पञ्चायतकालदेखि गणतन्त्रकालसम्म पनि ठगीमा परेका रोहितराम
सारांश
- मोरङको कानेपोखरीमा ६२ वर्षीय रोहितराम फुयाँलले पञ्चायतकालदेखि आफ्नो १४ कट्ठा जग्गा राज्य संयन्त्रबाट हडपिएको आरोप लगाएका छन् ।
- तत्कालीन पञ्चायतका प्रधानपञ्च र वडा अध्यक्षले हाटबजार र जागिरको प्रलोभन देखाएर जग्गा लिएको र पछि सोही जग्गा १४ जनालाई बिक्री गरिएको फुयाँलको दाबी छ ।
- फुयाँल हाल मिर्गौला रोगले थलिएका छन् र आफ्नो पैतृक सम्पत्ति फिर्ता पाउने आसमा छन्, तर स्थानीय सरकारलाई यस विषयमा निर्णय लिन चुनौती भएको छ ।
विराटनगर । केही दिन यता देशैभरि अतिक्रमित जग्गा खाली गराउने लहर छ । यससँगै सुकुमबासी र भूमिहीनहरूको आन्दोलन पनि चलिरहेको छ ।
वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले थालेको अभियानको राप देशका विभिन्न कुनाकाप्चामा पुगेको छ । सरकारी जग्गा हडपेर बसेकाहरूलाई हटाउन स्थानीय सरकारहरू जुर्मुराइरहेका बेला मोरङको कानेपोखरी–६ मा भने एउटा यस्तो घटना सतहमा आएको छ, जहाँ राज्यका संयन्त्रहरू आफैँले एउटा सोझो नागरिकको जग्गा हडपेर अरूलाई नै बेचिदिएका छन् ।
मालपोत दस्तुर उनी आफैँले तिर्छन्, तर भोगचलन कानेपोखरी गाउँपालिका र केही व्यक्तिहरूले नै गर्छन् ।

कानेपोखरी गाउँपालिका वडा नं. ६ (साबिक बयरवन–८) का ६२ वर्षीय रोहितराम फुयाँल अहिले अस्पताल धाइरहेका छन् । आफ्नो दुवै मिर्गौला फेल भएर विगत चार वर्षदेखि उनी हप्ताको दुई पटक नियमित डाइलासिस गराइरहेका छन् । आफ्नो पैतृक सम्पत्ति फिर्ता पाउने आसमा छन् उनी ।
कथाको सुरुवात २०३९ साल असोज १५ गतेदेखि सुरु भएको हो । रोहितरामका बुबा स्व. नरपति फुयाँलको नाममा साबिक बयरवन वडा नं. ८ (हाल कानेपोखरी–६) मा कित्ता नं. ६८१ को १४ कट्ठा ३ धुर जग्गा थियो । सोही समयमा तत्कालीन गाउँ पञ्चायतका प्रधानपञ्च डीएन राई र वडा अध्यक्ष प्रेम प्रकाश पराजुलीले एउटा जाल बुने ।
_aCFa5fq13b.jpg)
उनीहरूले सोझो स्वभावका नरपतिलाई भने, ‘यो जग्गामा हाटबजार लगाउनु पर्ने भयो । तिमी यो जग्गा पञ्चायतलाई छोडिदेऊ, त्यसको सट्टामा अन्त कतै २ बिघा ऐलानी जग्गा मिलाइदिउँला र तिमीलाई जनसेवा माध्यमिक विद्यालयमा कार्यालय सहयोगी (पिउन) को जागिर पनि खुवाइदिउँला ।’
जागिरको लोभ र पञ्चायतका शक्तिशाली मान्छेहरूको दबाबमा परेर नरपतिले एउटा काँचो कागजमा सहीछाप गरिदिए । जग्गा सट्टापट्टा भयो । उनले जागिर पनि पाए, तर २ बिघा जग्गा दिने भनिएकोमा त्यसको न कुनै कानुनी आधार थियो, न त उनले कहिल्यै लालपुर्जा नै पाए । पञ्चायतले उनको नम्बरी जग्गा हडप्यो, तर उनलाई ऐलानीको भ्रममा मात्र राख्यो ।
_F5mq2Z9KpZ.jpg)
त्यतिबेला पञ्चायतले हडपेको त्यो १४ कट्ठा जग्गामा अहिले रमाइलो हाटबजार लाग्छ । विडम्बना त के छ भने उक्त जग्गा अहिलेसम्म पनि कानुनी रूपमा रोहितराम फुयाँलकै नाममा छ ।
त्यो जग्गा तत्कालीन गाउँ पञ्चायत र छेउकै जनसेवा माध्यमिक विद्यालयले मिलेर १४ जनालाई किर्ते कागज बनाएर बेचिदिएका छन् ।
‘हजुरबुबालाई झुक्याएर जग्गा लिइयो । पछि विद्यालयले आफ्नो लेटरहेडमा हामीले यो जग्गा फलानोलाई बेच्यौँ भनेर लेखेर दिएको आधारमा अहिले त्यहाँ ठुला–ठुला घर र पसल बनेका छन् । नम्बरी जग्गालाई विद्यालयले कसरी बेच्न सक्छ ? यो सरासर राज्यले गरेको ठगी हो,’ रोहितरामका छोरा सेन्जाम फुयाँलले भने ।

पालिकाले आफ्नो बुबाको नामको जग्गाबाट कर उठाएर खाइरहेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो जग्गामा पालिकाले बजेट दिएर टहरा पनि बनाएको छ ।’
अहिले त्यहाँ चन्द्रकला पौडेल, रत्नबहादुर पौडेल, लक्ष्मण श्रेष्ठ, कृष्णकुमारी कार्की लगायत १४ जनाले घर–टहरा बनाएर बसोबास गरिरहेका छन् । उनीहरू विद्यालय वा गाउँ पञ्चायतसँग आफूले जग्गा किनेको दाबी गर्छन्, तर कसैसँग पनि वैधानिक लालपुर्जा छैन ।
_20lTJVuH77.jpg)
‘हाम्रो बुबाले ऐलानी भनेर जग्गा किन्नु भएको रहेछ । हामीले पालिकासँगै किनेको हुनुपर्छ । मलाई धेरै थाहा छैन,’ उक्त जग्गामा बसोबास गरिरहेकी चन्द्रकला पौडेलका छोराले भने ।
रोहितरामसँग अहिले पनि उक्त जग्गाको सक्कल रातो लालपुर्जा छ । उनले हालसम्म पनि सरकारलाई तिरो (जग्गा कर) तिरिरहेका छन् । वि.सं. २०८१ मंसिरसम्मको कर तिरेको रसिद उनीसँग सुरक्षित छ । कानुनी रूपमा उनी जग्गाको मालिक हुन्, तर भौतिक रूपमा उनी आफ्नो जग्गाको गेटमा पनि टेक्न पाउँदैनन् ।
_I1bN3Kv63a.jpg)
‘सरकारले मेरो जग्गामा अरूलाई राखेर मसँगै ट्याक्स लिइरहेको छ । यो कस्तो न्याय हो ?,’ डाइलासिस गराइरहेका रोहितरामले भने । उनले आफ्नो जग्गा खाली गराइपाऊँ भन्दै कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव समक्ष निवेदन दिएका छन् ।
रोहितरामको स्वास्थ्य अवस्था कमजोर छ । ६२ वर्षको उमेर, त्यसमाथि दुवै मिर्गौलाले काम गर्न छोडेको अवस्थामा उनी विराटनगरको अस्पतालमा डाइलासिस गराइरहेका छन् ।
_FL8krh1nPq.jpg)
उनका छोरा सेन्जाम थप्छन्, ‘बुबा आफैँ बिरामी हुनुहुन्छ । उहाँले आफ्नो जग्गा फिर्ता पाउने आशा गर्नुभएको छ । हामीले स्थानीय जनप्रतिनिधिदेखि प्रशासनसम्म सबैलाई गुहार्यौँ, तर सबैले पञ्चायतकालको कुरा हो भनेर पन्छाउन खोज्छन् ।’
अहिले देशभर बालेन शाहको चर्चा रहेको जिकिर गर्दै उनले आफूहरूलाई सरकारले यो ऐतिहासिक अन्यायलाई सच्याउने आशा रहेको बताए ।
_TvoGyNKhEs.jpg)
कानेपोखरी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले रोहितरामको निवेदन प्राप्त भएको स्वीकार गरेकी छन् । उनले जग्गाको कागजात अध्ययन गर्दा कानुनी रूपमा जग्गा फुयाँलकै नाममा देखिएको बताइन् ।
तर, दशकौँदेखि बसोबास गरिरहेका १४ परिवारलाई हटाउनु गाउँपालिकाका लागि चुनौतीपूर्ण बनेको छ ।
यद्यपि, कानुनभन्दा माथि कोही हुँदैन । यदि कसैले कसैको निजी सम्पत्ति किर्ते कागजातका आधारमा भोगचलन गरिरहेको छ भने त्यसलाई खाली गराउनु स्थानीय सरकारको संवैधानिक दायित्व हो । रोहितराम फुयाँल अहिले पनि आफ्नो जग्गा फिर्ता हुने आसमै छन् ।
_ch4hMDSVCa.jpg)
_9zvZjfbIYX.jpg)
_tjrauCKB0D.jpg)
_sLiRY3xKym.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण