाइटेड काउन्सिल रोहिंग्या (यूसीआर) का सदस्य खिन माउङले यो तथ्याङ्क निकै चिन्ताजनक भएको बताए।

उनले भने, “त्यहाँ यात्राको जोखिमको बारेमा जागरूकता कार्यक्रमहरू सञ्चालन गरिएको थियो तर सहभागी मानिसहरू निराश देखिन्न्थे । जोखिम मोलेर यात्रा गर्नु उनीहरूको रहर नभइ विवशता थियो।

उनले एएफपीसँग भने, “हाम्रा बालबालिकालेस्वदेश फिर्तीको कुनै स्पष्ट सम्भावना र भविष्य नदेखेपछि औपचारिक शिक्षाको अभाव भएका उनीहरू आफ्नो ज्यान जोखिममा राख्ने गरेका छन् ।”

सन् २०१७ मा भएको क्रुर सैन्य दमनको क्रममा म्यानमारबाट भागेका १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरू बङ्गलादेशको कोक्स बजारमा विशाल शरणार्थी शिविरमा बसिरहेका छन्।

सेभ द चिल्ड्रेनका अधिकारी गुलाम मुस्तफाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बालबालिका र उनीहरूका परिवारले बढ्दो असुरक्षा र सहयोगको अपर्याप्तताको सामना गरिरहेका छन् ।”

उहाँले भन्नुभयो, “धेरै परिवारले उनीहरूसँग आफ्नो जीवन जोखिममा पार्नु र डुङ्गा यात्रा गर्दै छोड्नुको विकल्प छैन तर उनीहरूको यात्रा खतराले भरिएको छ।”

संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय (यूएनएचसीआर)का अनुसार गत वर्ष समुद्री मार्गबाट भाग्ने रोहिंग्या शरणार्थीहरूको लागि रेकर्ड सबैभन्दा घातक थियो, सन् २०२६ मा मृत्यु निरन्तर बढ्दै गएको छ।”

सन् २०२५ मा अन्डमान सागर र बङ्गालको खाडीमा करिब ९०० रोहिंग्या शरणार्थी हराएका वा मारिएका थिए।

इन्डोनेसियातर्फ जाँदै गर्दा अन्डमान सागरमा डुङ्गा पल्टिँदा यसै महिना २५० भन्दा बढी रोहिंग्या शरणार्थी र बङ्गलादेशी आप्रवासी बेपत्ता भएका छन्।

यूएनएचसीआरको तथ्याङ्कले यस वर्ष मार्च ३१ सम्म म्यानमार र बङ्गलादेशबाट दुई हजार ९०७ जना समुद्री मार्गबाट बाहिर अन्य मुलुक निस्केका थिए, जबकि सन् २०२५ को सोही अवधिमा यो सङ्ख्या एक हजार ५१७ थियो ।

नगदको अभावमा रहेको संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमले यसै महिना बङ्गलादेशमा रहेको १२ लाख रोहिंग्या समूहको ठूलो हिस्साको सहायता कटौती गरेको छ।

सेभ द चिल्ड्रेनले राशन कटौतीका कारण कम्तीमा पाँच लाख रोहिंग्या शरणार्थी बालबालिका प्रभावित भएको बताएको छ।

“यसले ‘परिवारहरूलाई थप तनाव दिइरहेको छ, शिविरहरू भित्र खाद्य सुरक्षा कम भएको छ र थप शरणार्थीहरूलाई खतरनाक समुद्री यात्राको प्रयास गर्न बाध्य पारिएको छ’,” एजेन्सीले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप