पूर्णबहादुर र शेखरलाई फकाउन सभापति गगनका दुई प्रस्ताव
सारांश
- नेपाली कांग्रेसभित्रको विवाद साम्य पार्न सभापति गगन थापाले शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला समूहसमक्ष दुई प्रस्ताव राखेका छन्।
- प्रस्तावमा विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा देउवा समूहबाट २० र शेखर समूहबाट १० जना मनोनीत गर्ने तथा निर्वाचन र सदस्यता व्यवस्थापन समितिमा दुवै समूहबाट सदस्य थप गर्ने उल्लेख छ।
- देउवा र शेखर समूहले भने १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई समेट्नुपर्ने र सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद साम्य पार्ने प्रयास सुरु गरेका छन्। उनले विशेष महाधिवेशनप्रति असन्तुष्ट शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहसमक्ष सहमतिको खाकासमेत प्रस्ताव गरेका छन्।
देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेर सभापति थापाले सहमतिको खाका प्रस्ताव गरेका हुन्।
गत पुसको अन्तिम साता भएको विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र देखिएको विवाद अझै साम्य भएको छैन।
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र तत्कालीन सभापतिको अनुमतिबिना तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसको विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो।
विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापा नेतृत्वको कार्यसमितिलाई नै सर्वोच्च अदालतले मान्यता दिए पनि पार्टीभित्र विवाद भने बाँकी नै छ।
सभापति थापाले पार्टीभित्रको विवाद साम्य पार्न विशेष महाधिवेशनप्रति असन्तुष्ट शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूहसमक्ष सहमतिको प्रस्ताव राखेका हुन्।

सभापति थापाले खड्कालाई वैशाख ६ गते साँझ एक्लै र उपसभापति विश्वप्रकाश शर्मासहित वैशाख २३ गते गोल्फुटारस्थित खड्का निवासमै पुगेर भेटेका थिए।
त्यस्तै, डा. शेखर कोइरालालाई वैशाख २२ गते विशालनगरस्थित कोइरालाकै सचिवालयमा पुगेर भेटेका थिए।
देउवा र शेखर समूहले गगनको यो प्रस्तावलाई अस्वीकार गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई समेट्नुपर्ने र सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका छन्।
देउवा र शेखर समूहका नेताहरूले बताएअनुसार, सभापति थापाले दुई नेतासमक्ष मुख्यगरी दुईवटा प्रस्ताव राखेका छन्। पहिलो प्रस्तावअन्तर्गत, विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा देउवा समूहबाट २० जना र शेखर समूहबाट १० जना मनोनीत गर्ने कुरा छ।
दोस्रो प्रस्तावमा, गठन भइसकेको निर्वाचन समिति र क्रियाशील सदस्यता व्यवस्थापन समितिमा देउवा र शेखर दुवै समूहबाट १–१ जना सदस्य थप गर्ने भनिएको छ। अहिले ३ सदस्यीय रहेका ती दुवै समितिलाई ५–५ सदस्यीय बनाउने र निर्णयहरू सहमतिका आधारमा गर्ने कार्यादेश दिने सभापति थापाको प्रस्ताव छ।
विशेष महाधिवेशनपछि बसेको केन्द्रीय समितिको बैठकले नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका पार्टी केन्द्रीय सदस्य प्रेमबहादुर खड्काको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति बनाएको छ, जसका सदस्यहरू हालसम्म मनोनीत भइसकेका छैनन्। त्यस्तै, महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ, जसमा सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही रसाइली सदस्य छन्।
_sdEPKh6nhW.jpg)
खड्कालाई उद्धृत गर्दै एक नेताले भने, ‘सभापतिज्यूबाट केन्द्रीय समितिमा हाम्रो समूहबाट २० र शेखरजीको समूहबाट १० जना राख्ने तथा सदस्यता व्यवस्थापन समिति र निर्वाचन समितिमा १–१ जना राखेर सहमतिमा निर्णय गर्ने प्रस्ताव आएको छ। तर, मैले उक्त प्रस्तावमा सहमति जनाउन सक्ने अवस्था छैन भनेको छु।’
ती नेताका अनुसार, खड्काले १५औँ महाधिवेशन सम्पन्न गर्ने समिति निर्माणमा १४औँ महाधिवेशनबाट निर्वाचित सबै सदस्यलाई सामेल गरेर अघि बढ्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा सभापति थापाले थप सल्लाह गर्नुपर्ने बताएर निस्किएको र त्यसपछि कुनै जानकारी नआएको ती नेताले बताए।
शेखर समूहका एक नेताले पनि उक्त प्रस्ताव आएको स्वीकार गर्दै त्यसलाई मान्न सक्ने अवस्था नदेखिएको बताएका छन्।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ। त्यसमा ३० जना थपेर १६४ सदस्यीय बनाउने सभापति थापाको योजना छ। तर, उनको यो प्रस्तावलाई विशेष महाधिवेशनको विपक्षमा रहेका दुवै समूहले स्वीकार गरेका छैनन्। उनीहरूले सम्मानजनक सहभागिता हुनुपर्ने अडान राखेका छन्।
केही दिनअघि महामन्त्री प्रदीप पौडेलले रातोपाटीसँगको कुराकानीमा महाधिवेशनकेन्द्रित संरचनामा संयुक्त संयन्त्र बनाएर जान सकिने बताएका थिए।
‘केन्द्रीय समितिमा खाली रहेका जिम्मेवारीहरूमा समेट्ने र अधिवेशनकेन्द्रित उपसमितिहरूमा पनि सबैलाई सहभागी गराउने अभ्यास विगतदेखि नै हुँदै आएको छ,’ पौडेलले भनेका थिए, ‘पार्टीमा फरक मत, गुट र विचार समूहहरू हुन्छन्। सबैलाई समेटेर लिएर जाने अभ्यास निवर्तमान र त्यसअघिका सभापतिज्यूहरूले जसरी गर्नुहुन्थ्यो, अहिले पनि त्यही गर्न खोजिएको हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु
-
राष्ट्रिय सुरक्षाको चिन्ताबिच अमेरिकी साइबर निकायहरूलाई एआई मोडेल ‘मिथोस–५’ प्रयोगको अनुमति
-
पाँच वर्षमा सरकारी सहुलियत लिने क्यान्सरका बिरामी २८ हजार नाघे
-
झापामा चैते धानको खेती र उत्पादन खस्कियो
-
सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह
-
ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण