शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
चक्रपथ दोस्रो खण्ड विस्तार

सम्झौता भएको दुई महिनासम्म टेन्डर प्रक्रिया नै भएन सुरु

‘अनुदानको आयोजनामा दबाब दिन मिल्दैन, चक्रपथ विस्तार सुरु हुन बर्खा सकिनुपर्छ’
शनिबार, १३ असार २०८३, १९ : ०२
शनिबार, १३ असार २०८३

सारांश

  • काठमाडौँ चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को निर्माण प्रक्रिया सम्झौता भएको दुई महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन ।
  • चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदानमा ८.२ किलोमिटर सडक र पुल निर्माण गर्नेछ, तर ठेकेदार छनोट प्रक्रियामा ढिलाइ भएको छ ।
  • सम्भावित ढिलाइको कारण कोभिड-१९, प्रशासनिक झमेला र राजनीतिक अस्थिरता मानिएको छ, र भौतिक निर्माण आगामी आर्थिक वर्षको वर्षायामपछि मात्र सुरु हुने अपेक्षा छ ।

काठमाडौँ । लामो समय अन्योलमा रहेको काठमाडौँ चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–बसुन्धरा) को निर्माण प्रक्रिया अझै भौतिक रूपमा सुरु हुन सकेको छैन । 

गत वैशाख १६ गते नेपाल सरकार र चिनियाँ पक्षबिच यस खण्ड विस्तारका लागि औपचारिक सम्झौता भएको दुई महिना बितिसक्दा पनि सडक विस्तार कार्य अघि बढ्न सकेको छैन । पूर्वाधार विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबिच २०८३ वैशाख १६ गते अनुदान सहायतासम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौताअनुसार कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माणका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ । तर, सम्झौता भएर प्रारम्भिक डिजाइनसमेत स्वीकृत भइसके पनि विस्तारको भने बर्खायामपछि मात्रै हुने भएको छ । 

चीनकै प्रक्रियागत कारण ढिलाइ, दबाब दिन मिल्दैन ? 

चक्रपथ स्तरोन्नतिको काममा चिनियाँ पक्षलाई सहज बनाउने उद्देश्यले सरकारले २०६९ पुस १८ गते नै बबरमहलमा योजना कार्यालय स्थापना गरेको थियो । सोही योजनाअन्तर्गत चीनले २०६९ सालमा सुरु गरेको कोटेश्वर–कलंकी (१०.३९ किमि) प्रथम खण्ड करिब ५ अर्ब रुपैयाँ अनुदानमा आठ लेनमा विस्तार गरी सन् २०१९ जनवरी ८ (२०७५ साल) मा नेपाललाई हस्तान्तरण गरेको थियो । 

पहिलो चरण सकिएलगत्तै दोस्रो चरण सुरु गर्ने भनिए पनि झन्डै ७ वर्षपछि मात्र कलंकी–बसुन्धरा खण्डको प्रक्रिया अघि बढेको हो । यस खण्डका लागि नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सडक सीमा (राइट अफ वे) खाली गर्ने, विद्युत्, खानेपानी र टेलिफोनका पोल तथा तार सार्ने र रुख कटान गर्ने काम पूर्ण रूपमा सम्पन्न गरिसकेको छ । 

त्यस्तै, नेपाल सरकारकै बजेटमा कलंकीदेखि स्वयम्भूसम्म दुवैतर्फको सर्भिस ट्रयाक निर्माण भइसकेको छ भने स्वयम्भूबाट बसुन्धरासम्म ४ वटा प्याकेजमा सर्भिस ट्रयाक निर्माण सकिसकेको छ । नेपालले साइट क्लियरेन्स र सर्भिस ट्रयाकको काम सके पनि मुख्य सडक चीन सरकारको अनुदानमा बन्ने भएकाले लेटर अफ एक्सचेन्जमा सहमति भएबमोजिम चिनियाँ पक्षकै ठेक्का प्रणालीमा भर पर्नुपर्ने अवस्था छ ।

सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालका अनुसार सम्झौतासँगै प्राविधिक कामहरू अगाडि बढेका छन् । चिनियाँ कम्पनीले प्रारम्भिक डिजाइन तयार पारी सडक विभागबाट स्वीकृत गराइसकेको छ ।

‘हामी र डिजाइन कम्पनीबिच प्रारम्भिक डिजाइनमा हस्ताक्षर भइसकेको छ । अब विस्तृत सर्भे र डिजाइन कम्पनीले आफ्नो देशको मन्त्रालयमा पेस गर्नेछ,’ उपमहानिर्देशक अर्यालले भने, ‘उनीहरूको आफ्नै प्रणालीअनुसार त्यसलाई स्वीकृत गरेर मात्र ठेक्का बन्दोबस्तको चरणमा प्रवेश गर्छ ।’

पूर्ण रूपमा चिनियाँ अनुदानमा निर्माण हुन लागेकाले ठेकेदार छनोटको सम्पूर्ण जिम्मेवारी चिनियाँ पक्षकै हुन्छ । अर्याल भन्छन्, ‘ऋणको पैसा भएको भए अलिअलि कराउन वा दबाब दिन पनि मिल्थ्यो, तर अनुदानको पैसा र दुई देशबीचको कुरा भएकाले उसैले ठेक्का गर्ने हो । हामीले धेरै ढिलो भयो, बर्खापछि काम सुरु गरिदिनु भनेर अनुरोध मात्र गरेका छौँ ।’

ringroad-second1

किन भयो ७ वर्ष ढिला ?

सन् २०१९ मै पहिलो खण्ड सकिए पनि दोस्रो खण्ड सुरु हुन ७ वर्ष लाग्नुमा मुख्यतया कोभिड–१९, प्रशासनिक झमेला र राजनीतिक अस्थिरतालाई कारण मानिएको छ । सडक विभागका अधिकारीका अनुसार चक्रपथ विस्तार ढिला हुनुमा कुनै विशेष राजनीतिक वा भूराजनीतिक कारण नभई नियमित प्रशासनिक प्रक्रिया र नेपालकै आन्तरिक कारणहरू जिम्मेवार छन् । 

यद्यपि, नेपालको राजनीतिक अस्थिरताले पनि केही असर पुर्‍याएको छ । कर छुटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाउँदा सरकार परिवर्तन हुने वा संसद् विघटन हुने जस्ता कारणले फाइलहरू निष्क्रिय हुने र पुनः पेस गर्नुपर्ने अवस्था आएको थियो । अन्ततः २०८२ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले निर्माण सामग्रीमा भन्सार र कर छुट दिने निर्णय गरेपछि मात्रै चिनियाँ पक्षसँग सम्झौताको बाटो खुलेको थियो । 

ओभरपासदेखि अपांगमैत्री पुलसम्म बन्दैछन् 

कलंकी–बसुन्धरा ८.२ किलोमिटर खण्डको डिजाइन चिनियाँ सरकारी कम्पनी ‘सीसीसीसी फस्र्ट हाइवे कन्सल्टेन्ट्स’ र ‘सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेड’ ले गरेका हुन् । यो सडक चीनको सहरी सडक मापदण्डअनुसार अत्याधुनिक आठ लेनमा विस्तार गर्ने गरी डिजाइन गरिएको छ । 

कुल ३८.५ मिटर चौडाइ रहने सडकको संरचना निकै आकर्षक हुनेछ । दुवै छेउमा २.७५ मिटरको फुटपाथ, बीचमा दुईतर्फी चार लेनको मुख्य सडक र सडकको बीच भागमा बोटबिरुवा रोप्न तथा बिजुली र इन्टरनेटका तार व्यवस्थापन गर्न ३ मिटरको मेडियन’ (ग्रीन बेल्ट) निर्माण गरिनेछ ।  

यस खण्डमा दुईवटा मुख्य पुल निर्माण हुनेछन; जसमा कलंकी–स्युचाटारमा १६ मिटर लम्बाइको र विष्णुमती नदीमाथि ६४ मिटर लम्बाइको पुल बन्नेछ । साथै, सडकभरि १३ वटा कल्भर्ट र यात्रुलाई बाटो काट्न सहज होस् भनेर ४ वटा अपांगमैत्री आकाशेपुल निर्माण गरिनेछन् । यी पुलहरू सीतापाइला–स्वयम्भू, ढुंगेधारा–बालाजु, बालाजु–माछापोखरी र सामाखुसी–बसुन्धरा चौकीको बिचमा बनाइनेछ ।

सबैभन्दा महत्त्वपूर्ण संरचनाको रूपमा माछापोखरीदेखि बसपार्कसम्म यातायात व्यवस्थापनलाई सहज बनाउन ५६० मिटर लम्बाइको ’ओभरपास’ निर्माण गरिनेछ । सवारीसाधन तथा यात्रुको गन्तव्य परिवर्तनका लागि सडकमा ११ वटा इन्टरसेक्सन (चोकहरू) र २२ वटा व्यवस्थित बस बिसौनी निर्माण गर्ने गरी डिजाइन तयार भएको छ । 

कहिलेदेखि सुरु हुन्छ काम ?

चक्रपथको पहिलो खण्ड सम्पन्न भएको लामो समयसम्म दोस्रो खण्ड नबन्दा कलंकीदेखि बसुन्धरासम्म ट्राफिक जाम र धुलोको चरम समस्या छ । वैशाखमा भएको सम्झौताले उपत्यकावासीमा सुविधायुक्त सडक पाउने आशा पलाए पनि भौतिक निर्माणका लागि अझै केही महिना कुर्नुपर्नेछ । 

उपमहानिर्देशक अर्यालका अनुसार अब असारभित्रै मेसिन लिएर काम सुरु हुने सम्भावना छैन । चिनियाँ पक्षले ठेकेदार छनोट प्रक्रिया सक्न समय लाग्ने भएकाले आगामी आर्थिक वर्षको वर्षायाम सकिएपछि (असोज महिना आसपासबाट) मात्र चक्रपथमा भौतिक रूपमा काम सुरु हुने जानकारी दिए । 

यसअघि चीनले चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी पहिलो खण्ड विस्तार गरेको थियो । २०६९ मा सुरु भएको उक्त खण्ड करिब ६ वर्ष अवधिमा २०७५ मा सडक विस्तार सम्पन्न गरेको थियो । करिब ५ अर्ब रहेको कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किलोमिटर ८ लेनमा विस्तार गरिएको छ । जसको विस्तारको लागत चीन सरकारले बेहेरोको थियो । यस सडक खण्डको विस्तार भएसँगै कलंकीमा जाम घटेको छ । त्यस्तै तेस्रो खण्ड महाराजगञ्ज–कोटेश्वरअन्तर्गत महाराजगञ्जदेखि कोटेश्वरसम्म सडक डिभिजन काठमाडौँले विस्तार गरिसकेको छ । बाँकी खण्डमा पनि विस्तार कार्य अघि बढाउने तयारी भइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप